शनिबार, वैशाख २२, २०८१

काठमाडौं विश्वविद्यालयले औषधी उद्योगको उर्जा खपत न्यूनीकरण गर्न अनुसन्धान सुरु गर्‍यो

मेरोन्यूज २०७९ चैत ९ गते १३:००

काठमाडौं । नेपालको औषधी उद्योगको उर्जा खपत प्राकृतिक विधिबाट न्यूनीकरण गर्न काठमाडौं विश्वविद्यालयले अनुसन्धान सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा त्यस्तो अनुसन्धान सुरु गरेको हो ।

Advertisement

उक्त अनुसन्धान विश्वविद्यालयका फार्मेसी डिपार्टमेन्टका सह- प्राध्यापक डा राजन श्रेष्ठको प्रमुख अनुसन्धानमा आधारित रहेर सुरु गरिएको हो । उक्त अनुसन्धानका लागि सह- प्राध्यापक डा अश्विनी कुमार श्रेष्ठ, उपप्राध्यापक अनुप लुईटेल र लेक्चर ललितमोहन पन्तले साथ दिईरहेका छन् ।

त्यस्तै, अनुसन्धानको सल्लाहकारका रुपमा प्रा डा विवेक बरालले साथ दिएका छन् ।

नेपालको औषधी उधोगमा हाल करिव १० मेघावाट विधुत खपत हुँदै आएको छ । त्यसमध्ये ८ मेघावाट विद्युत नेपाल विद्युत प्राधिकरण र २ मेघावाट विद्युत थर्मल उर्जाबाट पूर्ति हुँदैं आईरहेको छ ।

१० मेघावाटको पनि ६५ प्रतिशत उर्जा औषधी उधोगमा प्रयोग हुने एचभिएसी प्रविधिले खपत गर्ने गरेको छ। औषधी उधोगको उत्पादन आचारसंहिताले निर्धारण गरे वमोजिम एचभिएसी प्रविधिले हावाको तापक्रम मिलाउने, हावालाई सुद्दिकरण आद्रता नियन्त्रण र चाप मिलाउने कार्य गर्छ ।

त्यसका लागि प्राकृतिक विधिबाट यस क्षेत्रमा खपत हुने उर्जा न्यूनीकरणका लागि विश्वविद्यालयले अनुसन्धान सुरु गर्न लागेको हो । जमिनको सतहभन्दा करिव ३ देखि ४ मिटर तल सधैजसो एकै खालको तापक्रम रहने र जमिनमुनि विभिन्न पाइपको सप्लाई गरेर एचभिएसी प्रविधिमार्फत हावाको तापक्रम मिलाउने, हावालाई सुद्धिकरण आद्रता नियन्त्रण र चाप मिलाउने उदेश्यले यो अनुसन्धान सुरु गर्न लागिएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक अनुप लुईटेलले मेरोन्यूजलाई जानकारी दिए ।

जमिनमुनिको तापक्रम गर्मी महिनामा २० डिग्री सेल्सियस पुग्ने र करिव २५ डिग्री सेल्सियसको तापक्रम चाहिने भएकोले थप ५ डिग्री तापक्रमका लागि मात्र उर्जा खपत गरे पुग्ने, जाडो महिनामा पनि बायुको तापक्रम हुने भएकोले उर्जा खपत न्यूनीकरण गर्न सकिने अनुसन्धानमा संग्लन्न उपप्राध्यापक अनुप लुईटेलले जानकारी दिए ।

विश्वविद्यालयले सुरु गर्न लागेको यो अनुसन्धानका क्रममा नेपालभरीको औषधी उद्योगको सम्पूर्ण डाटा तयार गर्ने, त्यसको अवस्था, वास्तुस्थिती अध्ययन गरी उक्त आधारमा एचभिएसी सिष्टमबाट तापक्रम मिलाउने काममा सहयोगी हुने विश्वास अनुसन्धान टोलीले लिएको छ ।

अनुसन्धानबाट निस्कने परिणामपछि उधोग सस्था, विभिन्न् ब्यवसायिक भबन , अस्पताल, सुपरमार्केटमा उर्जा जोगाउन प्राकृतिक प्रविधि उपयोग गरेर उर्जा बचत गर्न सकिने अनुसन्धान टोलीले विश्वास लिएको छ ।

‘यो विधिबाट उर्जा खपत रोक्न कोशेढुंगा सावित हुने हामीले विश्वास लिएका छौं,’ अनुसन्धान टोलीका सदस्य तथा विश्वविद्यालयका उपप्राधपक अनुप लुईटेलले बताए ।

प्रतिक्रिया