शुक्रबार, वैशाख १४, २०८१

वालुवाटार देखाउदै आइजीपीको मनोमानीमा डिएसपीको सरुवा

मेरोन्यूज २०७९ साउन २६ गते १०:२२


काठमाडौं । गृहमन्त्रालयले प्रहरीको कामकारवाही त्यति साह्रो रुची नदेखाउदा प्रहरी महानीरिक्षक धिरजप्रताप सिंहलाई हाइ-सन्चो भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीमा आफ्नो तर्फबाट त्यतिधेरै दबाब नदिदा हाइसन्चो भएको हो । खासगरी पछिल्ला केही दिनमा गृहमन्त्रीले भनेका केही प्रहरी अधिकारीहरुको पनि सरुवा र बढुवा हुन नसक्दा प्रहरी महानीरिक्षक सिंह आफै वालुवाटार देखाएर अघि बढेको संकेत मन्त्रालय पाएको छ ।
गत शुक्रबार मात्रै ४३ प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरिएपछि मन्त्रालयले वालुवाटारसँग क्रस चेक गरेको थियो । जब कि बिहीबार बढुवा भएका ३४ डिएसपीको पदस्थापन हुन नसकेको अवस्थामा काज सरुवा गरिएको थियो ।
काज सरुवालाई दुई दिन अघि मात्रै नियमति सरुवामा परिणत गरियो ।

नियमित सरुवासमेत नगरेर एकैपटक ठूलो संख्यामा भएको काज सरुवा गरेर आफू निकटका आकर्षक स्थानमा सरुवा गरेपछि मन्त्रालयलाई वालुवाटार देखाएर छल गरेको खुलेको थियो ।

केहीलाई इन्चार्जबाट हटेको एक वर्ष नपुगी अर्को इन्चार्ज दिइएको छ भने केहीले पाँच वर्षदेखि कार्यालयको नेतृत्व गर्ने अवसर दिइएको छैन । नियमित सरुवा रोकेर पछिल्लो एक महिनामा एसपी, डिएसपी र इन्स्पेक्टरको अत्यधिक काज सरुवा गरिएको थियो ।

डिएसपीको सरुवामा व्यावसायिकभन्दा आइजीपी निकटका प्रहरी अधिकारी हाबी भएका छन । डिएसपीहरू मनोहर भट्ट, प्रेमबहादुर शाही, शरद थापा क्षेत्री, हरिबहादुर बस्नेत, रविन कार्कीले चारपटकसम्म इन्चार्ज हुने अवसर पाइसकेका छन् भने उनीहरूकै ब्याचका केही डिएसपीले एकपटक पनि इन्चार्जको अवसर पाएका छैनन् ।

डिएसपी भट्ट गत चैतसम्म जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुख थिए । त्यहाँबाट हटेको पाँच महिनामै उनले अर्को जिल्ला इन्चार्ज पाएका छन् । न्यूनतम एक वर्ष अवधि नपुगी अर्को इन्चार्ज नदिने प्रहरीको सरुवा नीति छ । काठमाडौको बानेश्वर, बौद्ध, दरवारमार्ग, महाराजगन्ज लगायतका स्थामा आइजीपी निकट रहेका डिएसपीलाई पठाएको छ ।

एक वर्ष नपुग्दै उपत्यकाकै वृत्तमा दोस्रोपटक इन्चार्ज पाउने अर्का डिएसपी हुन्, हरि बस्नेत । गत वर्ष उनी सिंहदरबार वृत्तमा थिए । त्यहाँबाट काठमाडौं परिसरमा ‘सिभिल टोली’को प्रमुख भएर काम गरेका उनलाई अहिले बौद्ध वृत्तमा पठाइएको छ ।

त्यस्तै, डिएसपी शाहीले पनि एक वर्ष नपुग्दै फेरि जिल्ला इन्चार्जको अवसर पाएका छन  । कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीबाट पश्चिम नवलपरासीमा सरुवा भएको एक वर्ष नपुग्दै उनलाई बैतडी पठाइएको छ ।

यसअघि उनले डडेल्धुराको नेतृत्व पनि सम्हालिसकेका छन । अरूभन्दा धेरै अवसर पाउने अर्का अधिकृत हुन्, क्षेत्री ।
इप्रका लहानबाट फर्किएको डेढ वर्ष नहुँदै उनलाई भोजपुरको प्रहरी प्रमुखमा खटाइएको छ । यसअघि उनले रसुवा जिल्लाको इन्चार्ज पाएका थिए ।

त्यस्तै, इप्रका कटारीको प्रमुखमा सरुवा भएका कार्कीले पनि डिएसपीमा तीन कार्यालय चलाइसकेका छन् । गत चैतमा मात्र उनी इप्रका लम्कीको प्रमुखबाट हटेका थिए ।

त्यसअघि इप्रका टाँडी तथा दोलखामा प्रहरी प्रमुखमा रूपमा उनले अवसर पाएका थिए । सिंहदरबार वृत्तमा सरुवा भएका डिएसपी गोविन्द पुरीले यसअघि तीनवटा कार्यालयमा प्रमुखका रूपमा काम गरिसकेका छन् ।

दरबारामार्ग वृत्तमा सरुवा भएकी कोपिला चुडाललाई पनि सेटिङमा पठाइएको बताइएको छ । उनका पति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका र उनका आफन्त न्यायधीश भएकै कारण उनी बढुवा भएको दुई वर्षमै दरवारमार्ग जस्तो आकर्षक स्थानमा सरुवा हुने अवसर पाएकी स्रोतको दावी छ ।
०७४ जेठमा डिएसपी भएका दर्जन अधिकृतले एकपटक पनि इन्चार्जको अवसर पाएका छैन  । डिएसपीहरू हरि खतिवडा, दीप्ति कार्की, सुन्दर तिवारी, प्रह्लाद कार्की, मनोजकुमार लामा, नवराज भट्टराई, हरिकृष्ण केसी, राजन लिम्बूलगायत राजनीतीकरणबाट पीडित बनेको अवस्थामा कोपिला चुँडाललाई डिएसपी भएको दुई वर्ष नपुग्दै दरबारमार्ग वृत्तको इन्चार्ज दिइएको स्रोतको दावी छ ।

आइजीपी सिंहले लैनचौर वृत्तको प्रमुख बनाइएका गणेश बम प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका सिफारिसमा पठाएपनि काठमाडौको अन्य वृत्तमा भने आफू निकट रहेका व्यक्तिलाई सरुवा गराउन सफल भएका हुन् ।

‘वालुवाटारबाट सबै सूची आएको हो सोही अनुसार गरेको भन्ने तर आफै चलाउने गरेको देखियो, हामीले हस्तक्षेप गर्न खोजेको होइन धेरै वर्षसम्म इन्चार्ज नपाएकाहरुलाई दिनुहोला भनेको मात्रै हो, कोही चार पटक सम्म इन्चार्ज दिइएको पाइयो, यो त प्रहरीभित्रै अन्याय भयो भन्ने लागेको छ’, मन्त्रालय स्रोतले भन्यो ।
त्यसैगरी, रामचन्द्र पौडेलको आग्रहमा बढुवा भएको दुई वर्षमै वृत्त इन्चार्ज पाएका रविन विष्टलाई वालाजु वृत्तमा पठाएको छ । उनी रुपन्देहीमा हुँदा निलम्बनमा परेका अधिकृत हुन् । आइजीपीकै तजवीजमा भण्डारण शाखामा रहेका पुरीलाई सिंहदरबार वृत्तको इन्चार्ज बनाइएको छ । आइजीपीसँगैकाम गरेका निशान्त श्रीवास्तवलाई वानेश्वर वृत्त पठाएका छन् ।

प्रतिक्रिया