बिहीबार, वैशाख १३, २०८१

भ्यालीभित्रै विप्लवको ‘कम्युन घर’

विप्लवलाई बस्नेदेखि खेतीपाती गर्नेसम्म सुविधा हुने गरी ललितपुर हरिसिद्धीमा ५ रोपनी जग्गामा ‘गुपचुप’ निर्माण कार्य भइरहेको छ

रामकृष्ण अधिकारी २०७८ असार १६ गते १५:३२

ललितपुर । ललितपुर सातदोबाटोबाट रिङरोड छोडेर ३ किलोमिटर हिडेपछि पुगिन्छ, हात्तिवनस्थित लिटिल एञ्जल्स स्कुल । ठिक त्यसैको ‘अपोजिट’ काठमाडौँ युर्निभसिटी कलेजको कार्यालय हुँदै २ किलो मिटरअगाडि एउटा खोला भेटिन्छ । पवित्र हाउजिङ हुँदै अघि जाने बाटो हो, त्यो । खोलै-खोला केही अघि बढेपछि त्यहाँ भेटिन्छ, केही समथर भूभाग भएको खुल्ला मैदान ।

त्यस ठाउँलाई पनि हरिसिद्धी नै भनिन्छ ।

माथिल्लो डाडामा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको आवासतिर जाने बाटो भेटिन्छ । तल खोलै छेउमा छ, हरिसिद्धी गुठीको नाममा रहेको समथर ५ रोपनी जग्गा ।

जग्गाको आडैमा एउटा एक्लो टहरा छ । टहरामा सानो किराना पसल छ । त्यही पसल छेउमै अहिले अर्काे एउटा लामो टहरा निर्माण हुने क्रममा छ । त्यो टहरा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का लागि बन्दै गरेको हो ।

२८ फागुन २०७५ मा विप्लवको पार्टीले हिंसात्मक गतिविधि गरेको अभियोगमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछिका २ वर्ष भूमिगत जीवन बिताएका विप्लव ४ महिनाअगाडि मात्रै अर्थात २१ फागुन २०७७ मा सार्वजनिक भए । सरकारसँग तीन बुँदे सहमति गरेर राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनै प्रधानमन्त्री ओलीसँगै सार्वजनिक भए ।

त्यसयता भने विप्लवले अधिकांश समय आफ्नै गाउँ कपिलवस्तुको शिवगढीमा बिताइरहेका छन् । उनको पार्टी नेकपाको केन्द्रीय कार्यालयसमेत शिवगढीमा बन्दै छ । लिफ्टसहितको आधुनिक केन्द्रीय कार्यालय भवन १ वैशाखमा विप्लवले उद्घाटन गरेका थिए । अहिले त्यो निर्माणकै चरणमा छ ।

खुल्ला परिवेशमा पार्टी अवतरण भएपछि नेकपाको दशौँ केन्द्रीय समिति बैठक शिवगढीमै बस्यो । प्रगतिशील संयुक्त राष्ट्रिय सरकार, वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारासहितको ४ महिने कार्य योजना बैठकले पारित गरेको थियो । ‘एक पार्टी कमिटी, एक उत्पादन’ को नारा पनि त्यही कार्य योजनाभित्र छ । पार्टीको हेर्डक्वाटरदेखि तल्ला कमिटीसम्म आत्मनिर्भर बनाउने अभियानअर्न्तगत यो योजना बनेको हो ।

पूर्णबहादुर राई , विप्लव पार्टीका कार्यकर्ता ।

विप्लव स्वयम् गहुँ काट्ने, धान रोप्नेलगायतका कृषि कर्ममा संग्लन्न रहेको तस्विर बेलाबेला शिवगढीबाट सार्वजनिक भइरहेको छ । असार ९ गते मात्रै पनि केही नेता -कार्यकर्तासहित धान रोप्न व्यस्त रहेको उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

‘श्रमसँग नियमित जोडिनु हरेक कम्युनिष्टको आचारण बन्नुपर्छ’ धान रोपिरहेको आफ्नो भिडियो पोष्ट गर्दै विप्लवले लेखेका थिए ।

०००

२१ फागुनमा सार्वजनिक भएपछि उनी यदाकदा काठमाडौँ नआएका भने होइनन् । काठमाडौँ आउदा सीधै पार्टी प्रवक्तासमेत रहेका नेता खड्कबहादुर विश्वकर्माको निवासमा बस्ने र फर्किने विप्लवको बानी परेको थियो ।

तर, अब उनका लागि काठमाडौँमै बस्ने गरी टहरा बनाइँदै छ । हरिसिद्धी गुठीको मोहियानी जग्गा लिजमा लिएर नेकपाले महासचिव विप्लवका लागि काठमाडौँमा रहँदा बस्ने व्यवस्थापन गर्न लागेको हो ।

विश्व किराँती, विप्लव पार्टीका कार्यकर्ता ।

काठमाडौँमा रहँदा त्यही टहरामा बस्ने, दैनिक पार्टी कार्य सञ्चालन त्यहीबाट गर्ने, त्यसै ठाउँलाई भेटघाट थलो मात्रै होइन, खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेर्डक्वार्टरलाई आत्मनिर्भर बनाउने योजना विप्लवको छ ।

सोही योजनाअनुसार गुपचुप रुपमा हरिसिद्धीको उक्त जग्गामा कार्यालय निर्माणको काम भइरहेको छ । निर्माण कार्यमा पार्टीकै नेता-कार्यकर्ता खटिएका छन् । उनीहरूलाई समेत काम पूरा नहुँदासम्म सामाजिक सञ्जालमा तस्विर हाल्ने, प्रचार गर्ने जस्ता काम नगर्न आचारसंहिता बनाइएको छ ।

कार्यालय व्यवस्थापन र टहरो निर्माणको जिम्मा भिमसेन घिमिरे (विपिन) र विकास महर्जनले पाएका छन् । उनीहरूसहित झण्डै एक दर्जन नेता-कार्यकर्ता आलोपालो त्यहाँ काममा जुट्ने गरेका छन् । टहरो निर्माणका लागि जग खन्ने काम सकिएको छ । डिपिसी भर्ने काम भइरहेको छ ।

मंगलबार हामी त्यहाँ पुग्दा सोलखुम्बुका पूर्णबहादुर राई र ओखलढुंगाका विश्व किराँती भेटिए । उनीहरूमध्ये एक जना डिपिसीको गाह्रो उठाइरहेका थिए । अर्का सिमेन्ट-बालुवा घोल्नेदेखि इट्टा बोक्ने काममा थिए ।

शुरुमा चुपचाप केही थाहा नपाए झै बसेका उनीहरू धेरैपछि मात्रै हामीसँग केही खुलेका थिए । ‘अन्य पार्टीकै साथीहरू पनि यो काममा हुनुहुन्छ, तर उहाँहरू पार्टीको प्रशिक्षणका लागि भनेर अहिले जानुभएको छ, पछि आउनुहुन्छ,’ पूर्णबहादुरले भने ।

काठमाडौँ जिल्लाका इञ्चार्जसमेत रहेका नेता माइला लामाले हरिसिद्धीमा काम गरिरहेका विपिनलगायत नेता–कार्यकर्तालाई प्रशिक्षण दिइरहेको पूर्णबहादुरले हामीलाई बताए । त्यसपछि हामीले निर्माण हुँदै गरेको संरचनामा चासो राख्यौँ ।

‘योअगाडि गाडी आउने बाटो हुन्छ, सँगै लामो बन्न लागेको टहरमा एउटा बाथरुम, एउटा किचेन रुम र अर्को हल हुने गरी नक्सा बनेको छ,’ विश्व किराँतीले योजना सुनाउँदै भने, ‘अर्को त्यो टहरामा महासचिव (विप्लव) बस्ने गरी कोठा निर्माण हुन्छ, टहराअगाडि आँगन बनाइने कुरा छ, अलिपर साँधतिर भने अर्को पनि टहरा हालिन्छ, त्यहाँ अन्य साथीहरू बस्ने, सामूहिक खेती गर्ने र उत्पादनसँग जोडिने काम हुन्छ ।’

महासचिव विप्लवका लागि बनाइँदै गरेको क्वार्टरको लागि खनिएको जग

गुठीसँग यो जग्गा विप्लव नेकपाले लिजमा लिएको हो । २० वर्षलाई लिजमा लिने गरी समझदारी भएपछि टहरा निर्माणको काम शुरु भएको हो । यद्यपि, जग्गा लिने दिनेका बीचमा अझै लिखित करारनामा भने भइसकेको छैन ।

तत्कालीन माओवादीले १ फागुन ०५२ मा ‘जनयुद्ध’ सुरु गर्दा विप्लव ललितपुर जिल्ला सेक्रेटरी थिए । त्यसैबेला उनको कमिटीका सदस्य थिए- रामशरण महर्जन । महर्जन गुठी जग्गाका गुठियार पनि हुन् । उनले विप्लवलाई जग्गा दिन तयार भएका हुन् । महर्जनको परिवारमा केही घरायसी विवादका कारण सम्झौता भने भईसकेको छैन । तर जग्गा भूमाफियाले हडप्न थालेको र त्यसको रक्षाका लागि पनि विप्लवको पार्टीलाई लिजमा दिँदा जोगिने विश्वासमा महर्जन देखिन्छन् ।

तर, भाडा कतिमा कुराकानी भएको भन्ने विषयमा दुवै पक्षले खुलाउन चाहेका छैनन् । यद्यपि, त्यही नजिकै खेतीका लागि भाडामा लिएका किसानहरूले प्रतिरोपनी वार्षिक ३० हजार रुपैयाँ बुझाउँदै आएका छन् ।

‘पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा बन्दैछ । यो विशुद्ध महासचिवलगायतका नेताहरू काठमाडौँमा रहँदा बस्ने र सामूहिक उत्पादनमा जोडिने गरी बनाइएको योजनाअनुसारको हो,’ निक्कै करबलपछि टहरा निर्माणको जिम्मेवारी लिई खटिएका विपिनले भने ।

हुन त, अन्य नेताहरूभन्दा सादा जीवन बिताउन रूची राख्छन्- विप्लव । पहिला माओवादीमा रहँदा पनि अन्य नेताहरूको बसाई, लवाई- खुवाई लोभ लाग्दो हुँदा उनको बसाँई समान्य नै हुन्थ्यो । साधारण जीवन जिउने, उनको बसाई देख्ने जो कोहीले अनुमान लगाउँदै भन्थे, -अरु नेता भन्दा यिनी अलिक भिन्न देखिए ।

अहिले पनि उनले टहरा निर्माण गरेर सरल रुपमा बस्ने र त्यही खेतीपातीसमेत गरेर आफ्नो जीवन र राजनीतिलाई आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका छन् । उनी पार्टीसँग मासिक २० हजार रूपैयाँ मात्रै खर्च लिन्छन् । यो उनैले स्वीकारेका विषय हुन् । त्यसभन्दा बढी आफूले नलिने गरेको विप्लवको दाबी रहँदै आएको छ । त्यो रकम पनि आफै उत्पादनमा लागेर श्रम गरेबापतको हुने विप्लवको कथन छ ।

पार्टीमा ऋण छैन । टहरा निर्माणमा पार्टीकै नेता-कार्यकर्ता परिचालन भएका छन् । विप्लवका लागि काठमाडौँमा निर्माण हुँदै गरेको आवासलगायतमा ४५ लाख बराबरीको खर्च हुने स्टेटमेन्ट नेकपाले बनाएको छ । ’त्यो खर्च पनि टहरा निर्माणका लागि आवश्यक रसायनका लागि मात्रै हो, इट्टा, रड, टस्टहरूका लागि मात्र हो- त्यो लागत, अन्य जनश्रमदानबाट निर्माण हुन्छ,‘ पूर्णबहादुरले भने ।

विपिनले भने यसलाई उत्पादनसँग जोडेर बुझिदिन पटक-पटक आग्रह गरे । ‘पार्टीको दशौँ बैठकको केन्द्रीय योजनाअनुसार हरेक कमिटी एउटा उत्पादनमूलक काममा लाग्ने र आत्मनिर्भर बन्ने भन्ने छ । देशभरि यस्ता योजना बन्दै छन् । पश्चिममा अलिक बढी ठाउँमा यस्तो छ । यहाँ पनि त्यही योजनाअनुसार बन्न लागेको हो । काठमाडौँ र भक्तपुरमा पनि जग्गा खोजी कार्य भइरहेको छ,’ विपिनले भने ।

शुरुमा गुठीको ५ रोपनी जग्गाबाट उत्पादनका कामलाई समेत राजनीतिसँगै जोडेर शुरु गर्ने योजना विप्लव नेतृत्वको नेकपाले बनाए पनि सँगै रहेका स्थानीयसँग थप जग्गा माग गरेर योजनालाई विस्तारित रुप दिने तयारी छ । दुई महिनामा विप्लवका लागि आवासदेखि सम्पूर्ण संरचनाका काम सकेर उत्पादनमा लाग्ने विपिनले बताए ।

गुठियारको उक्त जग्गामा केही भूमाफियाले हडपेका छन् । तर, त्यसको यकिन कति हडपियो र जग्गा कति छ भन्ने अहिले देखिएको छैन । महर्जनले विप्लव स्वयमलाई भने एकपटक भेट गरेर जग्गा लिजमा दिने विषयमा कुरा टुंग्याएका थिए । महर्जनलाई विप्लवसम्म लगेर भेटाउने र जग्गा मिलाउने काममा विप्लवको जनस्वाथ्यकर्मी संघका नेता टिका कँडेलले मेहनत गरेका थिए । बीचमा एक चरण विप्लव पार्टीका कार्यकर्ताले धान खेती गरिसकेका थिए ।

तर, विकास महर्जनले भने त्यो पार्टीको भन्दा आफ्नो आफन्त -परिवार मिलेर खेतीपातीको कामका लागि अहिले संरचना बनिरहेको जिकिर गरे ।

सामूहिक रुपमा बस्ने, सामूहिक खेती गर्ने र सामूहिक रुपमा जीवन निर्वाह गर्ने उद्देश्य पनि यो अभियानसँग जोडिएको छ । ’यो एक प्रकारले कम्युनकै रुपमा विकास गर्न खोजिएको अभियान हो,’ निर्माण कार्यमा खटिएकाहरू भन्छन्, ’महासचिवलगायत सबैले यही श्रम गर्नुहुन्छ, यहीबाट पालिनु हुन्छ ।’

तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्नो लाल किल्ला रोल्पा, रुकुममा युद्ध कालमा थुप्रै जन कम्युनको अभ्यास गरेको थियो । अजम्बरी कम्युन, बलिदान जनकम्युन्, जुनी कम्युन इत्यादि । त्यसबेला माओवादीका कतिपय त्यस क्षेत्रका नेता कार्यकर्ताले निजी सम्पत्ति कम्युनलाई बुझाएर सर्वहाराकरणको दिशामा अगाडि बढेका थिए । त्यसपछि उनीहरूले सँगै खान थाले, सँगै बस्न थाले, मेला पातमा सँगै काम गर्न थाले । आम्दानी पनि सामूहिक, खर्च पनि सामूहिक र सम्पत्ति पनि सामूहिक । हर एकको खुसी कम्युनको खुसी, हर एकको दुःख सिंगो कम्युनको दुःख । यही नारामा माओवादीले कम्युनको प्राक्टिस गरेको थियो । तर, त्यो टिकेन ।

बीचमा माओवादी केन्द्रले हेटौँडा महाधिवेशनबाट उत्पादन विग्रेड बनाउने योजना अगाडि सारे । अहिले विप्लवले भने जस्तै हरेक कमिटी श्रमसँग जोडिने नीति थियो, त्यो । तर यो नारामै सिमित बन्यो ।

अहिले ठिक विप्लवले त्यसैगरी पार्टीका कमिटीलाई उत्पादनसँग जोडने अभियान अगाडि ल्याएका छन् । त्यसैअर्न्तगत उनले उत्पादनमा पार्टीलाई जोडन लागेका हुन् । भलै त्यो कति टिक्छ ? त्यो भने प्रतिक्षाकै विषय छ ।

तस्बिरहरु : जुली गिरी

भिडियोमा हेर्नुहोस्:-

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया