शुक्रबार, वैशाख १४, २०८१

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आठ मार्च र महिला अधिकार

उषा थापा खड्का २०७९ फागुन २४ गते ६:१५

विश्व एक्काइसौं शताव्दीमा पुगे पनि पितृसत्तात्मक हाम्रो समाजमा भने महिलाप्रति गरिने भेदभाव र त्यसबाट उत्पन्न समस्या गम्भीर चिन्ताको विषय हो । हाम्रो समाजमा चेतनाको अभाव छ । जबकी राष्ट्रको उत्थानका लागि महिलाको योगदान पुरुषको भन्दा कम देखिँदैन । नेपोलियन बोनापार्टले भनेका पनि छन्, ‘एउटी असल आमाबाटै असल राष्ट्र निर्मित हुन्छ ।’ यो भनाइ कति सान्दर्भिक छ । महिला परिवारको सृष्टिकर्ता मात्र नभएर पालनकर्ता पनि हुन् । पृथ्वीमा मानवको उत्पति भएदेखि नै नर र नारीको उत्पत्ति भएको कुरा इतिहासले प्रमाणित गरिसकेको छ । महिला पुरुष एक सिक्काको दुई भाग हुन् । कुनै रथ चल्नका लागि जसरी दुई पांग्राको आवश्यकता पर्छ, त्यसरी नै समाज चल्नका लागि महिला र पुरुषको सहयोग अपरिहार्य छ ।

उषा थापा खड्का

महिला दिवस ग्रामीण महिलाको आँखामा छारो हाल्ने काम मात्र भएको छ । महिलाको हकहित गर्ने भनी खोलिएका थुप्रै गैरसरकारी संघ, संस्था मूकदर्शक भएर बसेका छन् । सन् १९१० मार्च ८ तारिखका दिन महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनैतिक अधिकार पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाएको सन्दर्भमा सोही दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो । संसारका धेरैजसो देशमा महिला र पुरुषको संख्या बराबर भए पनि महिलाप्रति असमान व्यवहार भएको र प्रत्येक क्षेत्रमा महिलापछि परेको हुनाले आजभन्दा १ सय १० वर्षअघि चीन, ब्राजिल, डोमिनिकन गणतन्त्र र संयुक्त राज्य अमेरिकाका केही महिलाले सर्वप्रथम संगठित भएर महिलामाथि भएको व्यवहारप्रति चिन्तन गरेका थिए ।

हाम्रो बेद, धर्म ग्रन्थ र विभिन्न विद्धानले नारीहरूको उथ्थानमा जोड दिएको पाइन्छ । त्यसैगरी, हिन्दू संस्कृतिमा पनि ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर रमाउँछन् भनी नारीवर्गलाई उच्चस्थानमा राखिएको छ । यसै परिप्रेक्ष्यमा विकासको अग्रणी भूमिका निर्वाह गरी महिला तथा पुरुषको समान योगदान हुनुपर्ने कुरा महसुस गरिएको छ । नेपाल प्रकृतिको खानी हो । हिमाल, पहाड, तराई, ताल, तलैया, झर्ना, सगरमाथालगायतका विश्वलाई आकर्षण गर्न सक्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण छ यो देश ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिपूर्ण छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहीँ छ । सीता, भृकुटीजस्ता वीरंगनाको ख्याति यही छ । तथापि, उल्लिखित विषयवस्तुको स्तुति गाउने र गौरवको अनुभूति गर्नेबाहेक यी क्षेत्रलाई विश्वसामु चिनाएर विदेशी पर्यटक ल्याउने कुनै पनि दूरदर्शी गुरुयोजना बन्न सकेन । राज्यले पर्यटन स्थलको विशिष्टीकरण गरी पर्यटक गन्तव्य स्थल टुंगो लगाउन सकेन । आजको विज्ञान र प्रविधिको युगमा पनि विज्ञापनको आन्तरिक र बाह्य पर्यटक बढाउन श्रव्य, दृश्य सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न सकेन । दूरदर्शी नेतृत्वको अभावमा डलर कमाउन सकिने सुनको टुक्राजस्तो देशका नागरिक विदेशीको मुख ताक्ने अवस्थामा रहनुपरेको छ ।

विशेषतः पितृसत्तात्मक समाजले थोपरेका उत्पीडनका पहाडहरू भत्काउन महिला सफल भए । घरमा दाइजो नल्याएको, छोरा नपाएको, खाना नमिठो बनाएको अथवा महाराज र हुनेखाने पूँजीपति वर्गले दुई चारवटी विवाह गर्ने, सौता माथि सौता थप्दै जाने, महिला केवल सन्तान उत्पादनका फ्याक्ट्री वा कामवासनाको तिर्खा पूरा गर्ने साधनको रूपमा बुझ्ने अभ्यासविरुद्ध त युद्धले धावा नै बोल्यो । माओवादी जनयुद्धको समयमा बहुविवाह गर्नेलाई भाटे कारबाही, घरेलु हिंसा गर्नेलाई कारबाही भए । महिलामा चेतनाको स्तर उकास्न प्रशिक्षण चले । उनीहरू पनि फौजीकृत हुन थाले । हिजो चुलोचौकोमा अल्मलिएका महिला अब लडाईंका मोर्चा सम्हाल्न थाले । यसबीचमा राज्यपक्षको अमानवीय यातना र बलात्कारका घटनाबाट पनि कैयौं महिला गुज्रनुपर्‍यो ।


नेपाली समाजमा महिला चुलो-चौको र घरधन्दाको चौघेरामा बन्द थिए । यसबाट बाहिर जानु वर्जित जस्तै थियो । यस्तो पितृसत्तात्मक संरचना र संस्कारमा महिलाले बन्दुक उचाले । ‘महिलाले बन्दुक चलाउँदा बांगो जान्छ’ भन्ने उक्तिलाई चुनौती दिंदै हजारौ महिला दिदीबहिनी चुलो(चौको सम्हाल्दै संग्रामको मैदानमा परेड खेल्न थाले । सही निशाना साधेपछि महिलाले चलाएको बन्दुक पनि सिधा लाग्दोरहेछ भन्ने प्रमाणित गरिछाडे । २१औँ शताब्दीको क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने क्षमता नेपाली महिलाहरुमा छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख पदमा महिला पुग्नुमा जनयुद्धको देन हो ।


समाजको व्याख्या मात्रै गर्ने होइन, यसको रूपान्तरणलाई प्रधान मान्ने मार्क्सवादी सौन्दर्यको चुरो पक्रेर महिलाका तमाम उत्पीडनका साङ्ला चुँडाल्ने क्रान्तिकारी अगुवाइ हिजोदेखि आजसम्म मार्क्सवादी धारले नै गरेको देखिन्छ । तर, विश्वका अन्य देश र नेपालकै सन्दर्भमा पनि महिलाको संघर्ष र योगदानको दाँजोमा उपलब्धि न्यून छ। विश्वव्यापी रूपमा कायम रहेको अग्रगमनकारी र क्रान्तिकारी भनिएको मार्क्सवादी शक्ति पनि महिला मुक्तिको कतिपय सवालमा संकीर्ण नै छ।

नेपालमा त्यस्ता थुप्रै गाँउबस्ती छन् जहाँ बालबालिका र महिलाको दैनिक जीवन दाउरा घाँस काट्ने, स्याउला बोक्ने, गाई भैंसी चराउने योभन्दा बाहिरी धारमा आउन सकेका छैनन् । त्यहाँ स्कुल, शिक्षा, कुन चराको नाम भनेर भनिदिने कसले ? एक ग्रागी पानी लिन चार घण्टा हिड्नुपर्ने त्यस्तो दुर्भाग्यपूर्ण जीवन बाँचिरहेका ग्रामीणबासी पनि नेपालकै एक परिवेश हो । त्यस्ता ठाउँहरूमा न सरकार पुग्छ, न त एनजीओ, आईएनजीओ नै पुग्छ । महिला दिवसको नाममा ठूलाठूला व्यक्तिले ठूलाठूला पाँचतारे होटलमा गएर तीन चार लाइन बोलेका भाषणले मात्र महिला समस्या समाधान हुँदैन । यसका लागि त महिला चेतनाको विकास जरुरी छ । जनताको अधिकार जनतामा निहित हुनुपर्दछ । देशमा जात, धर्म, लिंग, वर्ण, वर्गका आधारमा कोही ठूलो वा सानो हुनुहुँदैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत अधिकारहरू राज्यले सबैलाई प्रदान गर्नुपर्छ ।

नेपालको संविधान २०७२ को धारा ३८ मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनेर प्रष्ट रुपमा लेखिएको छ। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र संविधानको गरिमा राख्न पनि संविधान र कानुनले अपेक्षा गरेको महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ।

(उषा अखिल भारत नेपाली एकता मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन्)

प्रतिक्रिया