शुक्रबार, जेठ ४, २०८१

सिडिओहरुको ब्यापक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँमा आए ललितपुरका सिडिओ, काठमाडौँका सिडिओलाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मा

मेरोन्यूज २०७९ भदौ २२ गते ७:१३

काठमाडौँ । गृहमन्त्रालयले सिडिओहरुको ब्यापक सरुवा गरेको छ । निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि गृहले एक दर्जन जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । सरुवा गर्दा काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

Advertisement

गृह स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका सिडिओलाई गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।

ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ ।

दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ । सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।

प्रतिक्रिया