मंगलबार, जेठ १, २०८१

विप्लवको पार्टी नेपालमा सवैभन्दा ‘धनी’ !

देशैभर अढाई सय विगाह जग्गा- जमिन, तीन वर्षपछि चन्दा आवश्यक नपर्ने

शितल शर्मा २०८० जेठ ३२ गते २१:०२

काठमाडौं । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा धनी पार्टी कुन होला ? धेरै जग्गा जमिन र बैंक ब्यालेन्स कुन पार्टीसँग होला ? तपाईहरुले अनुमान लगाउनु होला- नेकपा एमाले या कांग्रेस ।

Advertisement

यी दुई पुराना पार्टीसँग पार्टी सदस्य र सांसदहरु धेरै भएको, चन्दा, लेवीदेखि अन्यत्र सर-सहयोग उठाउनेमध्येमा पनि यी दुई ठूला पार्टी नै देखिने भएकाले तपाईलाई लाग्न सक्छ – कांग्रेस या एमाले ।

अझ संस्थागत ढंगले चल्ने, लेवीमा कडिकडाउ गर्ने, केही समयदेखि प्रतिमहिना पाँच हजार सदस्यसँग विशेष अर्थिक अभियान सञ्चालन गरेको र केन्द्रदेखि जिल्लासम्म घर जग्गासमेत जोडेका कारण एमाले देशकै सबैभन्दा धनी पार्टी होला भन्ने अनुमान तपाई- हामीलाई लाग्न सक्छ ।

तर, तपाई हाम्रो अनुमानभन्दा विपरीत यी संसदीय पार्टीभन्दा अन्य पार्टी नै धनी रहेको दाबी प्रस्तुत भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेका राजनीतिक दलहरुभन्दा संस्थागत रुपमा सबैभन्दा सम्पत्तिमा धनी पार्टी आफ्नो पार्टी भएको दाबी गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले झिल्को अनलाइनलाई दिएको एक भिडिओ अन्तर्वार्तामार्फत यस्तो दाबी गरेका हुन् ।

‘अब म भन्न सक्छु नेपालमा रहेका पार्टीहरुभन्दा संस्थागत रुपमा सबैभन्दा बढी पपर्टी हाम्रो पार्टी नेकपासँग छ,’ विप्लवले अन्तर्वार्तामा भनेका छन् । नेत्रविक्रम चन्द विप्लवको पार्टी संसदीय राजनीतिमा छैन । एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गर्दै आएको उक्त पार्टीले अहिले भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतसँग समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य गरिरहेको छ ।

पहिले मोर्चा बनाउँदै क्रमशः पार्टी एकता नै गर्ने गरी अहिले गृहकार्य भइरहेको विप्लवको भनाइ छ । महासचिव विप्लवले अहिलेका राजनीतिक दलहरुसँग भन्दा आफ्नो पार्टीसँग केन्द्रदेखि जिल्ला तहसम्मको सम्पत्ति संस्थागत ढंगले हेर्ने हो भने सबैभन्दा धनी देखिने प्रष्ट दाबी प्रस्तुत गरेका छन् ।

कति छ विप्लवको पार्टीसँग सम्पत्ति ?
विप्लवले अन्तर्वार्तामा सम्पत्ति विवरणको बारेमा सम्पूर्ण तथ्य त खुलाएका छैनन् । तर, सबैभन्दा धनी पार्टी कोही छ भने नेकपा रहेको दाबी भने गरेका छन् । उनले त्यो दाबी गरिरहँदा देशैभर नेकपासँग संस्थागत रुपमा अढाई सय रोपनीभन्दा बढी जग्गा जमिन रहेको तथ्यांक प्रस्तुत गरेका छन् ।

विप्लवको केन्द्रीय कार्यालय शिवगढी

विप्लवका अनुसार, नेकपासँग केन्द्रीय समिति मातहात मात्रै हुने गरी यो वर्ष मात्रै ४० विगाहमाथि उत्पादनका काम भएको छ । अढाई सय रोपनी जग्गा जमिन पार्टीको सम्पत्ति छ । ‘माछापालन, वंगुर पालन, बाख्रा पालन सबै हामीले गरेका छौं,’ विप्लवले भने, ‘अब म भन्न सक्छु नेपालमा रहेका पार्टीहरुभन्दा संस्थागत रुपमा सबैभन्दा बढी पपर्टी हाम्रो पार्टी नेकपासँग छ ।’

उनले जिल्ला तहमा मात्रै पनि ८० देखि ९० विगाहसम्म जग्गा जमिन पार्टीसँग रहेको बताएका छन् । यी सवै पार्टीले किनेर जोडेको र त्यसका लागि आथिर्क सहयोग, कर, चन्दा, लेवीलगायतबाट स्रोत जुटाएको उनले बताएका छन् ।

मुगुमा स्याउ खेती, सल्यानमा अदुवा खेतीदेखि तराई- मधेसमा अन्नबाली खेतीसम्म अहिले नेकपाले गरेको महासचिव विप्लवको भनाइ छ । उनले पार्टीसँग रहेको जग्गा जमिनको मोटामोटी सरदर हिसाव अन्तर्वार्तामा खुलाएपनि मौज्जाद रहेको नगद सम्पक्तिका बारेमा भने केही वताएनन ।

तर उनले आगामी तीन वर्षपछि पार्टी सञ्चालनका लागि कोही कसैसँग चन्दा माग्न नपर्ने अवस्थामा पार्टी पुग्ने जिकिर पनि गरेका छन् । अहिले पार्टीसँग भएको चल अचल सम्पक्तिबाट उत्पादन लगायतका काम गरेर तीन वर्षपछि चन्दा लिनै नपर्ने अवस्थामा पार्टीलाई पुर्‍याइने पनि विप्लवले बताएका छन् ।

‘हामीले कम्युनका रुपमा यसलाई चलाउन खोजेका छौं, अहिले पार्टीले उत्पादनका लागि केन्द्रीय विभाग नै बनाएका छौं । विभागको जिम्मेवारीमा जाने कुरा गर्दा अहिले पार्टी साथीहरु उत्साहित भएर जानुहुन्छ, भोलि अन्य पार्टीहरुसँग एकता के होला, तर तीन वर्षमा हामी यो पार्टीलाई चन्दामुक्त बनाउने सोच पालेका छौं, हामी हाम्रो सम्पक्तिमा गरिएको उत्पादनबाट बाँच्न सक्ने बनाउन सक्छौं ।’

अन्य पार्टीसँग कति होला सम्पत्ति ?

कांग्रेस, एमाले, माओवादी लगायत निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुले आफनो पार्टीको आय ब्याय विवरणको अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाईरहनु पर्ने हुन्छ । विप्लवको पार्टीले भने आयोगमा दर्ता नभएको कारण पार्टीको आयब्याय र जग्गा जमिनको विवरण कही कतै बुझाउनु परेको छैन ।

तर दर्ता भएका पार्टीले निर्वाचन आयोगमा बुझाएको विवरण हेर्दा काग्रेससँग विभिन्न बैंकहरु हरुमा कुलमा ७ करोड ६३ लाख ९१ हजार १०० नगद रकम छ ।

त्यस्तै, कांग्रेससँग आफनै पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ । विभिन्न् जिल्लाहरुमा जिल्ला कार्यालय र कतिपय गाँउ पालिकाको कार्यालयको भवन आफ्नै छ । उसले आफ्नो जग्गा र भवनहरू स्पर्श गर्न सकिने निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर, कति जग्गा र कति भवन छ भन्ने स्पष्ट पारेको छैन ।

एमालेसँग पनि आफ्नै केन्द्रीय कार्यालय देखि केन्द्र देखि स्थानीय तहसम्मै अन्य पार्टीको नामका भवनहरु छन् । उसको बैंकमा कांग्रेसको भन्दा बढी नगद बचत छ । एमालेले बार्षिक रुपमा ४१ करोड आसपासको आम्दानी र सोही अनुसारको खर्चको हिसाव पनि निर्वाचन आयोगमा बुझाएको छ ।

एमालेसँग कांग्रेसको तुलनामा झन बढी जग्गा जमिन र भवनहरु छ । एमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यहाँ उसले पार्टीको कन्द्रीय कार्यालय बनाउने तयारी गरेको छ । पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा अहिले एमालेको केन्द्रीय कार्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ । एमालेका ६६ जिल्ला कमिटीसँग आफ्नै भवन छ । कतिपय नगर/गाउँ कमिटीका पनि आफ्नै भवन छ ।

