शनिबार, वैशाख २२, २०८१

आजाद ‘पत्नी’ गोमालाई बनाउला एमालेले राष्ट्रपति उम्मेदवार ?

रामकृष्ण अधिकारी २०७९ पुष १९ गते १९:०४

सत्ता गठबन्धन दलमा प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोजेपछि राष्ट्रपति गठबन्धनको ठूलो दल एमालेले लिँदैछ । एमालेबाट राष्ट्रपति को ?

Advertisement

धेरैजसोले संविधानसभाका अध्यक्ष समेत भईसकेका सुवास नेम्वाङको चर्चा गर्छन् । कतिपयले यसपटक निर्वाचन नै नलडेकी अष्ट्रलक्ष्मी शाक्य सम्मको चर्चा गरेका छन् । युवराज ज्ञवालीको नाम पनि यदाकदा केही एमाले नेताहरुले लिएका छन् ।

प्रतिनिधिसभामा चुनाव उठेर पनि पराजित भएका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि राष्ट्रपतिको लविङमा देखिन्छन् । तर एमालेमा राष्ट्रपति, सभामुख लगायतका पदमा अध्यक्ष केपी ओलीले जसलाई अगाडी सार्छन्, उही पात्र नै एमालेको सर्वसम्मत उम्मेदवार हुन्छन् ।

ओलीले यस बारेमा केही बोलेका छैनन । तर उनले अहिले चर्चामा रहेका नेताहरु भन्दा भिन्न चर्चा नै नरहेको पात्र राष्ट्रपति उम्मेदवारका रुपमा अगाडी सार्न सक्ने सम्भावना बलियो रहेको एमालेका एक पदाधिकारीले मेरोन्यूजसँग बताए ।

राष्ट्रपति सेरोमोनिलय पद मात्रै होइन, यो सम्वैधानिक पद पनि हो । विगतमा ओलीको दुई दुई पटकको संसद विघटन देखि नागरिकता विधेयकसम्म अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाका कारण राष्ट्रपति सेरोमोनियल पद मात्रै हो भन्न् सकिदैन । जसकाकारण पनि ओली आफना अति विश्वासिलो र वफादार पात्रलाई राष्ट्रपतिका रुपमा अगाडी सार्न चाहान्छन् ।

अहिले चर्चामा रहेका नेताहरु पनि ओलीसँग निकट नै छन् । उनीहरुबाटै ओलीले राष्ट्रपतिका उम्मेदवार चयन गर्लान् ? एमालेका ती नेताले भने, –‘अहिले चर्चामा रहेका नेम्वाङ, पोखरेल ओलीकै विश्वासपात्र नेता हुन् । अष्टलक्ष्मी र युवराज ज्ञवालीले पनि पछिल्लो समय ओलीसँग सम्वन्ध सधारेकै देखिन्छन्, तर उहाँहरु भन्दा बाहिरबाट ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना अधिक छ ।’

वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ मा सकिदैछ । अहिलेका राष्ट्रपतिलाई फेरि राष्ट्रपति बन्न संविधानले नै रोक्नेछ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन नियमावली २०७४ अनुसार राष्ट्रपतिको कार्याकाल सकिनु एक महिना अगाडी नै चुनाव गराईसक्नुपर्ने कानुनी ब्यवस्था छ । त्यसो हुँदा माघ २८ सम्म नयाँ राष्ट्रपतिको चुनाव गराईसक्नुपर्ने छ । अबको ३९ दिनभित्रै देशले नयाँ राष्ट्रपति पाउने हुँदा आगामी ५ वर्षका लागि राष्ट्रपति को बन्लान् भन्ने चासो राजनीतिक वृत्तमा वढी नै छ ।

अहिले चर्चामा रहेका नामको विकल्पमा माओवादी छोडेर एमाले बनेका र एमालेका अहिलेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल)को नाम पनि यदाकदा नेताहरुका वीचमा उठने गरेको छ । बादल चुनावमा नउठेको, जनजाति पृष्ठभूमिका उपल्लो स्तरका नेता समेत रहेको र ओलीको अप्ठ्यारोमा बरु माओवादी पार्टी र लामो सहकार्य गरेका प्रचण्डसँगको साइनो सम्वन्ध नै तोडेर भएपनि ओलीलाई साथ दिएको नेता भएकाले ओलीले उनलाई नै कतै राष्ट्रपतिका रुपमा अगाडी सादै त छैनन ? प्रश्न एमालेवृत्तमा यो पनि उठेको छ ।

तर एमालेका पदाधिकारी समेत रहेका नेताले यसपटक ओलीले राष्ट्रपतिमा गोमा देवकोटालाई अगाडी सार्नसक्ने वताए । ‘अध्यक्ष ओलीसँग अनेक विकल्प छन्, ति विकल्पमध्येवाट अन्तिममा गोमा देवकोटालाई उहाँले राष्ट्रपतिका रुपमा अगाडी सार्न सक्नुहुन्छ, यो वलिायो सम्भावना छ,’ ती नेताले भने, –‘ओलीले राष्ट्रपतिमा खोजेको विश्वासिलो र भरपर्दो पात्रका हिसावले र अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीको पनि गोमालाई अगाडी सार्दा नाइनास्ती नहुने भएकोले उहाँ राष्ट्रपतिका बलियो उम्मेदवार हुन सक्नुहुन्छ,’ ती नेताले भने ।

ओलीले राष्ट्रपतिको उम्मेदवार छनौट गरिरहँदा यसपटक वर्तमान राष्ट्रपतिको पनि समर्थन खोज्नुपर्ने वाध्यता छ । विद्याले यसमा चासो राखेकी कारण ओलीले परमर्श बिनै सिधै आफनो खुसीमा मात्र राष्ट्रपतिको उम्मेदवार चयन गर्नसक्ने अवस्था अहिले एमालेमा छैन ।

गोमालाई अगाडी सार्दा राष्ट्रपति भण्डारीको पनि साथ हुने भएकोले ओलीले गोमालाई सार्न सक्ने सम्भावना अधिक रहेको ती नेताले मेरोन्यूजलाई बताए ।

गोमालाई राष्ट्रपतिमा अगाडी सारिरहँदा राष्ट्रपति ताकेर बसेका सुवास नेम्वाङलाई भने ओलीले फेरि सभामुखमै प्रस्ताव गर्नसक्ने सम्भावना छ । सभामुख माघ १० भित्रै संसदले पाइसक्छ । राष्टपति भन्दा सभामुख अगाडी चयन हुने हुँदा पनि नेम्वाङलाई ओलीले पहिलो विकल्पका रुपमा सभामुखमै फेरि अडकाउन सक्ने एमाले नेताहरु बताउँछन् ।

नेम्वाङ राष्टपति भएमा ओलीलाई जति गोमासँग काम गर्न सहज हुन्छ, त्यक्ति सहज नेम्वाङसँग नहुनसक्ने ओलीले ठानेको देखिन्छ । सोहीकारण पनि नेम्वाङलाई प्रधानमन्त्री बन्न सक्ने सम्भावित लिडरका रुपमा प्रस्तुत गदै ओलीले राष्ट्रपतिमा रोक्न सक्ने सम्भावना अधिक छ ।

त्यसो हुँदा नेम्वाङले सभामुखमा फेरि रुची नदेखाए छविलाल विश्वकर्मालाई ओलीले सभामुखका रुपमा अगाडी सार्नसक्ने देखिन्छ । संसदीय दलको उपनेतामा नेम्वाङलाई राखेर अहिले सभामुखमा विश्वकर्मालाई ओलीले अगाडी बढाउन सक्ने सम्भावना बढी रहेको नेताहरुको तर्क छ । यधपी सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ पनि लविङमा देखिन्छन् ।

तर सुब्बालाई पार्टी संगठनकै जिम्मेवारीमा परिचालन गर्ने गरी अहिले सभामुखमा रोक्ने दाउमा ओली रहेको एमाले नेताहरु बताउँछन् ।

को हुन् गोमा देवकोटा ?


गोमा शहीद पत्नी हुन् । सिन्धुलीका चर्चित कम्युनिष्ट नेता ऋषि देवकोटा (आजाद)की पत्नी हुन् उनी । नेकपा एमालेको नवौं महाधिवेशनमा उनी पार्टीको केन्द्रीय समितिमा थिइन ।

एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष पनि थिइन् गोमा । रुखको पातमा लेखेर पढेकी देवकोटा अनेमसंघकी केन्द्रीय अध्यक्ष, संघिय सांसद र एमाले माओवादी एकताका बेला नेकपाकी केन्द्रीय सदस्य थिइन् । उनी आफैले पनि १० बर्ष भूमिगत जीवन विताएकी थिइन् । भूमिगत रहँदा ८ वर्ष उनले गण्डकी र अढाईवर्ष धौलागिरीको पार्टी संगठनको जिम्मा लिएर काम गरेकी थिइन ।

त्यसपछि २०४६ को बहुदलपछि भने उनले आफ्नै गृहजिल्ला सिन्धुलीको पार्टी राजनीतिमा रहेर काम गरेकी थिइन । पछि उनी संघीय सांसद देखि विधा भण्डारीले अखिह नेपाल महिला संघको नेतृत्व छोडेपछि नेतृत्व सम्हालेकी थिइन् ।

उनका छोरा सुवास अहिले एमालेको केन्द्रीय कमिटिमा छन् । सिन्धुलीबाट प्रदेशसभामा सुवासले चुनाव लडेपनि जित्न भने सकेनन ।

२०२४ सालमा गोमाले त्यक्तिवेला राजनीतिसँगै स्कुलको हेडमास्टर समेत रहेका ऋषि देवकोटा (आजाद) सँग विवाह गरेकी थिइन् । तर उनी २६ बर्षको हुदा नै २०३७ सालमा उनको श्रीमानको पक्राउपछि हत्या गरिएको थियो । त्यसपछि गोमाले पीडादायी राजनीतिक जीवनयात्रा गुजारेकी थिइन । उनको श्रीमानलाई नेपालका विभिन्न चिरामा रहेका कम्युनिष्टहरुले पनि आर्दश शहीदका रुपमा मान्ने गर्छन ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया