शुक्रबार, वैशाख २१, २०८१

नवलपरासी २ : भत्कायो कांग्रेसले एमालेको तीन दशकको विरासत

मेरोन्यूज २०७९ मंसिर ९ गते ७:३४

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।

Advertisement

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज विहान सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गरेर कम्युनिष्ट विरासत भत्काएका हुन् । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत ल्याएका थिए ।

नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट विसं २०४८ को निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए । त्यसैगरी २०५१ को मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । विसं २०५६ मा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो संविधानसभा सदस्यको निर्वाचन २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आमनिर्वाचन २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री यहाँबाट निर्वाचित भएका थिए ।

उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित भए । एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीले बताए । “यहाँ एमालेको राम्रो प्रभाव रहेको छ, प्रदेशको दुवै क्षेत्र एमालेले जितेको अवस्थामा सङ्घ हामीले जित्नु ठूलो उपलब्धि हो”, जिसीले भने, “यो जितलाई आगामी दिनमा कायम राख्नका लागि हामीलाई अझ बढी चुनौती थपिएको छ ।”

यहाँको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका थिए । प्रदेशमा जितेको पार्टी सङ्घमा हार्दा साङ्गठनिकरूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशबहादुर गाहा मगरले बताए । “पार्टीले नसोचेको निर्वाचन क्षेत्रमा हार व्यहोरेको छ”, मगरले भने, “हामी यहाँ के कारणले हा¥यौँ भन्ने विषयमा हामीले पार्टीको समीक्षा बैठकमा निर्णय गर्नेछौँ ।” साङ्गठनिकरुपमा बलियो भए पनि हार्नुको कारण खोतलिने मगरको भनाइ छ ।

नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित भएका थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गरेका थिए ।

गत स्थानिय तह निर्वाचनमा यो क्षेत्रमा एमाले बलियो देखिएको थियो । वडागत मतका आधारमा हेर्दा पनि अन्य गठबन्धनका दल एकातिर हुँदा पनि एमालेको मत बढी थियो । तर चुनावमा एमालेले आफनो विरासत कायम राख्न सकेन ।

प्रतिक्रिया