शुक्रबार, वैशाख १४, २०८१

वामदेव गौतमको अर्काे खुलासा

०५४ सालमा अच्युतकृष्ण खरेललाई आईजिपिबाट हटाउँदा ओलीले यतिसम्म खेलेका थिए

आईजिपि हटाउने प्रस्ताव केपी ओलीकै थियो, हटाईसकेपछि उल्टै फोन गरेर एउटा गुण्डाले हटाएछ, नआत्तिनुस् भन्नुभयो

- वामदेव गौतम २०७९ कार्तिक १० गते १३:३५

०५४ मा त्यसवेला तत्कालिन राप्रपा, एमालेको संयुक्त सरकारमा नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गरेर जाने मौका मैले पाएँ । पार्टीले नै मलाई पठाएको हो । मैले प्रस्ताव गरेर म जान पाउनुपर्छ भनेको होइन । तर त्यसवेलाको मेरो क्रियाकलाप देखेर म पराजित भएको अवस्थामा पनि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएको बेलामा २०६५ सालमा पनि मलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने गरी पठाएको थियो । अरु साथीहरु जान नमानेर हो या के हो, त्यसवेला पनि मलाई नै एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने गरी पठाइएको थियो ।

०५४ सालमा म गृहमन्त्री हुँदा मैले खेलेको भूमिका, निश्पक्षता हो । मैले कँही कतै हस्तक्षेप गर्न दिइन् । म गृहमन्त्री हुँदा सम्पन्न स्थानीय तहमा एमालेको जनलहर र परिणाम देशभर राम्रो आयो । निर्वाचनमा पहिले एमालेलाई अगाडी बढ्न नदिएको हस्तक्षेप गरेरै रहेछ । मैले त्यसवेला हस्तक्षेप गर्न दिइन ।


त्यसवेलाको घटना स्मरण गराउन चाहान्छु – रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो । सभामुखले मलाई हरेक बैठकमा उपस्थितीका लागि भन्नुहुन्थ्यो । गृहमन्त्री उपस्थित भनेर भनिहाल्ने, कुनै बैठकमा मलाई छोड्न दिनुभएन । त्यसवेला निर्वाचन आयोगको प्रमुखले पनि मलाई काठमाडौं छोडेर बाहिर नजानका लागि पुर्जी नै काटनुभएको थियो ।

किन होला भन्दा मेरो डरले । वामदेव काठमाडौं बाहिर कुनै जिल्लामा गयो भने के के न होला भन्ने डरले । म पहिलो पटक गृहमन्त्री सहित उपप्रधानमन्त्री भएपछि यसो मैले सोचे- म शुभकामना लिन अध्यक्ष कहाँ जान्छु भनेर अध्यक्ष मनमोहन अधिकारी भएको ठाँउमा गए । मनमोहन अधिकारीले यो कांग्रेसले स्थानीय तहको निर्वाचन गराएन, स्थानीय तहको निर्वाचन गराउनुस्, वामदेव जी, यो भन्दा अरु केही गर्नुपदैन तपाईंले भन्नुभयो । निर्वाचनलाई तुरुन्तै पहिलो प्राथमिकता बनाउनुस्, भन्नुभयो ।

हस् अध्यक्ष कामरेड भनेर मैले सलाम ठोकर निस्किए । त्यसपछि अब महासचिव कहाँ जानुपरयो भनेर माधव नेपाल कहाँ गए । त्यसवेला पार्टीको अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपाल हुनुहुन्थ्यो । म अध्यक्षलाई भेटेर माधव नेपाल कहाँ पुगे । त्यहाँ पुग्दा केपी ओली पनि सँगै हुनुहुँदो रहेछ । त्यहाँ पुगेर मैले म शुभकामना लिन आएको कमरेड, अध्यक्ष कहाँ पनि पुगेको थिए, अध्यक्षले स्थानीय तहको चुनाव गराईहाल्नुस् भन्नुभयो, अब तपाई कहाँ शुभकामना लिन आएको छु भने । महासचिव रहेका माधव नेपालले बोल्न नपाउँदै केपी ओलीले भन्नुभयो – ‘तपाईले आईजिपिलाई हटाउने र गृहसचिवलाई पनि हटाउने यो दुईटा काम तुरुन्तै गर्नुस् ।’


ओलीले त्यस्तो प्रस्ताव राखेपछि मैले माधव नेपालतिर फर्केर सोधे – कमरेड उहाँ महासचिव होइन, तपाईसित मैले शुभकामना लिन आएको, उहाँ (ओली)ले यसो भन्नुभयो, तपाई चुप लाग्नुभयो । के तपाईहरुको सल्लाह हो त्यो ?

माधव नेपालले त्यसपछि भन्नुभयो – हो ।
फेरि मैले सोधे – हो ?
माधव नेपालले भन्नुभयो– हो ।

त्यसपछि मैले कति दिनभित्र हटाउनुपर्ने ? हटाउने कति हो समय ? भनेर सोधे ।
त्यसपछि केपी ओलीले नै अगाडी बढेर भने, १० दिन ।

म शुभकामना लिन गएको मलाई नर्ककुन्डमा फसाउने चालवाजी त्यही भयो । माधव नेपाललाई सोधे, – १० दिन पनि हो ? माधव नेपालले भने – हो ।
त्यसपछि मैले भने, म १० दिनमा हटाउन सक्दिन ।
त्यसपछि कति समय चाहिन्छ ? भनेर सोधियो । मैले भने कमसेकम एक महिना मलाई चाहिन्छ ।

एक महिना होइन, २५ दिन भनियो। तर केपी ओली अझ अगाडी बढेर २५ दिन पनि होइन, २० दिन भन्नुभयो ।
त्यसपछि मैले नमस्कार गरेर, अरु धेरै बोल्दै नबोली माधव नेपालकोबाट फर्के ।

जाने बेलामा उठ्दा फेरि ओलीले भन्नुभयो,- यदि तपाईले २० दिनभित्र आईजिपिलाई हटाउन सक्नुभएन र गृहसचिवलाई पनि हटाउन सक्नुभएन भने तपाईले राजीनामा दिनुपर्छ ।

मैले हुन्छ भने । म राजीनामा लेखेर राख्छु, सकिन भने मैले ल्याएर बुझाउँछु भनेर म त्यहाँबाट हिँडे ।

२०५३ फागुन १५ मा नवनियुक्त आईजीपी अच्युतकृष्ण खरललाई दर्ज्यानी चिह्न लगाइदिँदै निवर्तमान आईजीपी मोतीलाल बोहरा (बायाँ) र त्यसको ३६ दिनपछि नियुक्त आईजीपी ध्रुवबहादुर प्रधानलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन गृहमन्त्री वामदेव गौतम । तस्बिर : नेपाल प्रहरी

त्यसपछि म घर गइन, सिधै प्रधानमन्त्रीकोमा हान्निए । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो । उहाँ त्यसवेला बालुवाटारमा होइन, आफ्नै निवासमा बस्नुहुन्थ्यो । त्यहाँ पुगेर प्रधानमन्त्रीलाई नमस्कार गरे । फेरि शुभकामना छ भने । उहाँले किन आउनुभयो रु भनेर सोध्नुभयो । मैले यस्तो यस्तो छ, पार्टीको कुरा यस्तो छ म के गरु ? भने ।

उहाँले तपाई नभएपछि म प्रधानमन्त्री भएर पनि के गरुँ ? मैले पनि राजीनामा गर्नुपर्ने हुन्छ भन्नुभयो । अन्तिममा म कोसिस गर्छु भन्नुभयो प्रधानमन्त्रीले ।

त्यसको अर्काे दिनमै राजासँग समय लिएर यस्तो यस्तो भयो, आईजिपि नहटने भए, गृहमन्त्रीले राजीनामा दिने भए, हटाउनका निम्क्ति श्री ५ को सहमति चाहियो । गृहमन्त्री भएनन् भने म पनि हट्नुपर्छ । म के गरु ? भनेर उहाँले राजासँग सोधेछन् । राजाले प्रधानमन्त्रीलाई त्यसो नगर, बन्दुक बोक्ने फौजलाई तलमाथी गर्न हुँदैन । यसो गरियो भने तिमिलाई नै अप्ठ्यारो पर्न सक्छ भनेर भन्नुभएछ । त्यसपछि त्यसदिन प्रधानमन्त्री लोकेन्द्रवहादुर जी फर्किनुभयो ।

मलाई राजाको कुरा यस्तो आयो भनेर सुनाउनुभयो । त्यसपछि मैले म त अव राजीनामा नै गर्नुपर्ने भयो भने । त्यसपछि फेरि उहाँले एक दुई पटक राजासँग यो कुरा गरिरहेछन् । पटक पटक प्रधानमन्त्रीले त्यही कुरा राजालाई भनेपछि प्रधानमन्त्रीलाई अन्तिममा राजाले फौज चलाउने तिमिहरुले हो, मैले होइन, तिमिलाई नै सहज हुन्छ भनेर त्यसो भनेको हो । तर नगरी हुन्न भन्छौं भने ठिक छ गर । राजाले त्यसो भनेपछि प्रधानमन्त्रीले ल तिमिले भने अनुसार गर भनेर मलाई भन्नुभयो ।

त्यसपछि म मन्त्री भएको १२ दिन की १५ दिनको दिन मैले नेपाल प्रहरीको आईजिपि (त्यसवेला प्रहरी आईजिपि अच्युतकृष्ण खरेल थिए) हटाईदिए । नहटाउँदा राजीनामा जानुपर्दथ्यो मेरो ।तर खेल यस्तो भईदियो की पार्टीभित्रै दोहोरो चालवाजी केपी ओलीले खेल्नुभयो ।


जुन दिन आईजिपि हटाइयो, त्यसैदिन फेरि केपी ओलीले अच्युतकृष्ण खरेललाई फोन गरेर एउटा गुण्डा, मुर्ख ब्यक्ति हाम्रो पार्टीभित्र छ, हटाउन पनि सकिन्न, त्यही ब्यक्ति अहिले उपप्रधान तथा गृहमन्त्री भएको छ, त्यसले तपाईलाई अत्याचार गरयो, नआत्तिनुस्, हामी तपाईलाई पूर्नस्थापित गराउँछौं भनेर भन्नुभयो ।

मलाई गृहमन्त्री बन्न नदिन केपी ओलीले यतिसम्म गरेका थिए । मैले आईजिपि हटाउन नसक्दा राजीनामा लेख्छ भन्ने उहाँ (केपी)मा थियो होला । मैले राजीनामा लेखिन । मैले राजीनामा दिएपछि मेरो ठाँउमा उहाँ जानका लागि खुटटा उचालिरहनु भएको थियो । क्याविनेट बसेको पहिलो बैठकमै स्थानीय हतको निर्वाचनको निर्णय लिइयो । आईजिपि हटाउने त्यसवेलाको निर्णय मेरो इच्छा विपरित थियो । मैले गर्न नहुने काम गरेको छु । तर पार्टीको निर्देशन त्यही थियो, र त्यही पार्टीका नेताहरु सबैभन्दा साखुल्य भएका छन् । पार्टी महासचिव र स्थायी समिति सदस्य केपी ओलीको निर्देशन मानेर गरेको हुँ ।

नभन्दै उहाँहरुले ७ महिनापछि लोकेन्द्रबहादुर चन्द नेतृत्वको त्यो सरकार ढालिदिनुभयो । त्यो सरकार केपी ओलीले नै गिराएको हो । त्यसपछि सूर्यवहादुर थापा प्रधानमन्त्रीका रुपमा आउनुभयो ।

(हिमालयन टेलिभिजनसँगको अन्तवार्ताका क्रममा ब्यक्त गरेको भनाईको एक अंश)

प्रतिक्रिया