शनिबार, वैशाख १५, २०८१

सरकारले राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिए : प्रधानमन्त्री

‘इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु’

मेरोन्यूज २०८० जेठ २७ गते १७:५७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिएको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोध गरेको बताए ।

‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौं, त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन, यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू छन्, सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन् ।’

यस्तै उनले विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको बताए । ‘राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवर्द्धन गर्न तत्पर छ, विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’ उनले भने, ‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु ।’

प्रधानमन्त्रीले सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचार विरोधी अभियानले निरन्तरता पाउने बताए । ‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ, यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ, भ्रष्टाचार विरोधी अभियान निरन्तर अगाडि बढ्छ, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं,’ उनले थपे ।

उनले यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएको दाबी गरे । ‘इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु’ उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनु भएको छ, यो ठूलो कुरा हो, यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो ।’

यस्तै, उनले २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना तीन महिनाभित्र अगाडि बढाउने सहमति भएको बताएका थिए । १० वर्षमा १० हजार विद्युत निर्यात गर्ने गरी सम्झौता भएको बताउँदै उनले वैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको स्पष्ट पारे ।

प्रतिक्रिया