शुक्रबार, वैशाख २१, २०८१

माओवादीका केन्द्रीय सदस्यहरू भन्छन् : पार्टीमा अराजकता बढ्दै गयो, नेतृत्व हस्तान्तरण हुनुपर्छ

मेरोन्यूज २०८० साउन १८ गते १७:१९

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले पार्टीमा अराजकता बढ्दै गएको भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् । बुधबारबाट जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । उनीहरूले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको बताएका छन् ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा रहेको बताए । शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले नेतृत्व तहदेखि सच्चिनुको विकल्प नभएको न्यौपानेको भनाइ थियो ।

न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी बनाउँछु भनेर अघि बढेमा कांग्रेस र एमालेभन्दा फरक नहुने बताए । विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलन जसरी माओवादीमा विचलन आउने उनको भनाइ रहेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय सदस्य हरिराज अधिकारीले ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’ भन्दै नेतृत्वलाई प्रश्न गरे । पार्टीबाट पोलिटब्युरो हटाउनुको कारण के हो भन्दै उनले नेतृत्वले जवाफ दिनुपर्ने बताए ।

केन्द्रीय सदस्य दिलीप प्रजापतीले पार्टीमा अराजकता हावी हुँदै गएको बताउँदै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको आरोप लगाए । पार्टीमा रहेका दोहोरो भूमिका हटाउन उनको माग थियो ।

सहरमा पार्टी बनाउन संगठनात्मक संरचना नै फरक बनाइनुपर्नेमा जोड दिँदै उनले समाजिक सञ्जालको प्रयोगमा पार्टी चुकिरहेको बताए । केन्द्रीय सदस्य तथा सांसद हितबहादुर तामाङले विगतलाई निर्मम ढंगले समीक्षा गर्दै पार्टीलाई अघि बढाइनुपर्ने बताउँदै पार्टी बनाउन कार्यकर्ताको मूल्यांकन हुनुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य माधव सापकोटाले यथास्थितिमा पार्टी निर्माण हुन नसक्ने भन्दै गति दिनेगरी कार्यक्रम बनाइनुपर्ने बताए । उनले सबै कमिटीमा निर्वाचन गरिनुपर्ने उल्लेख गरे । एकै व्यक्ति पटक पटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय सदस्य दिपेन्द्र पुनले पार्टीले जनसम्बन्ध गुमाएकोले सुधार गर्नु अत्यावश्यक रहेको धारणा राखे ।

केन्द्रीय सदस्य दिलीप शाहले जम्बो कमिटीले कार्यकर्तामा निराशा थपेको बताए ।

केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले नेतृत्वले परिवारबाहेक अरुलाई विश्वास गर्न नसकेको प्रश्न उठाए । उनले पार्टीका कतिपय नेताहरुमा कामचोर प्रवृत्ति हाबी भएको बताए ।

भीम बुढा मगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताउँदै सहिद परिवारको अवस्थाबारे पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।

बुधबार १८ जना केन्द्रीय सदस्यहरुले बोलिसकेका थिए। बिहीबार बोल्नका लागि १८५ जनाले नाम टिपाएका थिए।

बिहीबारको बैठकमा बोल्ने क्रममा नेताहरुले पार्टी नेताहरुको जीवनशैलीबो पनि प्रश्न उठाएका छन् ।

केन्द्रीय सदस्य गगन पुरीले शिक्षा र स्वास्थ्य संस्थागत भ्रष्टाचार बढेको भन्दै सरकारमा भएकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।

केन्द्रीय सदस्य लक्ष्मी पुनले अब जनतासँग भिज्न सक्नेलाई पार्टी नेतृत्व हस्तान्तरण गरिनुपर्ने बताइन् । ‘जसले जनता रुँदा रुन सक्छ, हाँस्न सक्छ, त्यस्ता नेतालाई अबको नेतृत्व हस्तान्तरण गर्नुपर्दछ’, पुनले बैठकमा भनिन्।

केन्द्रीय सदस्य जगत सिंखडाले माओवादीमा अराजकता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्ने बताए।

प्रतिक्रिया