शनिबार, वैशाख २२, २०८१

महाधिवेशनमा राष्ट्रिय युवा संघ

नयाँ नेतृत्व सर्वसम्मत ढंगले छान्न कोशिस गरिरहेका छौं

युवा दशक मनाउँछौँ र युवा दशकमा समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पूरा गछौं

मेरोन्यूज २०७९ चैत २३ गते १२:५६

क्षितिज थेवे पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका हुन् । सानैदेखि पढाइमा अब्बल रहेका उनी स्कुल जीवनदेखि नै राजनीतिमा आकर्षित भए । एमाले निकट अनेरास्ववियु हुँदै पछि युवा राजनीतिमा होमिए । हाल राष्ट्रिय युवा संघ, नेपालका महासचिव रहेका उनी प्रष्ट वक्ता हुन् । युवा शक्तिलाई उद्यम, उत्पादन र प्रविधीमा जोडेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने मत राख्ने उनकै अग्रसरताका युवा संघले रचनात्मक र सिर्जनात्मक कामहरु पनि अगाडि बढाइरहेको छ । राष्ट्रिय युवा संघ, नेपालको चैत २७, २८ र २९ गते हुने नवौ महाधिवेसन, अबको कार्यदिशा, नेपाली युवाका सरोकार र भूमिकालगायतका विषयमा केन्द्रीत रहेर महासचिव थेवेसँग गरिएको संवाद :

Advertisement

राष्ट्रिय युवा संघ, नेपालको नवौं महाधिवेशनपछि कार्यदिशा के हुन्छ ?

चैत २७, २८ र २९ गते नेपालगन्जमा हुने नवौँ राष्ट्रिय महाधिवेशनलाई नयाँ सोचका साथ सम्पन्न गर्दैछौं । नेपाली युवाहरुलाई समृद्ध नेपाल निर्माणका लागि कसरी परिचालन गर्ने भन्ने विषयमा यो सम्मेलन केन्द्रीत हुनेछ । युवा जनसंख्या यो देशको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति हो । युवाहरुलाई सही तरिकाले परिचालन र सदुपयोग गर्न सक्यो भने मात्र देश बन्छ । नेपालमा रहेका १६—४० वर्ष उमेर समूहका १ करोड २४ लाख बढी युवाहरुलाई नयाँ किसिमको विचार दिएर हामी महाधिवेसनबाट अगाडि बढ्ने प्रयास गर्छौँ । अबका युवाको कार्यदिशा भनेको युवा दशक बनाउने कार्यदिशा हुन्छ । हामी युवा दशक मनाउँछौँ र उक्त युवा दशकमा समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पूरा गर्छौँ । त्यसका लागि राष्ट्रिय युवा संघ, नेपालले उन्नत, उच्चस्तर र समृद्धि लक्षित कार्यदिशा तय गर्दैछ ।

तपाईंले युवालाई उद्यम र उत्पादनमा केन्द्रीत गर्ने सोच अगाडि सार्दै आउनुभएको छ । अब युवा सोच र योजनाको केन्द्रविन्दु सामाजिक र आर्थिक विकास हुनुपर्छ भन्ने हो ?

युवाहरुको सोच अब राजनीतिभन्दा पनि सामाजिक विकासको प्रारुपसँगै रहन्छ । युवाहरुको सर्वाङ्गीण विकास राजनीतिसँगै रहन्छ तर राजनीतिसँगै युवाहरुको व्यक्तिगत र आर्थिक विकास गराइएन भने हामीले युवालाई गन्तब्यको सही दिशामा लैजान सक्दैनौं । त्यसैले आर्थिक विकास समेतको सुनिश्चितता गराएर युवाहरुलाई समृद्ध नेपाल निर्माणतर्फ डो¥याउनुपर्छ । राष्ट्रिय युवा संघ, नेपालले त्यो सही दिशामा लैजाने कामको नेतृत्व गर्छ । युवाहरुलाई आत्मनिर्भर, रोजगार, व्यवसायमा केन्द्रीत गर्न, उनीहरुलाई त्यसका लागि उचित अवसर र स्रोत साधन दिन सकिएन भने अहिलेको बदलिँदो परिस्थिती, खर्चालु समाज र महँगीको वातावरणसँग जुध्न गाह्रो हुन्छ । त्यसैले समयसापेक्ष युवाहरुलाई परिवर्तन गर्नैपर्छ ।

हाल वैदेशिक रोजगारका लागि जाने युवाको संख्या बढ्दो छ, यसलाई रोक्नको लागि युवा संघले के गर्नेछ ?

तत्कालै वैदेशिक रोजगारलाई रोक्न सक्ने अवस्था छैन । तर, हामीले सीपयुक्त युवा जनसंख्याको विकास गर्ने हो । युवाहरुलाई सीपयुक्त बनाउनु नै अहिलेको प्राथमिकता हुनेछ । अदक्ष कामदारका रुपमा वैदेशिक रोजगारीमा गएका युवाले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । त्यही कारण युवालाई दक्ष बनाएर उच्च पारिश्रमिक पाउने गरी तयार पार्नु पर्छ । युवाहरुलाई व्यावसायिक र सीपमूलक तालिम दिनु नै हाम्रो उद्धेश्य हुनेछ । दीर्घकालीन रुपमा नेपालमा उद्यम, उत्पादन र रोजगार सिर्जना गरेर सबै युवाहरुलाई स्वदेशमै फर्काउने वातावरण बनाउनुपर्छ ।

स्वदेशमै रहेका युवाहरुलाई कसरी अगाडि बढाउनुपर्छ जस्तो लाग्छ ?

स्वदेशमा पनि स्थानीय उत्पादनमा जोड दिनुपर्नेछ । हाम्रो समाज धेरै वैज्ञानिक छ तर समयसँगै हामीले हाम्रा पुरातन उत्पादन मोडलसँगै औजार तथा प्रविधीलाई अपडेट गराएर आधुनिकीकरण र औद्योगिकीकरण गरेनौँ भने हामी पछि पर्छौँ । हाम्रो समाजका उत्पादनलाई कसरी व्यवसायिक बनाउने र बजारीकरण गर्नेजस्ता कुरालाई केन्द्रीकृत गर्नेछौँ । यी कुराले रोजगारी र आय बढाउँदै निर्यातलाई प्रोत्साहन गर्नेछौँ । त्यस्तै, समूहमा कार्य (टिम वर्क) गर्ने र तालिम दिने कुरालाई जोड दिँदै स-साना कुरा सिकाउँदै लान्छौँ । युवाको लागि कार्य गर्ने राष्ट्रिय युवा संघ, नेपाल एकमात्र संगठन हो र हामीले यो कुरा बुझेर नै कार्य सम्पन्न गर्नेछौँ । युवालाई कसरी उत्पादनसँग जोड्ने र उनीहरुको आत्मबल बढाउने भन्ने कुरा हाम्रो केन्द्रमा छ । व्यवस्थापन अत्ति आवश्यक कुरा हो । तर, यो हाम्रो शिक्षा प्रणालीमा जोडिएको छैन, शिक्षा प्रणालीमा पनि जोड्नुपर्छ । व्यवस्थापन र राजनीति साथमा लैजान सकेमात्रै समाजको सुदृढीकरण गर्न सकिन्छ ।

हाल युवाहरु स्वदेशमै पनि सहर केन्द्रित छन् । युवाहरुलाई गाउँ फर्काउन युवा संघको के नीति छ ?

‘हरियो वन नेपालको धन’ भनिन्छ तर यसलाई व्यवहारमा उतार्न सकिएको मैले आजसम्म देखेको छैन । अहिले पनि जंगलमा ठूलो संख्या काठ कुहिएको अवस्था छ, जडिबुटी र अन्य जंगलजन्य उत्पादनहरुको पनि हामीले सही सदुपयोग गर्न सकिरहेका छैनौं । हामीले गाउँठाउँको जडिबुटी पहिचान गर्ने, त्यसको बजार खोज्ने काम कहिल्यै गरेनौं । माटोको परीक्षण गरेर कस्ता उत्पादन गर्न सकिन्छ त्यहीअनुरुपको खेती गर्ने, सामूहिक खेती प्रणाली विकास गर्ने, फलफूल, अन्न हेरेर बहुमूल्य उत्पादनमा गर्न व्यवसायिक ढंगले लाग्नुपर्छ । कफीको उत्पादन गर्न सक्यौँ भने पनि राम्रो बजार छ । कफी उत्पादनमा मनग्य नाफा कमाउन सकिने अवसर छ किनभने यसमा लागतको तुलनामा फाइदा धेरै छ । तर, अहिले हाम्रा युवाहरुले घाटाको उत्पादन गर्नु परिरहेको छ, यसले नै बसाईँसराई बढाइरहेको छ । त्यसैलाई पहिचान गरेर विश्व बजारको लागि उत्पादन गर्न सक्नुपर्छ । यसका लागि हामीले विशेष योजना लिएर जाँदैछौँ ।

एमालेको युवा संगठनले युवासँग जोडिन डिजिटल प्लेटफर्म टिकटक, युट्युबजस्ता माध्यमबाट प्रतिस्पर्धाहरु पनि गराइरहेको छ । यसलाई कसरी अगाडि बढाउने योजना छ ?

फेसबुक, युट्युब र टिकटकजस्ता डिजिटल प्लेटफर्ममार्फत हामीले युवाहरुलाई रचनात्मक कार्यमा जोडेका छौँ । कोभिड–१९ मा विश्व आइसोलेसनमा थियौं, धेरै युवाहरु आफ्नै थलोमा फर्किए । त्यो अवस्थामा मानसिक तनाव पनि थियो र हामीले त्यो बेला सर्ट मूभी प्रतियोगिता गरेका थियौं । क्यामरा, सिर्जना र सीप भएका युवाहरुलाई तनावमुक्त गर्नका लागि यो प्रतिस्पर्धा गराइएको थियो । यसले अर्कोतर्फ गाउँको विकास, आन्तरिक पर्यटन, सांस्कृतिक विषय तथा आफ्नो ठाउँको प्रवद्र्धनमा टेवा पुर्यायो भने अर्कोतर्फ युवालाई क्रियाशील र रचनात्मक बनाउन पनि भूमिका खेल्यो । यो प्रतियोगितामा आफ्ना गाउँ ठाउँका पर्यटकीय तथा पुरातात्विक क्षेत्रबारे सर्ट मूभी बनाएर पठाउन लगायौँ र त्यसको प्रथमलाई पुरस्कार दिने घोषणा पनि ग¥यौँ । कोभिडमा सबै घरभित्र थन्किएका बेला समयसापेक्ष त्यो विश्वकै नमूना कार्यक्रम थियो भन्ने लाग्छ ।

विस्तारै अवस्था सुध्रिदैँ गयो । हामीले सुसेली कार्यक्रममार्फत सकारात्मक भाव जानेगरी टिकटक प्रतियोगिताको पनि आयोजना ग¥यौं । नेपालमा आईटी सेक्टरमा जुन प्रभाव छ, त्यसलाई हेरेर हामीले काठमाडौँमा आर्टिफिसियल इन्टिलिजेन्स समिटको आयोजना गर्ने योजना बनाइरहेका छौं । जसमा नेपालसहित संसारका विभिन्न देशका आईटी प्रोफेसनललाई बोलाउनेछौँ र बहुपक्षीय छलफल गराउनेछौं । अब आईटी सेक्टरमा नेपाल कसरी जाने भन्ने कुरासहितका छलफल गर्नेछौँ । हामीले समयमै नेतृत्व गर्नुपर्ने अवस्था छ । आईटीको त्यो सम्मेलनले नयाँ ढंगले नेपालको विकासमा टेवा पुर्‍याउनेछ।

युवा संघले अगुवाई गरेको स्टार्टअप फण्डको खास कुरा के हो ?

स्टार्टअप फण्ड हाम्रै अगुवाईमा सुरु भएको कार्यक्रमअन्तर्गत पर्दछ । अर्को सर्टिफिकेटका आधारमा ऋण दिने कार्यक्रम पनि एउटा राम्रो कार्यक्रम थियो । एउटा विद्यार्थीका लागि उसको सर्टिफिकेट नै सम्पत्ति हो । म त्यतिबेला सर्टिफिकेटका आधारमा ऋण दिने कुरा अगाडि बढाउने समितिको संयोजक थिए । तर, ल्याइएको नियमावलीमा मेरो पनि चित्तबुझेन किनकी त्यसबापत पाउने रकम पनि कम थियो र मेकानिज्मले नै गिजोलेर तनाव दिने स्थिती सिर्जना हुने किसिमको थियो । जो कोहीले सर्टिफिकेटका आधारमा ऋण लिने अवस्था नै भएन । किनभने, यो त्यति झन्झटिलो बनाइयो । युवा परिषद्बाट म संयोजकका रुपमा रहँदा एउटा निवेदन, सर्टिफिकेट र नेपाली भएको प्रमाणपत्रका आधारमा २०० जनालाई ऋण दिएका थियौं । तर, हाल त्यो कार्यक्रम सञ्चालनमा छैन । यो विषयमा हामीले आवाज उठाउनुपर्नेछ ।

हाल युवाहरु विभिनन क्षेत्रको उद्यमतर्फ आकर्षित छन्, उनीहरुलाई त्यसका लागि स-साना कुराहरु सिकाउँदै राज्यले नै जिम्मेवारी बहन गर्नुपर्ने माग हामीले राख्यौँ । धेरै लामो समयको बहसपछि हामीले स्टार्टअप फण्डको सुरुवात ग¥यौँ । तर, त्यसलाई हामीले राम्रो कार्यक्रमका रुपमा अगाडि बढाउन सकेनौँ किनकी योजना आयोगबाट नै भिन्न किसिमको प्रस्ताव आयो । अब स्टार्टअप फण्डलाई पालिकासँग जोडेर लानुपर्छ । यो देशका आर्थिक नीति समावेशितामूलक बनाउन जरुरी छ । हाम्रो राजनीति समावेशी भएको छ तर आर्थिक नीति समावेशी छैन । यदि ५७ खर्ब रुपैयाँ छ भने त्यसको ९० प्रतिशत व्यापारिक घरानाले चलाउँछन्, बाँकी उद्यमीहरुले १० प्रतिशतमा थन्किनुपर्ने अवस्था छ । जुन पटक्कै समावेशी होइन । कुल अर्थतन्त्रको २० प्रतिशत युवाहरुको हातमा दिनुपर्छ र बाँकी सबै नेपालीहरुमा इन्भेष्ट हुनुपर्छ । व्यापारिक घरानाले मात्र गरेर हामी समृद्ध हुन सक्दैनौँ ।

राजनीति गर्ने युवाहरुमा पनि काम नगर्ने, नेताहरुकै अघिपछि लागेकै भरमा कुनै पद हत्याउने प्रवृत्ति बढेको छ नि ?

मैले एसएलसीमा निकै उत्कृष्ट अंक ल्याए, प्लस टुमा पनि अब्बल व्यक्ति हुँ । मसँग अन्य धेरै अवसरहरु थिए तर मैले राष्ट्रमै सुशासन कायम गरेर, राष्ट्रको हित गर्नुपर्छ सोचेर आफ्नो बाँकी जीवन सामाजिक परिवर्तनमा लगाउने सोचका साथ राजनीतिमा आए । हामी यहाँ अवसर त्यागेर आउने थोरै छौं । तर, पछिल्लो समय राजनीतिलाई खोल बनाएर यसलाई नै अवसरको रुपमा लिएर उसमा संलग्न हुनेहरु पनि उत्तिकै छन् । जनताले सबैलाई एउटै डालोमा हालेर हेर्नेभन्दा पनि राम्रा, नैतिकवान, पढेलेखेका, इमानदार, क्षमतावान व्यक्तिहरु पनि छन् भनेर हेर्नुपर्छ ।

देशमा राजनीतिमा संलग्न सबै युवाहरु नपढेका कामै नलाग्ने हुन् भन्ने हुँदैन । धेरै राजनीतिमा लागेका युवा पढेलेखेका, क्षमतावान, सिर्जनशील र अब्बल पनि छन् । युवाहरुलाई परिवर्तन गर्ने संगठन राष्ट्रिय युवा संघ, नेपाल हो । हामी युवाहरुलाई काउन्सिलिङ गर्दै आम नेपाली युवाहरुमा सकारात्मक परिवर्तन ल्याउँछौँ, सही बाटो निर्धारण गरी गन्तब्यमा पुर्‍याउँछौं।

नेपालगञ्जमा महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने सम्भावना कति छ ?

अहिले हाम्रो पार्टी एमालेमा कुनै गुट, उपगुट छैन । हामी एक ढिक्का भएर अगाडि बढेको छौं । राष्ट्रिय युवा संघ, नेपालमा पनि कुनै किसिमको गुट, उपगुट छैन । हामीले पार्टीको चितवन महाधिवेशनबाट सांगठनिक अराजकताको अन्त्य गर्ने भनेका छौं । कहिलेकाही संगठनमा केही अराजक प्रवृत्ति देखिन्छन् । तर, संगठन शुद्धता र निर्माणका लागि लागिपरेका छौं । युवा संघको नयाँ नेतृत्व पार्टी इन्चार्जसँगको समन्वय, पार्टीको मोर्चा फाँट प्रमुख, पार्टी अध्यक्षसम्म छलफल गरेर नै तय हुन्छ । त्यो नेतृत्व सर्वसम्मत गरेर नै हामी अघि बढ्छौँ । त्यसो गर्दा कोही व्यक्तिको इच्छा, आकांक्षा प्रतिस्पर्धा नै गर्ने भएपनि हामी खुला लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छान्छौं ।

हाम्रा कार्यकर्ताहरुलाई सीपयुक्त र राम्रो बनाएको छौँ । त्यसैले महाधिवेसनबाट उनीहरुले अब्बल, उत्कृष्ट र नयाँ युगको युवा शक्तिलाई हाँक्न सक्ने नेतृत्व छान्नेछन् । यसै कारणले पनि १ करोड बढी युवाहरुको नेतृत्व गर्न सक्ने नेपालको उत्कृष्ट युवा संगठनमा हामी पर्दछौँ । आत्मबल, स्पष्ट भिजनका साथ हामी नेतृत्वका लागि तयार छौं ।

प्रतिक्रिया