शुक्रबार, वैशाख १४, २०८१

राजा वीरेन्द्रले भनेका थिए: राजा गिरीलाई नेपाल पर्यटन बोर्डको सीईओ बनाउनु पर्छ

नरेन्द्र रौले २०८० जेठ १९ गते १९:५०

काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहसँग पर्यटन व्यवसायी तथा उद्यमी राजा गिरीले जीवनमा चारपटक भेट्ने अवसर पाए । एकपटक नेपाल र तीनपटक बेलायतमा उनीहरूको भेट भयो । जब पुष १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको दिन आउँछ । गिरीको आँखाभरि सम्झनाहरु सल्बलाइहाल्छन् । र, जब क्यालेण्डरले जेठ १९ को दरबार हत्याकाण्ड सम्झाउँछ, उनको मन भारी भइदिन्छ ।

‘राजा वीरेन्द्रले मेरो मनमा जुन छाप छोड्नु भएको छ, त्यो बिर्सन चाहेर पनि बिर्सन सकिदैन,’ गिरीले राजा वीरेन्द्रसँगका सम्झनाहरू सम्झे, ‘दरबार हत्याकाण्ड भएको यत्रो वर्ष भइसक्यो, अझै हिजोअस्ति हो कि जस्तै लाग्छ ।’ त्यसो त गिरीको मनमा स्कुल पढ्दादेखि राजा वीरेन्द्रको गहिरो छाप बस्न पुग्यो । जुन कुरा उनले आफ्नो सम्झनाको एल्बमबाट कहिल्यै मेटाउन सक्दैनन् ।

त्यो प्रसंग सम्झिन २०४१ सालतिर फर्किनु पर्ने हुन्छ । त्योबेला गिरी पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ४ मा पढ्थे । भानु जयन्तीमा हरेक वर्ष स्कुलमा विशेष कार्यक्रम मनाइन्थ्यो । स्कुल डे र भानु जयन्ती दुवै एकै दिन परेकाले झन कार्यक्रम भव्य रुपमा मनाइन्थ्यो । त्यही अवसरमा स्कुलमा राजाको सवारी हुन्थ्यो ।

गिरीले राजा वीरेन्द्रलाई पहिलोपटक नजिकबाट भानु जयन्तीमा देखे । त्यो बेला लाजिम्पाटको सांग्रिला होटलदेखि भानुभक्त मेमोरियल स्कुलसम्म सडकका दुई किनारामा राजाको स्वागतका लागि विद्यार्थीहरुलाई लाइनमा राखिएको थियो । हातमा नेपालको झण्डा बोकेर गिरी पनि उभिए । स्कुलको कम्पाउण्डमा राजा आइसकेपछि फेरि हरेक कक्षाको आ–आफ्नै लाइन बनाएर राखियो । हरेक कक्षाको लाइनमा बसेका विद्यार्थीसँग राजाले कुरा गर्थे ।

राजा वीरेन्द्र ४ कक्षाको लाइनको अगाडि पुगे ।

११ वर्षे बालकलाई धाप मार्दै सोधे, ‘तिम्रो नाम के हो ?’

‘राजा’ उनले जवाफ दिए ।

वीरेन्द्र एकछिन अडिए । मुसुमुसु हाँसे । र, फेरि सोधे ।

पूरा नाम ?

‘राजाराम गिरी,’ ती विद्यार्थीले जवाफ दिए ।

‘ल, राम्रो पढ्नु है,’ यति भनेर वीरेन्द्र हाँसेर गए ।

उमेर बढ्दै गयो । त्यसपछि राजाराम गिरीले न राजा वीरेन्द्रलाई नजिकबाट देखे । न भेटे । बेलाबखत नेपाल टेलिभिजनमा मात्र देख्न पाउँथे । एकपटक १० कक्षा पढ्ने बेला एयरपोर्टतिर जाँदा सवारीमा हुइकिएका बेला देखे ।

राजाराम गिरीले स्वयम्भुको महामञ्जुश्री स्कुलबाट ०४७ सालमा एसएलसी दिए । ०४८ मा पिपुल्स क्याम्पसमा आइकम भर्ना भएका उनले पहिलो वर्ष पास गरे । दोस्रो वर्षयता पढ्दा पढ्दै उनलाई बेलायत पढ्न जाने सुर चल्यो । आफ्नो दाइ बेलायतमा भएर उनलाई उतै पढ्ने इच्छा जाग्यो । पढ्नलाई बेलायत गयो भने भविष्य राम्रो होला भन्ने उनलाई लाग्यो ।

पिपुल्स क्याम्पसमा आइकम पहिलो वर्षको पढाई सकाएपछि गिरीले बेसिक कम्प्युटर कोर्ष गरेका थिए । त्योबेला उनलाई यो विषय एकदमै रोचक लाग्यो । त्यसबेला नक्साल भाटभटेनी नजिक एक भारतीयले चलाएको ‘कम्प्युटर प्वाइन्ट’ नामक कम्प्युटर इन्सिट्च्युट थियो ।

बेलायत गएर कम्प्युटर साइन्स पढ्ने उनको रहर थियो । बेलायत गएर पढ्ने सपना पालेर उनले स्टडी भिसा एप्लाई त गरे । तर, दुई चोटी भिसा एप्लाई गर्दा भिसा लागेन । त्यसबेला एक हजार जनाले एप्लाई गर्दा मुस्किलले औंला गन्न सकिने मात्र भिसा पाउँथे । जसरी पनि बेलायत गएरै छाड्ने सपनाबाट गिरी बिचलित भएनन् । त्यो समय बिदेश जानु टाढाको कुरा थियो । ठूलो कुरा मानिन्थ्यो । उनले हार खाएनन् । तेस्रोपटक भिसा एप्लाई गर्दा उनले भिसा पाए ।

गिरी ०४९ मा युके पुगे ।

नयाँ जीवन, नयाँ ठाउँ । बेलायतमा गिरीले धेरै संघर्ष गर्न प¥यो । साउथ डाउन्स कलेजमा ६ महिना कम्प्युटर साइन्स कोर्ष पढे । त्यसपछि उनलाई कम्युटर साइन्स पढेर त्यति उपलब्धि नहुने देखे । अरु नै विषय पढ्ने निधो गरे ।

त्यसबेला विदेशमा नेपालको पहिचान बलियो भइसकेको थिएन । नेपाललाई बिदेशीले नचिन्ने समस्या थियो । बिदेशबाट नेपालमा पैसा पठाउन समस्या थियो । बेलायतसँग गोर्खालीको त्यत्रो सम्बन्ध थियो । तर, नेपाललाई त्यति चिने जस्तो लागेन । बिदेशमा बस्नेलाई देशको अस्तित्व नै नभए जस्तो लाग्थ्यो ।

बेलायतमा नेपाललाई चिनाउनु पर्छ भन्ने भावना गिरीको मनमा गढ्यो । कक्षामा अरु शिक्षकसँग सल्लाह गरेपछि एड्भान्स ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कोर्ष पढ्ने निधोमा पुगे । जसलाई त्यहाँ ए लेभल पनि भनिन्छ । ‘शिक्षकले तिमी ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय पढ । तिमीले आफ्नो देशमा केही गर्न खोजे जस्तो लाग्यो । तिमीमा धेरै रुची पनि छ भने,’ गिरीले सम्झिए, ‘मलाई त्यो सल्लाह उचित लाग्यो, अनि दुई वर्ष मज्जाले पढें ।’

त्यसबेला याहु डट्कम् खुब लोकप्रिय थियो । याहुमा उनले नेपाल न्युजको समाचार देखे । सन् १९९८ मा नेपालको पर्यटन प्रबद्र्धन गर्न भिजिट नेपालबारे त्यो समाचार थियो । त्यसबारे उनले खोजी निती गरे । पर्यटन मन्त्रालयको वेवसाइटमा गएर उनले त्यहीबाट इमेल पठाए ।

उनले लेखेका थिए, म पर्यटनको विद्यार्थी हो । तपाईसँग कुनै ब्रुसर छ भने पठाउनुस् । मेरो कलेजमा त्यो बाँड्छु । प्रचार–प्रसार गर्छु भनेर इमेल लेखे । तर, कुनै रिप्लाइ आएन । कसो गर्ने, कसरी सम्पर्क गर्ने भनेर उनलाई अन्यौल भयो ।

गिरीले बेलायतस्थित राजदूताबासको वेवसाइट खोजे । नम्बर फेला पारेपछि आफै सम्पर्क गरे । त्यसबेला प्रल्हाद प्रसाई कन्सुलर थिए । ‘तपाई पर्यटनकै विद्यार्थी हुनुहुँदो रहेछ । हामी सम्पर्कमा बसौँ । के गर्नुपर्छ, गरौंला भन्नुभो,’ उनले त्यो कुराकानी सम्झिए । राजदूत सिंह बहादुर बस्नेत थिए । सेकेण्ड म्यानको भूमिकामा थिए, प्रसाई ।

गिरीले पढ्ने एड्भान्स ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कोर्षमा प्रयोगात्मक कुरामा बढी जोड दिइन्थ्यो । कलेजमा कहिले पत्रिका निकाल्नु पर्ने, कहिले कुनै देशका बारेमा प्रिजेन्टेसन गर्नुपर्ने हुन्थ्यो । उनले नेपालका बारेमा प्रेजेन्टेसन बनाए । कक्षामा दुई वटा सेक्सन थिए । उनले दुवैलाई राखेर प्रस्तुती दिए । त्यो प्रस्तुतीले सबैजना यति प्रभावित भए कि छक्कै परे ।

सरले त सिंगो कलेजमै कार्यक्रम राखेर किन नदेखाउने भन्दै उत्साह भरिदिए । प्रिन्सिपललाई खबर गरेर कलेजमै कार्यक्रम राखौं भने । प्रिन्सिपल झन् खुसी भएर ‘हुन्छ’ भनेर अनुमति दिए । गिरीले एम्बेसीलाई फोन गरेर कार्यक्रमबारे जानकारी दिए । राजदूताबासका प्रसाईले पर्यटन मन्त्रालयमा सेक्सन अफिसर थिए टेक बहादुर डाँगीसँग सम्बन्ध जोडिदिए ।

कार्यक्रमका लागि मन्त्रालयबाट प्याकिङ भएर ब्रुसर, लिफलेट, ब्याच, आदि प्रचार प्रसार सामग्री पार्सल गरेर बेलायतस्थित गिरीको ठेगानामा आइपुग्यो ।

१९९८ को जुन १ ।

बेलायतको राजदूताबासलाई जानकारी गराएर कार्यक्रमका लागि निम्तो दिए । रेस्टुराँमा काम गर्ने गिरीसँग मोबाइल थिएन । बंगलादेशी साहुले फोन उठाएर, ‘ए, तेरा एम्बेसीसे एम्बेसडरका फोन आया ।’ उनी थर्रर काँपे । हातमा बोकिराखेको चिजलाई एक साइडमा राखे ।

‘म सिंह बहादुर बस्नेत । नेपालको राजदूताबासबाट बोलेको,’ राजदूत फोनमा बोले ।

‘मैले बोल्न जानेको थिइनँ, हजुर एम्बेसडर साब भनेँ,’ गिरीले सुनाए ‘उहाँले कार्यक्रमबारे जिज्ञासा राख्नु भो । मैले कलेजमा गर्न लागेको प्रोगामबारे सबै भनेँ ।’

पछि गिरीले प्रिन्सिपललाई गएर भेटेर सबै कुरा सुनाए । हाम्रो कलेजमा कोही पनि राजदूत आएका छैनन् । ‘पहिलो चोटी स्वागत गर्न पाउँदा खुसी हुनेछौँ,’ भनेर प्रतिक्रिया दिए । प्रोटोकल मिलाउन पोर्समाउथको मेयरलाई पनि बोलाउने आश्वासन दिए । प्रोगाम भब्य हुने भो ।

कार्यक्रम हुने ५/७ दिनअगाडि फेरि राजदूतासबाट फोन आयो । ‘नेपालबाट कर्ण शाक्य पनि भिजिट नेपाल १९९८ को कार्यक्रमका लागि आउँदै हुनुहुन्छ । उहाँलाई पनि सहभागी गराउँदा हुन्छ ?, किन नहुनु ?’ मैले भनेँ ।

सन् १९९८ । जुन १ तारेख । कलेजमा भव्य प्रोगाम भयो । एकातिर बेलायतको झण्डा, अर्कोतिर नेपालको झण्डा राखिएको थियो । कार्यक्रममा सहभागी करिब पाँच हजारका अगाडि भिडिओ देखाइयो । मन्त्रालयले नेपालबाटै भिडिओ बनाएर पठाएको थियो ।

कलेजबाट १५/२० मिनेटको दुरीमा बस्थे गिरी । राजदूत बस्नेत र कर्ण शाक्य दुबै उनको कोठामा पुगे । ‘तिमीले यो काम राम्रो ग¥यौ, तिमी नेपाल आउनु पर्छ भन्नु भो,’ दुवैले तारिफ गर्दै भने ।

त्यसको ६ महिनापछि फेरि राजदूताबासबाट गिरीलाई फोन आयो । ‘एम्बेसीमा प्रोगाम छ । तिमी आउनुपर्छ ।’ उनले हुन्छ भने । उनी दूताबास खोज्दै गए । बसाईबाट डेढ घण्टाको ट्रेन यात्रा गरेर राजदूताबास पुगे ।

नेपाल बाहिर खोलिएको पहिलो नेपाली राजदूताबास जुन बेलायती महारानीले नेपाललाई गिफ्ट दिएकी थिइन् । गोर्खाली पल्टनले बेलायतलाई पुर्‍याएको योगदानबापत नेपाललाई गिफट दिईएको थियो । जुन ठाउमा बेलायतको राजदरबार छ, त्यहीँ छ नेपालको दूताबास ।

गिरीलाई कार्यक्रम छ आउनुपर्छ मात्र भनिएको थियो । सबै थाह थिएन । राजदूताबास पुग्दा सबै जना टाइसुट्मा सजिएका थिए । उनले उत्सुक भएर सोधे, ‘आज के छ विशेष कार्यक्रम ?’

‘तपाईलाई थाहा छैन ?’ एक सहभागीले भने ‘आज वीरेन्द्र सरकारको सवारी छ ।’

राजा वीरेन्द्रसँग फेरि भेट हुने भो भन्ने कुराले गिरी उत्साहित बने । बेलायती प्रहरी आएर जाँचपछि रिसेप्सन हलको ढोकाबाट राजा प्रवेश गरे । ‘५०/६० जना क्रमबद्ध भएर उभिएका थियौं । आफ्नै आँखा अगाडी राजालाई देख्न पाइयो ।’ गिरीले त्यो पल सम्झिदै भने ‘राजा वीरेन्द्रसँग कसरी बोल्ने, के बोल्ने ? मनमा डर थियो । म भन्दाअगाडि बसेकाले बोलेको सुनें । अनि मेरो पालो आयो ।’

राजा वीरेन्द्रसँग दोस्रो भेट

राजदूतले राजा वीरेन्द्रसँग गिरीको परिचय गराउदै भने, ‘उ हाम्रो राजा । पर्यटनको विद्यार्थी हो । उसले नेपालको पर्यटन प्रवद्र्धन गर्न ठूलो प्रोगाम गरेको थियो । कार्यक्रम सफल भयो । सरकारसँग दर्शन भेट गराउँन मैले बोलाएको हो ।’

‘नाम के रे ?’ राजा वीरेन्द्र सोधे ।

‘राजा गिरी ।’

‘नेपाल घर कहाँ हो ?’ फेरि सोधे ।

‘सिन्धुपाल्चोक ।’ गिरीले जवाफ दिए ।

‘म पुगेको छु चौतारासम्म । गौंरती मन्दिरसम्म । सिन्धुपाल्चोकको मानिस बेलायतसम्म कसरी आइपुग्नुभो ?’ राजाले सोधे ।

‘म किसानको छोरा हुँ । बुबा, आमा गाउँमै हुनुहुन्छ । पढाईकै लागि भनेर म युके आएको हो । अहिले पनि काम गर्दै पढिरहेको छु । कामबाटै फि जुटाइरहेको छु ।’ गिरीले जवाफ दिए ।

‘कति वर्षको कोर्ष हो ?’ राजा वीरेन्द्रले गिरीलाई सोधे ।

‘२ वर्ष ।’ गिरीले जवाफ दिए ।

‘पढाई सकेर के गर्ने ?’ फेरि वीरेन्द्रले सोधे ।

‘नेपाल गएर काम गर्ने सोचमा छु सरकार ।’ गिरीले जवाफ दिए ।

‘एम्बेसडर साप उहाँलाई सपोर्ट गर्नुस् । यत्रो दुःख गरिरहनुभएको छ । नेपाली विद्यार्थीहरु पर्यटन पढ्ने त धेरै छैन होला एम्बेसडर साप ।’ राजा वीरेन्द्रले राजदुत बस्नेतलाई भने । ४ मिनेट जति राजा वीरेन्द्रसँग गिरीको कुराकानी भयो ।

त्यसपछि राजा प्राइभेट रुममा छिरे । बाँकी मानिस खानपिनको कार्यक्रम सकेर फर्किए । गिरीको मनमा अनेक किसिमका कुराहरु खेले ।

‘म साधारण परिवारबाट आएको, देशको राजालाई यसरी प्रत्यक्ष भेट्न पाईयो । बेलायतमा यति धेरै नेपालीहरु छन्, सबैले भेट्न पाउदैनन् । अझ मैले केही गर्नुपर्छ भन्ने लाग्यो ।’ त्यो भेटलाई सम्झिदै गिरी नोस्टाल्जिक बने, ‘साधारण कार्यक्रम गर्दा त देशको राजालाई भेट्न पाए भनें अब केही गर्नुपर्छ ।’

डिग्री पढ्ने बेला प्रयोगात्मक कामका लागि पत्रिका निकाल्नैपथ्र्यो । उनले नेपाल विशेष पत्रिका निकाल्ने तयारी गरे । उनले राजदूतसँग कुराकानी गर्दा राम्रो कुरा ग¥यौ । नेपाललाई प्रचार प्रसार गर्न सक्छौं भने । सहयोग स्वरुप पाँच सय पाउन्ड पठाइदिए ।

गिरीको पहलमा पहिलो पटक किङ्डम इन् द हिमालय नेपाल भन्ने पत्रिका निस्कियो । त्रैमासिक पत्रिका । त्यसको एक वर्षपछि १९९९ । अस्टतिर । राजदूत बस्नेतले गिरीलाई फोन गरे । वीरेन्द्र सरकारको सवारी हुँदैछ । पत्रिका बिमोचन गरौं भनेर प्रस्ताव राखे ।

गिरी त्यो कुरा सुनेर उत्साहित बने । फोटोग्राफर, साथी, शिक्षक, प्रिन्सिपल, दाइ जजसले पत्रिका छाप्न सहयोग गरेका थिए । सबैलाई लिएर राजदूताबास गए ।

राजदूत बस्नेतले गिरीको तारिफ गर्दै मञ्चमा बोलाए । राजा वीरेन्द्र सरकारको हातबाट किङ्डम इन् द हिमालय नेपाल पत्रिका बिमोचन गरियो । पछि त्यो पत्रिका बेलायतमा मात्र सिमित भएन । नेपालबाट पनि छापिन थाल्यो ।

वीरेन्द्रले गिरीलाई सोधे, तिम्रो पढाई कहाँ पुग्यो ?

बेसिक पढाइ सकेर ट्राभल एण्ड टुरिजममा इन्टरनेश्नल मार्केटिङमा डिग्री गर्दैछु ।

‘पढाई सकेर यतै बस्नु हुन्छ कि ? के छ सोच ?’ फेरि सोधे ।

‘वीरेन्द्रले राजदूतलाई छेउमा बोलाए । र, भने, ‘अब उहाँको पढाइ सकिन लागेको छ । उहाँ जस्तो मान्छे नेपाललाई चाहिन्छ । नेपाल पर्यटन बोर्डमा उहाँलाई सीईओका रुपमा नेतृत्व दिनु पर्छ ।
‘राजदूतले झुकेर हस् सरकार भन्नुभो ।’ गिरीले सुनाए ।

वीरेन्द्र प्रायः अंग्रेजी बोल्थे । गिरीका बारेमा राजा र राजदूतबिच कुराकानी भयो । त्यो भेटपछि गिरीलाई मनबाटै नेपालमै गएर केही गर्नुपर्छ भन्ने लाग्यो । राजदूतबाट साथ सहयोग छ । पढाई सकाएर नेपालमै पर्यटनमा केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।

वीरेन्द्रसँगको त्यो ऐतिहासिक भेट

बेलायतमै तेस्रो पटक राजा वीरेन्द्रसँग गिरीको भेट भयो । त्यो बेला बाइपास सर्जरी गर्न पूरै परिवारका साथ आउनु भएको थियो । त्यही एक होटेलको सबैभन्दा माथिल्लो तलामा बस्थे ।

‘त्यो बेला वान टु वान् भेट भयो मेरो । एम्बेसडरको सामुन्नेमा । त्यो अन्तिम भेट अति नै महत्वपूर्ण भयो ।’ गिरी भावुक सुनिए ।

त्यो भेटमा पर्यटन प्रवद्र्धनका लागि वीरेन्द्रले केही कुरा राखे । जुन अहिले पनि सान्र्दभिक लाग्छन् । नेपालको पर्यटन प्रवद्र्धनलाई कसरी अघि बढाउने सोच्नु भएको छ ? वीरेन्द्र सोधे । गिरीले आफ्ना कुरा राखे । त्यसपछि वीरेन्द्र तीन वटा बुँदा राखे ।

‘बेलायतकै नागरिकको नामबाट एभरेस्ट राखिएको हो । जसले सगरमाथाको उचाई पत्ता लगाए उनैका नामबाट सगरमाथाभन्दा एभरेस्ट राखियो । बेलायतीहरुलाई यो कुरा भन्नुस् भन्नुभो ।’

पहिलो र दोस्रो विश्य युद्धमा दुस्मनबाट बचाउन हजारौँ नेपालीहरुले आहुती दिएका छन् । प्रत्येक बेलायतीसँग नेपालीको सम्बन्धको मुख्य कडी यही हो । गोर्खालीहरुले बेलायतलाई दिएको योगदान अतुलनिय छ । नेपाल आउन रुची राख्छन् । यो कुराको प्रचार गर्नुहोस् ।

नेपालाई बुद्धको देश हो भनेर ब्याख्या गर्नुहोस् । अहिले नेपाल एयरलाइन्स सिधै लण्डन उडिरहेको छ । हप्ताको २ दिन । अब दैनिक सेवा दिनेतर्फ के कस्तो गर्न सकिन्छ । भूमिका खेल्नुहोस् भन्नुभो । अगाडि बढ्नु होस् ।

बेलायतमा गिरीले बंगालीले चलाएको इन्डियन रेस्टुरा किनेर नेपाली बनाए । एभरेस्ट स्पाईस नाम राखे । जहाँ नेपाली परिकार पाउँथ्यो । नेपाल पैसा पठाउन गाहो थियो । बेलायतमा सम्सारा नेपाल रेमिट्यान्स पठाउने कम्पनी खोले । बैंकबाट पैसा पठाउन सिस्मटम सुरु गरे । अहिले मनकामना रेमिट्का रुपमा सञ्चालिन त छ । झन्डै ७ हजार ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

२२ वर्षअघिको कहाली लाग्दो दिन

गिरी कामबाट फर्केर आउँदै थिए । बीबीसीमा रोयल मासाकर इन् नेपाल, नेपाल किङ सट्, नारायणहिटी प्यालेस अन्डर एट्याक भनेर न्युज देखे । किङ वीरेन्द्र एण्ड हिज् फ्यामिली अन्डर एट्याक भनेर समाचार आयो ।

उनले नेपालमा फोन गर्न खोजे । साथीभाइ, आफन्तलाई कसैलाई फोन लाग्दै लागेन । पूरै रातभर निद्रा लागेन । ‘आफ्नै बुबा बितेको भन्दा बढी पीडा भयो मलाई । मेरो लाइफ सकियो । जे कुरा सोचेको थिएँ, नेपाल फर्केर केही गर्छु भन्ने सोच भताभुंग भए जस्तो लाग्यो । वास्तविक कुरा थाहा पाउन ४, ५ घन्टा लाग्यो त्यो पीडाबाट गुज्रिन वर्षौं लाग्यो ।’ भावुक मुद्रामा उनले सुनाए ।

फर्केर हेर्दा दरबार हत्याकाण्ड भएको थियो र ? जस्तो लाग्छ । वीरेन्द्र जस्ता व्यक्ति पनि राजा थिए र भन्ने लाग्छ । किन पनि गिरीलाई बिशेष लाग्छ भने न त उनको त्यहाँसम्म पहुँच थियो । न त त्यो समयमा सहजै राजाको आवाज सुन्न पाईन्थ्यो । विदेश भ्रमण गर्दा र संसदमा बोल्दा मात्र सुन्न पाईन्थ्यो । राजाको बोली अन्त कहिंकतै सुन्न पाईदैनथ्यो । देख्न पनि पाईंदैनथ्यो । सवारी भईरहेका बेला कतिखेर सरकारको सवारी हुन्छ र देख्न पाईन्छ भन्ने हुन्थ्यो जनतालाई ।

