बुधबार, वैशाख २६, २०८१

जसपा : पुरानै हैसियतमा अडिने प्रयास

मेरोन्यूज २०७९ मंसिर १ गते १९:२३

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको संर्घषमा सत्ता गठबन्धनसँगै साथ रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) अन्तिम अवस्थामा गठबन्धनभित्र टिकट भागबन्डामा कुरा नमिलेपछि एमालेसँग चुनावी तालमेल गर्न पुग्यो ।

Advertisement

जसपाले एमालेसँग प्रदेश १ का मोरङ र सुनसरी‚ मधेश प्रदेशका आठ जिल्ला‚ लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम‚ रुपन्देही र कपिलवस्तु साथै सुदूरपश्चिम प्रदेशको कैलालीमा चुनावी तालमेल गरेको छ ।

तालमेल अनुसार, यी जिल्लाहरुमा प्रतिनिधि सभामा एमालले ३५ र जसपाले १७ सीट प्राप्त गरेको छ । यस्तै‚ प्रदेश सभामा एमालेले ७० र जसपाले ४२ सीट पाएको छ । एमालेसँगकै गठबन्धनका आधारमा जसपाले यसपटकको निर्वाचनमा प्रदेश र केन्द्रमा आफनो पोजिसन कम्तीमा पूरानैमा अडिने गरी जाने रणनीति बनाएको छ ।

मधेस प्रदेशमा आफनो नेतृत्वमा प्रदेश सरकार, केन्द्रमा अहिले रहेकै कम्तीमा पोजिसनमा रहने उसको लक्ष्य छ । ‘हामी ०७४ को पोजिसनमै रहने गरी आफनो चुनावी रणनीतिमा छौं,’ जसपाका एक नेताले भने,‘अझ सक्दा एकीकृत समाजवादीसम्मलाई पछाडी पारेर हामी कांग्रेस, एमाले र माओवादी पछिको निर्णायक चौथो दल बन्ने हाम्रो रणनीति छ ।’

जसपाले प्रत्यक्षमा कम्तीमा १४ देखि १७ सिटमा जित्ने रणनीति बनाएको छ । त्यस्तै समानुपातिकमा १० देखि १४ सिटको लक्ष्य यसपटक उसले बनाएको छ । जसपाले पार्टीका नेताहरु अध्यक्ष उपेन्द्र यादव, अशोक राई, मोहम्हद इस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु सहज जित निकाल्ने बताएको छ ।

तर जसपाका अध्यक्ष यादवलाई नै यसपटक आफनो निर्वाचन क्षेत्रमा चुनाव जित्न सकस छ । जनमत पार्टीका अध्यक्ष सिके राउन र सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाशका कारण पनि यादवलाई यसपटक चुनाव सजिलो छैन । प्रमुख दलका मुख्य नेता कोहि अहिलेको चुनावमा असुरक्षित छन भने त्यो नेता उपेन्द्र यादव नै रहेको अहिले राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।
यस्तो बेला जसपाले गरेको आंकलन अनुसारको नतिजा उसको आउँछ/आउँदैन निर्वाचन र निर्वाचन परिणाम पर्खनुपर्ने अवस्था छ ।

प्रतिक्रिया