उसको भारतको नयाँदिल्लीस्थित उत्तमनगरमा समेत १ करोडभन्दा बढी मूल्यको जग्गा छ। पार्टीको भारत प्रवास कमिटीले खरिद गरेको उक्त जग्गा अहिले प्रवासमा काम गर्ने तीन नेताका नाममा रहेको तथ्यांक एमालेको केन्द्रीय कार्यालयसँग छ।
पार्टीको चलअचल सम्पत्तिको लगत राख्ने काममा अन्य दलभन्दा एमाले व्यवस्थित देखिन्छ ।

माओवादीसँग केन्द्रमा ५ करोड ७७ लाख २८ हजार ७५० मा खरिद गरेको जग्गा पेरिसडाडामा पार्टी कार्यालयसँगै छ । माओवादीसँग पेरिसडाडामा आफ्नै पार्टीको भवन छ । जिल्ला तहमा पनि केही जिल्लामा आफ्नै भवन छ । बैंकमा पनि झण्डै ढेड करोड बचत माओवादीको पनि छ ।

बबरमहलमा कर्मचारीको भबन छ । तेहथुममा एकतले भवन छ । चितवन, नुवाकोट हेटौडा, सिन्धुपाल्चोक , गोरखा लगायत जिल्लामा पनि आफ्नै पार्टीको नाममा जग्गा र भवन छ । रोल्पामा पार्टी र शहीद प्रतिष्ठानका नामका जग्गा र दुई वटा भवन छ । कतिपय जिल्लामा शहिद प्रतिष्ठानका नाममा जग्गा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भने जग्गा जमिन छैन । उसले पार्टी सञ्चालन गरेको यही असार ७ गते एक वर्ष पुग्दैछ । यधपी उसले सदस्यता बाट र पार्टी स्थापना गर्दा पार्टीका केन्द्रीय सदस्यबाट उठाएको चर्काे लविवाट केही रकम बचत गरेको छ । तर उसले यसको हिसाव अहिले देखाईसकेको छैन । तर उसले पार्टी स्थापनाको दुई महिनाको मात्र निर्वाचन आयोगमा हिसाव प्रतिवेदन बुझाउँदा २ लाख नाफामा रहेको जनाएको छ ।

राप्रपासँग वरिष्ठ नेता पशुपति शमशेर राणाले सहयोग गरेको २ करोड बराबरको जग्गा र भवन छ । राप्रपाले निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा राणाले काठमाडौं चाबहिलमा रहेको २ करोड ११ लाख ३९ हजार ५१५ रुपैयाँ बराबरको जग्गा र भवन सहयोग गरेको उल्लेख गरेको छ ।

राणाले छुट्टै पैसा पनि सहयोग गरेका छन् । राणाले त्यसरी पार्टीलाई थप ४० लाख ५० हजार सहयोग गरेका छन् । त्यसैगरी, पूर्वअध्यक्ष र अन्य नेताबाट पनि सहयोग रकम लिएको राप्रपाको हिसाव किताव देखिन्छ । अर्का नेता डा प्रकाशचन्द्र लोहनीले ३० लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

राप्रपा छोड्नुअघि पूर्वअध्यक्ष कमल थापाले ७ लाख सहयोग गरेका छन् । आम्दानी र खर्च कटाएर २ करोड ४ लाख ३९ हजार ५९३ रूपैयाँ सम्पत्ति रहेको राप्रपाले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनमा देखिन्छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ बचत छ । एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको र त्यसमध्ये ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ खर्च भएको उसको आर्थिक रिपोर्टमा छ ।

जग्गा जमिन उसले जोडेको छैन । केन्द्रीय कार्यालयको घरबहालमा मात्रै २५ लाख ५० हजार खर्च गदै आएको एसको भनाइृ छ ।

जनता समाजवादी पार्टी नेपालसँग पनि २ करोड ६६ लाख ९९ हजार २ सय ३६ रूपैयाँ को सम्पक्ति छ । उसले जग्गा, भवन फर्निचर, सवारीसाधन, कार्यालय उपकरणलगायतका सामग्री गरी सो वरावरको सम्पक्ति विवरण रहेको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको विवरण मात्रै सत्यतासँग नजिक छैन । उनीहरुका सम्पक्ति विवरणमा कतिपय पारदर्शीता नदेखिएको र आयोगमा बुझाएको विवरण मा कतिपय विवरण लुकाइएको हुनसक्ने आशंकामा आयोगले गरेको छ ।

यो पनि …

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया