बुधबार, वैशाख २६, २०८१

संघीय निर्वाचन-२०७९

नेतालाई लाग्यो चुनाव : दुःखी जनताको साहारामा ‘नौटंकी’ !

दया दुदराज २०७९ भदौ १२ गते २०:४३

काठमाडौँ । सरकारले संघ र प्रदेशसभा निर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी तीव्र गतिमा बढेका छ । सरकारले आगमी मंसिर ४ गते निर्वाचनको मिति तय गरेको हो ।

Advertisement

संघ र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णयसँगै राजनीतिक दल र नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा जान थालेका छन् । यद्यपि, कुनै पनि दलले कुन निर्वाचन क्षेत्र कसलाई दिने भन्ने टुंगो लगाएको छैन । अझ, सत्ता गठबन्धन दलहरू सिट बाँडफाँटमै अल्झिरहेको छ ।

चुनावी मिति नजिकिएसँगै आफ्नो निर्वाचन क्षेत्रमा पुगेका नेताहरूले जनताको सेवा गरे जस्तो गरी ‘नौटंकी’ देखाएका छन् । ०७४ मा चुनाव जितेर काठमाडौँ पसेर नफर्किएका नेताहरूसमेत आगामी निर्वाचनका लागि मुख देखाउन गाउँ पुगेका छन् । यसै क्रममा दुःखमा साथ दिएको बहाना गरी जनताको पीडालाई खिल्ली उडाएका छन् ।

लोकप्रियता पाउन सामाजिक सञ्जाल !

प्रचार प्रसारको सस्तो माध्यम बनेको सामाजिक सञ्जालमा नेताहरूले आफ्नो कामलाई देखाउन थालेका छन् । विकासका काम जस्तै वर्षौंदेखि ठप्प रहेका सामाजिक सञ्जालका एकाण्टहरूलाई नेताहरूले पुनः सञ्चालमा ल्याएका छन् । कारण हो, निर्वाचनमा निर्वाचित हुने लालसा ।

पार्टीको गतिविधि र व्यक्तिगत गुणगानका लागि मात्रै सामाजिक सञ्जालमा पोष्ट्याउने नेताहरूले निर्वाचनको मिति घोषणा भएयता सामाजिक काममा सक्रिय भएको देखाउन अभियान्ता बन्न पुगेका छन् । उनीहरूले सामाजिक काम गरेको केही थान तस्बिरहरु पोष्ट्याएका छन् । शुभकामना र श्रद्धाञ्जली दिन काम लागेको यी सामाजिक सञ्जालहरू अनेक बाहानाका तस्बिरहरू राखेसँगै चुनाव लागेको स्पष्ट बुझिन्छ ।

º º º
गत भदौ ६ गतेको दिन १२ः०६ बजे नेकपा एमालेका नेता तथा बहालवाला सांसद् कृष्ण गोपाल श्रेष्ठले आफ्नो फेसबुकमा केही तस्बिरहरू पोष्ट्याएका छन् । उक्त तस्बिरहरूमा उनले सरसफाई गरेको देखिन्छ । उनले तस्बिरहरू पोष्ट्याउँदै ‘काठमाडौँ निर्वाचन क्षेत्र नं ९, चन्द्रागिरि नपा वडा नं १४ को व्यस्त राजमार्गको नयाँ नैकाप चोक वरिपरि उक्त वडाका वडाध्यक्ष कमरेड राजभाइ महर्जनको अगुवाईमा सम्पूर्ण जनप्रतिनिधिहरूसहित व्यापक जन सहभागिताबाट सरसफाई गरियो, सबैलाई धन्यवाद । २०७९/५/६’ समेत लेखेका छन् ।

सांसद् श्रेष्ठले तस्बिर पोष्ट्याउनु वा सरसफाई गर्नु कुनै आश्चर्य होइन । तर, पार्टीको कार्यक्रम र कसैको बढाइ चढाइको बधाई र शुभकामना दिन प्रयोग गरिने फेसबुक एकाण्टमा यस्तो तस्बिर पोष्ट्याउनु भने अनौठो नै थियो । यद्यपि, उनले यसअघिका कुनै पनि पोष्टहरूमा सामाजिक कार्य गरेको तस्बिर राखेका छैनन् ।

उनी ०७४ को संघीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए । उनको पछिल्लो गतिविधि हेर्दा पुनः सोही निर्वाचन क्षेत्रबाट निर्वाचनको मैदानमा होमिले देखिन्छ । तर, पार्टीले सो क्षेत्रमा कसलाई पठाउने भन्ने निधो गरेको छैन ।

º º º
नेकपा एमालेकै सांसद् तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गत भदौ ५ गते आफ्नो ट्विटर एकाण्टमा एउटा तस्बिर राखेका छन् । उक्त तस्बिरमा उनले एक बालकलाई च्यापेका छन् । तस्बिरसँगै उनले लेखेका छन्, ‘लुम्बिनीको पर्सा चोकमा एक सिर्जनशील मेहनती मधेशी किशोरसँग लिएको एक क्लिक ।’

उनले यो तस्बिर देखाएर जनताको मन जित्ने जमर्को गरेको स्पष्ट बुझिन्छ । यसअघि यस्ता तस्बिरहरू नपोष्ट्याउने एमाले सांसदले चुनाव लक्षित भएसँगै उनी केही व्यस्त देखिएका छन् । उनले आफ्नो सस्तो प्रचारबाजी सुरु गरेको बुझिन्छ ।

º º º
यता नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित युवा नेता विश्वप्रकाश शर्मासमेत पछिल्लो समय सस्तो प्रचारबाजीमा होमिएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका उनले पछिल्लो समय आफूले गरेको काम आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालमा सेयर गर्न लगाएर सस्तो लोकप्रियता कमाउने ध्यानमा छन् ।
चुनावी मुखमा सामाजिक सञ्जालमा उनका कार्यकर्ताले झापाकी एक किशोरीलाई पढाएको समाचार फिजाउन थालेका लगाएका छन् । उनले झापाको भद्रपुर नगरपालिका १० की शिसम मार्डीलाई काठमाडौँ ल्याएर अध्ययन गर्न सहजीकरण गरिदिएका छन् ।

जसलाई नेता शर्माका कार्यकर्ताले सामाजिक सञ्जालमा छरपष्ट पारिदिएका छन् । उनका कार्यकर्ताले सोही कारण देखाउँदै आसन्न निर्वाचनमा शर्मालाई निर्वाचित गर्न आह्वान गरेका छन् ।

यसो त शर्मा ०७४ को संघीय निर्वाचनमा पराजित भएका थिए । यसपटक उनी चुनाव जित्नै पर्ने दबाबमा देखिन्छन् । उनी झपाको निर्वाचन क्षेत्र १ बाट नेकपा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका थिए । आसन्न निर्वाचनमा समेत उनी झापा १ बाट नै उम्मेदवारी दिने तयारीमा छन् । तर, उनीविरुद्ध कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला समूहले पराजित गराउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

º º º

कांग्रेसकै नेता चन्द्र भण्डारीसमेत पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । १४ औँ महाधिवेशनबाट कांग्रेसको उपसभापतिमा पराजित भएका भण्डारीलाई आशन्न निर्वाचनमा जित्नै पर्ने दबाब रहेको हुँदा पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रका स्थानीयसँगको भेटलाई बाक्लो बनाउन थालेका छन् ।

०७४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीसँग हार व्यहोरेका भण्डारीलाई योपटक जित्नै पर्ने दबाब छ । त्यस कारण उनी आफूले इच्छाएको निर्वाचन क्षेत्रका स्थानीय जनतासँगको घुलमिल र भेटलाई बढाउन थालेका छन् । झट्ट हेर्दा उनी पनि सामाजिक सञ्जालकै सस्तो प्रचारबाजीमा दौडिएको देखिन्छ ।

º º º
‘०५५ मा शहादत प्राप्त गर्नु भएका सर्लाही जिल्लाको जनयुद्धका प्रथम शहिद इन्द्र कोइरालाको परिवारको अवासका लागि सर्लाहीको बागमती नगरपालिका १२ मा हाम्रो पार्टीको सर्लाही जिल्ला समितिले निर्माण गरिदिएको घर छिट्टै निर्माण कार्य पूरा गरी परिवारलाई हस्तान्तरण गर्ने तयारीमा, धन्यवाद,’ यो स्टाटस नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हो । उनले गत साउन ९ गते यो स्टाटस आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याएका हुन् ।

दुई वटा तस्बिरसहित पोष्ट्याएको यो स्टाटसमा माओवादी पार्टीको बढाइ चढाइ गरेको स्पष्ट बुझिन्छ । त्यतीमात्रै नभई माओवादी केन्द्रका नेता श्रेष्ठ निर्वाचन मिति घोषणा भएयता सामान्यभन्दा सामान्य कार्यक्रममा पनि आफ्नो उपस्थिति बढाएर हिँड्न थालेका छन् । विशेषगरी उनले गोरखामा भएका प्राय कार्यक्रममा आफ्नो उपस्थितिलाई बाक्लो बनाएका छन् ।

०७४ को निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पराजित भएका थिए । आसन्न निर्वाचनमा उनलाई जित्नै पर्ने दबाब छ । जसका लागि उनले आफ्नो सामाजिक सञ्जालमार्फत लोकप्रियता बटुल्न थालनी गरेका छन् ।

º º º
यी नेताहरू प्रतिनिधि पात्र मात्रै हुन् यस्ता धेरै नेताहरू छन् जो चुनाव केन्द्रीत रहेर आफ्नो लोकप्रियताका लागि सामाजिक सञ्जालमा आफ्नो कामको प्रदर्शन गर्दै ‘नौटंकी’ सुरु गरेका छन् ।

नेतालाई त्रासैत्रास !

आसन्न निर्वाचनका लागि नेताहरुले गृहकार्य सुरु गरिसकेका छन् । तर मंसिर ४ मा हुने निर्वाचनमा दलका नेताहरूमाथि धेरै चुनौती देखिन्छ । आसन्न निर्वाचनका लागि राजनीतिक दलबाट चुनावी मैदानमा जाने नेताहरूले मत नपाउने हुन् कि भन्ने प्रश्न गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले नै उब्जाएको थियो ।

वैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ठाउँठाउँमा निर्वाचित भएसँगै दलबाट निर्वाचनमा जाने तयारी गरिरहेका नेताहरूमाथि चुनौती धेरै थपिएको छ ।

जनताको विश्वास गुमाउँदै गएका दलका नेताहरूले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारसँग भिड्न सक्लान् ? भन्ने प्रश्नसमेत जनमानसमा उत्तिकै उब्जिएको छ । देशकै राजधानी काठमाडौंमा रहेको काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तहमा लामो इतिहास बोकेका राजनीतिक दलहरूलाई स्वतन्त्र उम्मेदवारले परास्त गरेको देखेर नै जनमानसमा यो प्रश्न उब्जिएको हो ।

यता दलहरूको सिट बाँडफाँटमा आफ्नालाई काखा र पराइलाई पाखा गर्ने नियत झल्किएसँगै चुनौती धेरै थपिएको छ । त्यस्तै, सत्ता साझेदारी दल (गठबन्धन)को सिट बाँडफाँटको मेसोमेलोले गर्दासमेत नेताहरूमाथि त्रास थपिएको छ ।
पाँच वटा दल मिलेर बनेको गठबन्धनमा सबै दलले आफ्नो चाहना अनुरुप सिट दाबी गरेका छन् । यद्यपि, सबै दलले चाहेअनुरुपको सिट पाउने टुंगो छैन ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया