मंगलबार, चैत ६, २०८०

अब जनताको आवाज हातले त के, बन्दुकले पनि थुन्‍न सक्दैन : लिङ्देन

मेरोन्यूज २०७९ चैत ८ गते ८:३०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अब जनताको मुख बन्दुकले पनि थुन्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकल दाहाललाई मेन्सन गर्दै सार्वजनिक कार्यक्रममा प्रहरीलाई जनताको मुख थुन्न लगाएर जनताका आवाजहरू नथुन्निने बताएका हुन् ।

उनले जनताको मुख थुन्न चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न प्रधानमन्त्री दाहाललाई सुझाएका छन् । यी काम गर्न सम्भव भएको पनि अध्यक्ष लिङ्देनको भनाइ छ ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस,युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस्,’ अध्यक्ष लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘जो सम्भव छ। अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ।’

मंगलबार प्रधानमन्त्री दाहाल सहभागी नयाँ वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई केन्द्रित गरेर अध्यक्ष लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो ।

Advertisement

प्रतिक्रिया