‘धेरै बेर रोकिएर राजालाई परैबाट हेरेर, कुरेर मात्र मानिसहरु बाटो लाग्थे । वीरेन्द्र सरकारप्रति सबैको अत्यन्तै श्रद्धा थियो । सबै नेपालीको प्यारा र लोकप्रिय राजा होईबक्सिन्थ्यो ।’ उनले भने ।

राजा वीरेन्द्रको आफ्नै अन्तर्राष्ट्रिय छवी थियो । आजको दिनमा पनि गिरीले वीरेन्द्रसँगका भेट मिस गरिरहन्छन् । २२ वर्षपछि पनि सम्झना उत्तिकै ताजा छन् । झन् बढी राजालाई मिस गरिरहेका छन् । देशमा जुनै तन्त्र आएपनि स्वर्गिय राजा वीरेन्द्र उनका आइडियल हुन् । वीरेन्द्रको बोली, हिंडाई डे«स अप, प्रस्तुतीले उनलाई एकदमै छोएको छ ।

बेलायतमा जति बसे पनि नेपालमा गएर केही गर्नुपर्छ भन्ने लाग्यो । १५ वर्ष लगतार बेलायत बसेका गिरी स्वदेश फर्किनुपर्छ भन्ने मुडमा पुगे । पछिसम्म दूताबाससँग उनको सम्पर्क भइरह्यो । अन्य समुदायसँग परिचित हुँदै गए । धेरै नेपालीहरुले चिन्न थाले । प्रोगाममा बोलाउन थाले ।

अनि नेपाल फर्किए

नेपालमा शान्ति सम्झौता भयो । शसस्त्र द्वन्द्व सकियो । पहिले आउने इच्छा हुँदाहुँदै पनि वातावरण थिएन । सन् २०१० मा गिरी नेपाल फर्के । पर्यटनमा केही गर्नुपर्छ भन्ने लाग्यो । पत्रीका लगायत ट्राभल एजेन्सी २००७ बाट सञ्चालनमा थियो । पत्रिका, रेमिट्यान्स, ट्राभल एजेन्सीसँगै सुरु गरेँ । लण्डन क्याफे २०१९ कोभिडपछि सुरु गरें ।

गिरीले सुरु गरेको पत्रिका नेपाल र बेलायतबाट लगातार २० वर्ष छापियो । कोभिड अगाडी सम्म छापिन्थ्यो । यस पत्रीकाले नेपालको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन गर्नमा सघायो । यो नै नेपाल बाहिर छापिएको पहिलो पत्रिका हो । बेलायत सरकारले नेपालको प्रचारप्रसार गर्न सघाएकोमा पुरस्कृत गरेको थियो । यही पत्रीका मार्फत नेपाललाई विदेशमा चिनाउन मद्दत ग¥यो ।

गिरी आज पनि आजसम्म पर्यटन क्षेत्रमा लागिरहन राजा वीरेन्द्रकै प्रेरणा छ भन्ने ठान्छन् । उनको उमेर ४८ वर्ष पुग्दा पनि आधा जीवन नेपालको बारेमा बोलेर, प्रचार प्रसार गरेर बित्यो ।

कुनै महत्वपूर्ण चिज झट्ट हातबाट खस्दा जस्तो फिल हुन्छ, गिरीलाई त्यस्तै भयो । ‘सबै बर्बाद भयो कि ? सबै कुरा सिद्धियो कि लाग्यो । सिसा फुटे झैं भयो । बहुमुल्य सामान फुटे झैं भयो ।’ उनले सुनाए ।

राजा जिवितै हुनु भएको भए धेरै कुरा गर्न सकिन्थ्यो । कति कुरामा सहयोग हुन्थ्यो । अहिले गर्न चाहेर पनि गर्न सकिदैन । कुनै पार्टी, संस्थामा लागिएन । स्वतन्त्र रुपमा गरेको छु । अझ धेरै गर्थें होला लाग्छ ।

प्रतिक्रिया