बुधबार, वैशाख २६, २०८१

निर्वाचनमा उम्मेदवार सिफारिस : जिउँदै मान्छे जलाउनेदेखि बलात्कारका आरोपीसम्म

दया दुदराज २०७९ भदौ २१ गते १५:३३

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ । सरकारले घोषणा गरेको मिति अनुसार अबको साढे दुई महिनामा निर्वाचन हुने भएको हो ।

Advertisement

निर्वाचनको मिति नजिकिएसँगै चुनावी सगर्मी बढेको छ । नेताहरूलाई उम्मेदवारको लागि सिफारिस गर्ने बहावलाई हेर्दा निर्वाचन आइसकेको झल्को हुन्छ ।

दुवै चरणको निर्वाचन एकै दिन हुने भएकाले उम्मेदवारमा सिफारिस हुनेहरूको सूची लामै पुगेको छ । देशका ठूलादेखि साना दलहरूले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेका छन् ।

तर, निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै गर्दा दलले आफ्नो पार्टीका लागि वा चुनावमा पैसा खर्च गर्न सक्नेहरूलाई मात्रै सिफारिस गरेको देखाएको छ ।

दलले समाजमा राम्रो छवि भएकाभन्दा चुनावी खर्च जुटाउन सक्नेलाई उम्मेदवार भनाइरहँदा अपराधिक पृष्ठभूमिका उम्मेदवारहरू सिफारिस भएका छन् ।

गत भदौ १६ गते मात्रै नेपाली कांग्रेसले रौटहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जेलमा रहेका अफताव आलमलाई सिफारिस गरेको छ । नख्खु कारागारमा रहेका उनलाई जिउँदै मानिसलाई इँट्टा भट्टामा हालेर हत्याको अभियोगमा २०७६ साल असोज २६ गते पक्राउ गरेको थियो ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताव आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो । आमललाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

ººº
कांग्रेसले क्रुर हत्याको आरोपी आलमलाई मात्रै उम्मेदवारको लागि सिफारिस गरेका छैन । उसले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई समेत उम्मेदवारको लागि सिफारिस गरेका छन् । भ्रष्टाचारमा मुछिएका नेता पूर्वउपसभापति विजय कुमार गच्छदार हुन् । उनी प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका छन् ।

ललिता निवास प्रकरणमा मुद्दा लागेका वा आरोपी गच्छदारलाई कांगे्रसले सांसद बनाउन जोडबल गरिरहेको छ । उनलाई प्रतिनिधिसभाको सांसद बनाउन सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेता गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिलेपछि विशेष अदालतमा विचाराधीन छ ।

०४८ सालदेखि निरन्तर प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका गच्छदारविरुद्ध आयोगले २०७६ माघ २२ मा भ्रष्टातारको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै उनलाई सांसद सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो । भ्रष्टाचार जस्तो गम्भिर अपराधमा मुछिएका नेतालाई सांसद बनाउन शीर्ष नेतादेखि स्थानीय नेताहरु लागिपरेका छन् ।

ººº
यस्तै, नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा उनलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।

उम्मेदवारमा सिफारिस भएका बानियाँ जबरजस्ती करणीका आरोपी हुन् । उनीमाथि जबरजस्ती करणीको आरोप छ । जुम्लाकी ४० वर्षीया महिलाले आफूलाई होटेलमा बोलाएर सांसद बानियाँले जबर्जस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्  । जाहेरीका आधारमा बाँके प्रहरीले नेता बानियाँलाई गत १६ फागुनमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।

बानियाँले १९ माघमा नेपालगञ्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । ती महिलाले सांसद बानियाँविरुद्ध २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगञ्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

फागुन १६ गते पक्राउ परेका बानियाँ ७ दिनमै रिहा भएका थिए । पाँच लाख धरौटी मा उनी रिहा भएका हुन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँ ०७४ मा पीछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद बनेका थए ।

ººº
नेकपा एमालेले जबरजस्ती करणीको आरोप लागेको नेतासँगै अन्य अपराधिक पृष्टभूमि रहेका गुण्डा नाइकेहरूलाई समेत उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एमालेले गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सांसद उम्मेदवारको लागि गुण्डा नाइके मिलन चक्रे उर्फ मिलन गुरुङलाई सिफारिस गरेको हो । गत भदौ १९ गते उनलाई क्षेत्रीय समितिले उम्मेदवारको लागि सिफारिस गरेको हो । गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएका आरोपमा पटक पटक पक्राउ परेका चक्र मिलन गुण्डा नाइकेका रुपमा परिचित छन् ।

ººº

यस्तै, कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिए ।

०७२ भदौ ७ गते मधेस–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए । यही घटनामा चौधरी मुछिएका थिए ।

घटनाका मुख्य आरोपी चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्म समर्पण गरेका थिए । त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन् ।

जेलमै हुँदा चौधरीले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएर स्थानीय निर्वाचनमा सहभागी भएको थियो । यस क्रममा उसको पार्टीले पहिलो निर्वाचनमै राम्रो मत परिमाण पाएको थियो । उनको दलले गत स्थानीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ का सबै स्थानीय तहमा जित हात पारेको छ ।

ººº

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया