शुक्रबार, वैशाख २१, २०८१

कुनै दल दर्ता खारेजी माग गर्ने अधिकार अर्को व्यक्तिलाई हुन्‍न : निर्वाचन आयोग

मेरोन्यूज २०७९ माघ २० गते १४:१०

काठमाडौं । निर्वाचन आयोगले कुनै एउटा दलको खारेजी माग गर्ने अधिकार अर्को वयक्तिलाई नहुने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनबारे त्यस्तो बताएका हुन् । यद्दपी त्यो निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने उनले बताए ।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको प्रमुख आयुक्त थपलियाले बताए ।

उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’

आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने थपलियाले बताए ।

उनले विगतमा ४१ वटा दल खारेज गरेको बताए । क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने उनको भनाइ थियो ।

प्रतिक्रिया