आइतबार, वैशाख २३, २०८१

एकीकृत समाजवादी : चौथो शक्ति बन्ने अपेक्षा

मेरोन्यूज २०७९ मंसिर १ गते १९:३३

काठमाडौं । ४ मंसिरको चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय पार्टी बन्यो भने यो नेपालका लागि अपवाद हुन्छ । कारण, कुनै पनि मूलधारका पार्टी विभाजित भएर बनेका नयाँ पार्टीले लगत्तै सामना गर्नु परेको चुनाव जित्न सकेको उदाहरण नेपालमा पाइँदैन ।

Advertisement

यसपटक यो चुनौतीसँग जुध्न गर्न तयार भएर पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपालले पार्टीलाई चुनावी मैदानमा होमेका छन् । उनले कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनमा रहेर ४ मंसिरको चुनावमा जाने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त अझ नेपालको पार्टीलाई राष्ट्रिय पार्टी बन्नै नसक्ने ठोकुवा गरेर हुँकार दिइरहेका छन् । यस्तो बेला तमाम चुनौतीको सामना गर्दै एकीकृत समाजवादी चुनावमा छ ।

चुनावबाट राष्ट्रिय पार्टी मात्रै होइन, देशको चौथोँ शक्ति बन्ने लक्ष्य पार्टीले बनाएको छ । तत्काललाई कांग्रेस र माओवादीपछि एमाले तेस्रो पार्टी बन्ने र चौथोँमा आफ्नो पार्टी हुने विश्लेषण र आकलन एकीकृत समाजवादीले निर्वाचनमा भएको गठबन्धनलाई आधार बनाएर गरिरहेको छ । तर उसले चुनावबाट राष्ट्रिय पार्टी बन्ने आफ्नो चुनौती रहेको भन्दै अध्यक्ष नेपालले नै समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन् ।

‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्, समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ, जनतालाई कलम चिन्हमा मतदानको निम्ति आर्कर्षित गर्नुस्,’ अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई अपिल गरिरहेका छन् ।

एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कम्तीमा १८ सिटमा चुनाव जित्ने आकलन गरेको छ । त्यस्तै समानुपातिकतर्फ कम्तीमा २० सिट जित्ने गरी पार्टीले रणनीति बनाएको एकीकृत समाजवादीका नेताहरुको दाबी छ ।

प्रतिनिधिसभातर्फ १८ सिटमा सत्ता गठबन्धनसँगको तालमेलमा एकीकृत समाजवादीका उम्मेदवार छन् । बाँकी दुई स्थानमा उसले मित्रवत प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार उठाएको छ । यसरी हेर्दा उसका अहिले देशैभर जम्मा २० जना मात्रै प्रतिनिधिसभामा उम्मेदवार छन् । एउटा उम्मेदवारी उसको खारेज भयो, रुपन्देही २ मा ।

‘हामीले उम्मेदवारी दिएका सबै ठाउँमा जित्छौं, किनभने गठबन्धन गर्दा जित्ने ठाउँमा मात्रै उम्मेदवार उठाएका छौं । यो संख्यामा तलमाथि हुँदैन,’ अध्यक्ष माधव नेपालले एक अन्तर्वार्तामा भनेका छन्, ‘गत स्थानीय तहमा थोरै ठाउँमा उम्मेदवार उठाउँदा पनि साढे नौ लाख मत आएको छ भनेपछि त्यो ‘थ्रेसहोल्ड’ कटेको हो कि होइन रु त्यसो हुनाले स्थानीय तहको चुनावमा नै हामीले त्यत्रो मत ल्यायौं भने अहिले त २० सिट माथि नै छ । प्रदेशसभामा ६० सिटमा उम्मेदवार छन् । देशभर समानुपातिक उम्मेदवारले मत मागिरहेका छन् । त्यसैले ‘थ्रेसहोल्ड’ पार गर्नु कुनै गाह्रो छैन ।’

अध्यक्ष नेपाल अहिलेसम्म सुरक्षित जस्तै देखिएका छन् । एकीकृत समाजवादीले पनि अध्यक्ष नेपाल जित्ने सुनिश्चित रहेको बताएको छ । यसका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, अम्वरसिंह थापा, धनबहादुर बुढा , जगन्नाथ खतिवडा लगायतका नेताहरुले चुनाव जित्ने दावी एकीकृत समाजवादीको छ ।

अध्यक्ष नेपालले चुनावपछिको आंकलनमा एक दैनिकसँगको अन्तर्वार्तामा भनेका छन्, ‘ मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ । दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं । कांग्रेसको पनि बहुमत त पुग्दैन, तर सबैभन्दा ठूलो दल उही बन्छ । मैले संख्यात्मक रूपमा आकलन गरेको छैन ।’

प्रतिक्रिया