बुधबार, वैशाख २६, २०८१

संघीय निर्वाचन-२०७९

प्रत्यक्षमा ६, समानुपातिकमा १० सिट जित्ने राप्रपाको आंकलन

मेरोन्यूज २०७९ मंसिर १ गते १८:२२

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक पार्टीलाई राष्ट्रिय पार्टी बनाउने अभियान चलाएको छ । उसले राष्ट्रिय दल बन्न आवश्यक थ्रेसहोल्ड कटाएर निर्णायक चौथो शक्ति बन्ने लक्ष्य राखेको छ ।

Advertisement

उसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा कम्तीमा ६ देखि १० र समानुपातिकतर्फ कम्तीमा १० सिट जित्ने गरी आफ्नो चुनावी अभियान चलाएको थियो । निर्वाचन प्रचारको आज अन्तिम दिनसम्म उसले देशैभरबाट आफ्नो चुनावी अभियानपछि गरेको आंकलनमा अब राप्रपालाई राष्ट्रिय दल बन्नबाट कसैले नरोक्ने भन्दै राप्रपा राष्ट्रिय दल बन्ने उद्घोष गरेको छ ।

त्यस्तै उसले प्रत्यक्षतर्फ कम्तीमा ६ देखि १० सिट जित्ने र समानुपातिकमा १० सिट कम्तीमा आउने आंकलन निकालेको छ । तर राप्रपाका नेताहरुले समानुपातिकमा आफ्नो पार्टी पहिलो बन्ने भन्दै जिकिर गरेको छ । राप्रपाले लिएको हिन्दु राष्ट्र, राजासहितको राजसंस्था, भष्टाचार विरोधी अभियानलगायत कारणले समानुपातिकमा पहिलो दल बन्न सक्ने अनुमान राप्रपाका नेताहरूले गरेका हुन् ।

तर, राप्रपाका नेताले भने जस्तो उनीहरुको हिसाa निर्वाचनमा मिल्ने देखिदैन । पार्टी प्रवक्ता मोहन श्रेष्ठ राप्रपाको नतिजा आशातित र अपेक्षित आउने देखिएको बताउँछन् । राप्रपाले देशभर प्रतिनिधिसभातर्फको १४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । केही निर्वाचन क्षेत्रमा उसले एमालेलाई सघाएको छ । केही क्षेत्रमा एमालेको साथ आफ्नो दललाई लिएको छ । अझ केहीमा भने एमाले, राप्रपा र जसपासम्मको चुनावी तालमेल छ । जसका कारण प्रत्यक्षमा राप्रपाले सहज रुपमा कम्तीमा ६ सिट जित्ने उनीहरुको भित्री आंकलन छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ झापा ३, बाँके २ र रुपन्देही ३ मा प्रतिनिधिसभा तर्फ एमालेको साथ पाएको छ । त्यसको बदलामा झापा, रुपन्देही र बाँकेका अन्य निर्वाचन क्षेत्रमा राप्रपाको साथ एमालेले लिएको छ । एमालेको साथमा लडेको यी तीन वटै क्षेत्र जित्ने राप्रपाको दाबी छ । एमालेको सहयोगमा झापा ३ मा अध्यक्ष राजेन्द्र लिङदेन, रुपन्देही ३ मा दीपक बोहोरा र बाँके २ मा धबलशम्शेर राणा चुनावी मैदानमा छन् ।

त्यस अतिरिक्त चितवन ३ मा पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, काठमाडौं १ मा रवीन्द्र मिश्र, नवलपरासी पश्चिम २ मा ध्रवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही र मकवानपुर १ मा दीपकबहादुर सिंहले यसपटक जित निकाल्ने राप्रपाको दाबी छ ।त्यसबाहेक काठमाडौं २ मा कुन्ती पोखरेल र मोरङ ३ मा रेखा थापा पनि जित्न सक्ने सूचीमा राप्रपाले राखेको छ ।

०६२/०६३ को जनआन्दोलनपछि पहिलो प्रतिनिधिसभामा चार जना मात्रै राप्रपाका नेताहरु संसदमा पुगेका थिए । त्यसपछि २०७० को दोस्रो संविधानसभामा सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्षमा एक सिट पनि नजित्दा समानुपातिकबाट २४ सिट पाएको थियो । ०७४ सालमा प्रत्यक्षमा राजेन्द्र लिङदेन जित्दा समानुपातिकमा थ्रेसहोल्ड कटाउन उक्त पार्टीले सकेको थिएन ।

अहिले लिङदेन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि कमल थापाले पार्टी छाडेर आफ्नै दल बनाएका छन् । स्वयम थापा एमालेको सूर्य चिन्ह्रमा चुनाव लड्न पुगेका छन् । उनले देशभर अलग्गै तीर चिन्हमा आफ्ना उम्मेदवार उठाएको छ ।

प्रतिक्रिया