शुक्रबार, वैशाख २१, २०८१

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

मेरोन्यूज २०७९ माघ २० गते १४:३०

सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।

Advertisement

कार्यक्रममा प्रधानमन्त्रीले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ। म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”

प्रधानमन्त्री प्रचण्डले अगाडी भने, “विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।”

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर आफुलाई मिल्दै आएको र जनताको दुख सुखमा आफु पनि सँगै रहेको प्रधानमन्त्रीको भनाई थियो । “जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु। म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछु,’ प्रधानमन्त्रीले भने ।

“नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ। मैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु। मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु” प्रधानमन्त्रीले भने, “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।”

प्रधानमन्त्रीले भने, “प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखियो। प्रतिनिधिसभाबाट मलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भयो। त्यो मेरा लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि हो। विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीहरूको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौं। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ।”

शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने विश्वास प्रधानमन्त्रीको थियो । समतामूलक समाज निर्माणको आधार शिक्षा भएको भन्दै प्रधानमन्त्रीले भने, “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो।”

भौतिक पूर्वाधार महत्वपूर्ण कुरा रहेको र मुख्य कुरा गुणस्तर रहेको पनि प्रधानमन्त्रीको भनाई थियो । ‘गुणस्तरका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी हुन्छ। त्यसका लागि म तपाईहरू सबैमा विशेष अपील गर्दछु” प्रधानमन्त्रीले भने ।


कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया