शनिबार, वैशाख १५, २०८१

काठमाडौँ टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अष्ट्रेलियाबीच समझदारी

मेरोन्यूज २०८० साउन १९ गते १६:१०

काठमाडौँ । काठमाडौँ टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँ टेक्निकल स्कूलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा काठमाडौँ टेक्निकल स्कूलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यस समझदारीपछि काठमाडौँ टेक्निकल स्कूलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने छ ।

हस्ताक्षर कार्यक्रममा काठमाडौँ टेक्निकल स्कूलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिष्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौँ टेक्निकल स्कूलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली विद्यार्थीहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको बताए ।

हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौँ टेक्निकल स्कूलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया