शुक्रबार, वैशाख १४, २०८१

कमजोर बन्यो एमालेभित्र माओवादी धार

मेरोन्यूज २०८० जेठ २५ गते १०:५५

काठमाडौँ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी सर्वोच्च अदालतको आदेशपछि छिन्नभिन्न भयो । त्यसपछि पुरानै रूपमा एमाले र माओवादी केन्द्र अस्तित्वमा आए ।

तर, केही नेता नेतासँगको निकटताका आधारमा र केही स्वार्थ पूर्ति हुने हिसावले पूर्ववतको भन्दा अर्को पार्टीमा रहेका थिए । त्यसले केहीको सांसद पदसमेत गयो । पूर्ववत एमालेका नेता माओवादीमा नगए पनि माओवादीको एक जथ्था एमालेमा गएको थियो । र, एमालेभित्रको बलियो शक्ति बनेको थियो । अहिले त्यो शक्ति विस्तारै छिन्नभिन्न बन्न लागेको छ ।

एमालेमा सहभागी भएका माओवादीका नेताहरू एमालेबाट विस्तारै पाखा लाग्न लागेका छन् ।
माओवादीबाट एमाले संघीय सांसदका पाँच जना र सात प्रदेशबाट १४ जना प्रदेश सांसद प्रवेश गरेका थिए । एमालेले २०७९ मंसिरमा भएको संघीय चुनावमा १० भन्दा बढी माओवादी धारका नेतालाई टिकट दिए पनि टोपबहादुर रायमाझी र ज्वालाकुमारी साहले निर्वाचन जितेका थिए ।

एमालेले ३२ जनालाई केन्द्रीय समितिमा समेटेको छ ।

सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएर अहिले प्रहरी हिरासतमा छन् । उनलाई पार्टीले निलम्बन गरिसकेको छ । स्थायी समिति सदस्य प्रभु साह एमालेबाट बाहिरिएर नयाँ पार्टी खोलेर आफू अध्यक्ष बनेका छन् । स्थायी समिति सदस्य मणि थापाले पार्टीमा बिदा लेखेर निस्क्रिय बसेका छन् ।

पार्टी उपाध्यक्ष रामबहादुर थापालाई कुटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरू हेर्ने जिम्मेवारी एमालेले दिएको छ ।

बादलकी श्रीमती नैनकला थापा प्रतिनिधि सभा सदस्य छिन् । सचिव लेखराज भट्टलाई एमालेले कर्णाली प्रदेशको इन्चार्ज बनाएको छ । चुनावमा पराजित भए पनि महत्त्वपूर्ण जिम्मेवारी एमालेले दिएको हो ।

रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि साह मात्रै माओवादी धारकी एक्ली निर्वाचित सांसद छन् ।

अब माओवादी धारबाट एमालेमा २९ जना केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया