शुक्रबार, वैशाख २१, २०८१

पुस्तक वार्ता

अहिलेका शासकमा चन्द्रशमशेर जत्तिको चेतना भेटिएन

नरेन्द्र रौले २०८० साउन ४ गते ८:५०

नेपाली खेलकुद पत्रकारितामा नवीन अर्याल चिनाइरहनु पर्ने नाम होइन । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय अर्यालले विभिन्न मिडियामा काम गरे । खेलकुदमा मात्र होइन इतिहासमा पनि उत्तिकै चाख राख्ने, कलम चलाउने उनको आफ्नै शैली छ ।

Advertisement

यायावरी शैलीका अर्याल कुनै संस्थामा बाँधिएर भन्दा स्वतन्त्रपूवर्क अध्ययन, अनुसन्धान गर्न रुचाउँछन् । गत असार २५ गते उनै अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भयो । प्राध्यापक तथा वरिष्ठ पत्रकार पी.खरेलले कार्यक्रममा बोल्दै भनेका थिए, ‘पुस्तक अब्बल छ ।’

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँग सहकार्य र क्रियटिभ बुक्सको प्रकाशनमा बजारमा आएको ‘नेपाली खेलकुदको वृत्तान्त’का लेखक अर्यालसँग मेरोन्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईंको पुस्तक बजारमा गएको केही हप्ता भइसक्यो । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

पाठकहरूबाट एकदम राम्रो प्रतिक्रिया पाइरहेको छु । विदेशमा बस्नेहरूले पुस्तक हामी कहिले पढ्न पाउछौँ भनेर सोधिरहनु भएको छ । राजधानीमा मात्र होइन बाहिरका जिल्लाहरूबाट पनि पाठकहरुले चासो लिइरहनुभएको छ । फोन, फेसबुक म्यासेन्जरमार्फत पुस्तकबारे चासो लिइरहनु भएको छ । कसरी अधिक पाठकहरूका हातमा पुर्‍याउने भनेर प्रकाशकले पनि मिहिनेत गर्नु भएको छ । खासगरी खेलकुद क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले पुस्तकबारे बढी चासो लिएको पाइयो । विभिन्न मिडियामा आएका पुस्तक अंश र प्रकाशित भएका समाचार पढेर पाठकहरूले चासो लिइरहनु भएको छ ।

यो पुस्तक कसरी लेखियो ? यसको पछाडिको कथा कस्तो रह्यो ?

किताब लेख्ने सोच कोभिड १९ आउनुभन्दा पहिले नै थियो । तर, बिचैमा लकडाउनका कारण भेटघाट बन्द भए । कतै लाइब्रेरी जान पाइएन । दुई वर्ष काम ठप्प /बन्द भयो । कोभिड महामारीको अन्त्य भइसकेपछि सहज वातावरण बन्यो । अध्ययन, अनुसन्धान गर्न, दस्तावेजहरु खोज्नतिर लागेँ । त्यसका लागि पूरै दुई वर्ष कस्सिएँ । कति तथ्यांकहरु नेपालमा भेटिएनन् । भारतका विभिन्न लाइब्रेरी पुगेर दस्तावेजहरु बटुलेँ ।

मैले खोजेको, चाहेको भन्दा बढी दस्तावेजहरु भेटिए । सिंगापुर, मलेसिया, फिलिपिन्सबाट प्रकाशित हुने पत्रपत्रिकाहरु पनि भारतका लाइब्रेरीमा फेला पारेँ । नेपालबाट पहिलो एसियन गेम खेल्ने मौका पाएका ६ जनामध्ये मीनबहादुर बिष्ट र गजराज जोशीसँग मैले वीस वर्षअगाडि नै अन्तर्वार्ता गरिसकेको थिएँ । त्यसबाहेक ७१ जनासँग कुराकानी गरेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४४ वटा पत्रपत्रिकाको अध्ययन गरेर पुस्तक तयार गरियो ।

पुस्तकभित्र कस्ता खालका विषयवस्तुहरू समेटिएका छन् ? कुन विषयमा बढी केन्द्रीत छ ?

यो पुस्तक खासगरी राणा कालदेखि पञ्चायत कालसम्मको कालखण्डमा खेलकुदको इतिहासमा जे जति घटनाक्रम भए तिनलाई चरणबद्ध रुपमा लेखिएको दस्तावेज हो । नेपालमा राष्ट्रिय खेलकुद परिषद कसरी गठन भयो ? बृहत राष्ट्रिय खेलकुद कसरी गठन भयो ? नेपालले दक्षिण एसियाली खेलकुदको आयोजना कसरी गर्‍यो ? त्यसमा सफलता कसरी पायो ? यसको नेतृत्व, योजनाकार सबै शरदचन्द्र शाहले गरेका थिए ।

नेपालमा खेलकुदबारे त्यति पुस्तक लेखिएका छैनन् । संसारमै यो कम लेखिने विधामा पर्छ । मैले लेखेको पुस्तकमा खेलकुदबारे मात्र सिमित छैन । तत्कालिन समय, राजनीति लगायत चाखलाग्दा विषयवस्तुहरू समेट्ने कोशिस गरेको छु । राणा कालदेखि पञ्चायत कालसम्मको कालखण्डमा खेलकुद क्षेत्रमा भएका घटनाक्रमको अध्ययनका लागि यो पुस्तक राम्रो दस्तावेज बन्न सक्छ ।

लामो समय पत्रकारिता गर्नुभयो । त्यसमा पनि बढी समय पत्रिका, म्यागेजिन र पछिल्लो समय अनलाइन मिडियामा सक्रिय हुनुभयो । पत्रिकामा काम गर्नु र किताब लेख्नुबीच के फरक रहेछ ?

दुई वटै माध्यमका आ–आफ्नै विशेषता छन् । पत्रकार नभएको भए म किताब लेख्दिनँ थिए हुलाँ । किताब लेख्न गार्‍हो काम हो । अध्ययन, अनुसन्धान निकै फराकिलो हुनुपर्छ । नेपालमा हरेक कुराको डकुमेन्टेसन जुटाउन गार्‍हो छ । त्यसमा पनि खेलकुद प्राथमिकतामै छैन । तर, त्यही पत्रकारिताकै जगमा टेकेर मैले आधार बनाएको हो । पत्रिकामा लेख्दा कुनै व्यत्तिसँग गफ गरेर लेख्न सकिन्छ । तर, किताब लेख्ने क्रममा तथ्यमा टेकेर, अलि समय लगाएर लेख्नु पर्‍यो । बढी मिहिनेत चाहिन्छ ।

कुनै निश्चित लक्षित वर्गका लागि किताब लेख्नुभयो कि, खेलकुदमा रुची राख्ने सबै पाठकहरुका लागि ?

मलाई के लाग्यो भने यतिका वर्ष पत्रकारिता गरियो । तर, खेलकुद पत्रकारिताको दस्तावेज नै भेटिएन । मैले प्राविधिक कुरा भन्दा पनि खेल साहित्य, तत्कालिन समाजसँग जोडिएका कुरा, राजनीतिक अवस्था, आर्थिक अवस्थालाई समेट्न खोजेँ । त्यसबेला खेलकुद कसरी अगाडि बढ्यो ? दरबारलाई नसोधी राष्ट्रिय प्रतिष्ठासँग कुनै पनि कुरा अगाडि बढ्दैनथे ।
यस पुस्तकभित्र राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्रका विभिन्न रोचक प्रसंगहरु पढ्न पाइन्छ ।

पुस्तक लेख्दै जाँदा कुन कुरा खड्किएको महसुस भयो ?

सबै कुरा यसै पुस्तकमा मिसायो भने बुझ्न कठिन होला भनेर सरल भाषामा, तथ्यमा टेकेर लेखियो । शुन्यबाट हाम्रो खेलकुद कसरी अगाडि बढ्यो ? त्यो देखाउन खोजिएको हो । यसमा समेट्न सकिने थुप्रै कुराहरु थिए । नेपालमा पुस्तक लेख्नका लागि सबै दस्तावेज भेटिदैनन् । राम्रो डकुमेन्टेसन गरिएको पाइदैन ।

नेपालमा अध्ययन, अनुसन्धानलाई त्यति महत्व दिइदैन । जिम्मेवार व्यक्ति, सरकारी निकायमा बस्ने, सरोकारवाला संस्थामा बस्नेहरुलाई अनुसन्धान र दस्तावेजको महत्व नै थाहा छैन । एउटा प्रसंग सुनाउँ, तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले बेलायतबाट लाण्डन पार्सिबल पब्लिकेसन हाउसबाट लेखक पार्सिबललाई किताब लेख्नका लागि नेपाल झिकाए । नेपालीलाई पुस्तक लेखाए, भारतीयलाई अंग्रेजीमा अनुबाद गर्न लगाए । सम्पादन र छपाईका लागि बेलायतबाट नेपालमा विदेशीलाई बोलाए । अहिलेका शासकमा त चन्द्र शमशेर जत्तिको पनि चेतना भेटिएन । हरेक संस्थाको मेमोरी भनेको दस्तावेज नै हो । त्यो भोलिका पुस्ताका लागि पनि दस्तावेज हो ।

पुस्तक प्रकाशन भएर बजारमा गइसकेको चरणमा क-कसलाई सम्झिनु हुन्छ ?

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँग सहकार्य नभएको भए यो पुस्तक नै तयार हुँदैनथ्यो । यसको प्रकाशनमा क्रियटिभ बुक्सले एकदमै चासो लियो । फाउन्डेसनको सहयोगमा पुस्तक विमोचन कार्यक्रम पनि भव्य नै भयो । शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, प्रकाशक, मलाई सूचनादिने सबै व्यक्ति र शुभचिन्तक सबैलाई म सम्झिन चाहन्छु ।

प्रतिक्रिया