बिहीबार, वैशाख २०, २०८१

प्रवासी नेपालीको सारथी- प्रेस सेन्टर नेपाल

मेरोन्यूज २०७९ फागुन ८ गते १३:५९

अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ । नेपालको संविधानले परिकल्पना गरेअनुरूपको शासनव्यवस्था सञ्चालन भइरहेको छ । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । मुलुकमा प्रेस स्वतन्त्रता छ । पत्रकारिता राज्यको चौथो महत्त्वपूर्ण अङ्ग हो । मिडियालाई समाजको ऐना भनिन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दी बिनाको प्रहरीको रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन गलत पात्र र प्रवृत्ति विरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ ।

समाज भनेको निश्चित क्षेत्रभित्र निश्चित मूल्य मान्यतासहित बनेको मानव सम्बन्धको जालो हो । मानिस सामाजिक र चेतनशील प्राणी भएकाले सधैँ नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । मानिसको यही उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । नेपालको पटक-पटकको राजनीतिक परिवर्तनले नेपाली जनताका थुप्रै मौलिक हकको व्यवस्था गरेको छ । तर संविधान र अन्य ऐन कानुनमा भएका मौलिक हक कागजमा सीमित छन् । खाना, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत आधारभूत मौलिक हकको सुनिश्चितताले मात्र नागरिकको जीवनस्तरमा सुधार आउँछ ।

आरबी खड्का

अहिले लाखौँ नेपाली युवा विदेशमा छन् । गरिब र विकासशील देशहरूमा औद्योगिक विकासका साथै आर्थिक क्रियाकलापमा उल्लेखनीय सुधार हुन नसक्नुमा रोजगारको खोजीमा अन्यत्र जाने परम्परा हो । नेपालको सन्दर्भमा विदेश जाने चलन जहिलेदेखि सुरु भए पनि यो रहरभन्दा पनि बाध्यता थियो । प्रायः ग्रामीण क्षेत्रका युवालाई गोरखा भर्तीकेन्द्रले भर्ना गर्न थालेपछि युवा बाहिर जाने क्रम बढेको देखिन्छ । खासगरी सन् १८१६ को सुगौली सन्धिपछि तीन हजार नेपाली युवा भर्ती भएका थिए ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिपछि नेपाली युवा ठूलो संख्यामा रोजगारीका लागि भारत प्रवेश गर्न थाले । कुनै पनि देशको आर्थिक विकासका लागि युवा जनसंख्या महत्वपूर्ण मानिन्छ । युवाहरूका लागि कृषिमा धेरै रोजगारी सिर्जना गर्न सकिने अवस्था छ । कृषिको प्रवद्र्धनसँगै औद्योगिक विकासमा देश लाग्नुपर्छ । देशकै स्रोत–साधनको सही परिचालन र व्यवस्थापन गर्न नजान्नुको परिणाम भोग्दै छौँ हामी । संविधानमार्फत जनताका सांस्कृतिक, भाषिक, सामाजिक, आर्थिक लगायत अधिकार स्थापित भएका छन् । अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछि लाखौ प्रवासी नेपालीका निम्ति केही गर्न सकिन्छ भन्ने अपेक्षा लिइएको छ ।

अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिई बाँच्नु परेको छ । यो देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा वरै सीमित गरिदिन्छन् । आफ्नै रगत–पसिनामा टिकेको यो देशको नवीन परिकल्पना गर्ने केन्द्रमा तिनले आफूलाई कल्पना पनि गर्दैनन् ।

अहिलेको नेपालको शिक्षा चरित्रवान, गुणवान र ज्ञानवान नागरिक उत्पादन गर्नभन्दा विदेशका लागि श्रमिक उत्पादन गर्ने कारखाना भइरहेको छ । देश विकासको मेरुदण्ड शिक्षा हो । गुणस्तरीय र व्यावहारिक शिक्षाले व्यक्तिलाई सक्षम नागरिक बनाउनुको साथै रोजगारीका लागि अवसर सिर्जना गर्दछ । देश निर्माणमा योगदान गर्ने जनशक्ति शिक्षाबाट उत्पादन हुन्छ । आज नेपाली शिक्षाको गुणस्तर र व्यावहारिकतामा प्रश्न उठेको छ । त्यति मात्र होइन व्यक्तिलाई नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ बनाउने काम पनि शिक्षाले गर्दछ ।

प्रेस सेन्टर नेपाल, नेपाली जनताको बीचबाट, नेपाली जनताको मुक्तियुद्धको मैदानबाट निर्माण भएको नेत्तृत्व सङ्गठन हो । हामी मानव जातिको मुक्तिका लागि बाँचे सिङ्गो संसार जित्ने र मरे सहिद हुने सपना देख्दै सर्वहारावर्गको मुक्तिको लागी जनताको घर आंगन थियौ । जन समुदायलाई अधिकार सम्पन्न गराउने सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था प्राप्तीमा प्रेस सेन्टर नेपालको सबै अग्रज नेतृत्वको योगदान अतुलनीय छ ।

गणतान्त्रिक आन्दोलनका वीर शहीद ,महान पत्रकार–शहीद क। कृष्ण सेन ‘इच्छुक’ र अरु थुप्रै योद्धाहरुको योगदानलाई सम्झिरहने छौं । मूलतः यसकारण आदरणीय अग्रज नेतृत्वलाई म सदा सम्मानका साथ लाल सलाम गरिरहन्छु । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो ।पत्रकारिताको पेशागत सम्मान, मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ ।

पत्रकारहरुको सङ्गठन प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालय काठमाण्डुमा आदरणीय नेतृत्व केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ,उपाध्यक्ष सूर्य किरण शर्मा , महासचिब सन्तोष पौडेल सँग मेरो समासमिक बिषयमा छलफल सकारात्मक भएको थियो । सबै अग्रज टीम सहितको कुसल नेतृत्वको कार्यालय ब्यवस्थापन ,सङ्गठन निर्माणप्रतिको अथक मेहनत , काम कारवाही ,उत्सुकता, कौतुहलता ,सन्तुलन ,विश्वसनीयता, शिष्टाचार , हार्दिकता न्यानो स्वागत प्रति उच्च सम्मान गर्दछु ।

नेपाली समाजको यथार्थता बुझेर समाजका विभिन्न पक्ष र आम नेपालीको जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने नेतृत्व छनोट गर्नु नै देश र जनताको हितमा मत जाहेर गर्नु हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ । अर्कोतिर वैदेशिक रोजगारीसँगै परिवार विखण्डनका घटना बढ्दै गएका छन् । सम्बन्धविच्छेदका कारण बालबालिकाको उचित हेरचाह नहुनु, काममा युवाको अभाव, ग्रामीण कृषिमा समस्या बढ्दै जानु आदि समस्या पनि बढेका छन् । तसर्थ लामो समयदेखि अर्थतन्त्रमा देखिएको यो संरचनागत संकटको अन्त्य गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै खाले समाधानहरू तत्काल खोज्नुपर्ने देखिन्छ ।

विदेशबाट आउने रेमिट्यान्सको हिस्सा निकै ठूलो छ। रेमिट्यान्सको असर नेपाली अर्थतन्त्रको समग्र पक्षमा देख्न सकिन्छ । यसले नेपाली समाजको दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, आवास, रोजगारी आदिमा विपन्न, पिछडिएका र बहिष्कृत वर्ग र समुदायमा सकारात्मक भूमिका र प्रभाव खेल्दै आएको छ । भारत ,खाडी मुलुकमा रोजगारीका लागि जाने अधिकांश नेपाली तल्लो वर्गका परिवारका छन् । उनीहरुले पठाउने रेमिट्यान्सले ती परिवारमा सकारात्मक प्रभाव पार्नु पर्छ । सरकारले बिदेशबाट श्रम, सीप सिकेर फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्ने नीति अख्तियार गर्नु जरुरी छ । यसरी कृषि प्रणालीलाई नयाँ तवरले सोच्यौ भने हामीले लिएको लक्ष्य पूरा गर्न सक्छौं । कृषिमा देशलाई आत्मनिर्भर गराइ कुल गाह्रस्थ उत्पादनमा वृद्धि गरी अर्थतन्त्र सबल बनाउन सक्छौं । यसको लागि सबैको सकारात्मक सोच अनि उच्च मनोवलको आवश्यकता पर्दछ ।

(खड्का प्रेस सेन्टर नेपालका प्रवास कमिटिका इन्चार्ज हुन् )

प्रतिक्रिया