मंगलबार, जेठ ८, २०८१

चुनावी हिसाव किताव

गृहमन्त्रीले निकाले दुई थरी गठबन्धनको हिसाव (रिपोर्टसहित)

कम्युनिष्ट पार्टी मिले कांग्रेस प्रत्यक्षतर्फ २० सिटमा खुम्चने गृहमन्त्रीकै रिपोर्ट

रामकृष्ण अधिकारी २०७९ साउन ४ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसले सत्तासिन दलहरुकै वीचमा गठबन्धन गरेर आगामी निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेको छ । कांग्रेसले यो निर्णय गरिरहँदा त्यही कांग्रेसको बैठकमा गृहमन्त्रालयको बागडोर समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले भने देशमा दुई खाले गठबन्धन निर्माण हुन सक्ने विश्लेषण सुनाएका थिए ।

Advertisement

त्यसको हिसावकिताव सुनाउँदै गृहमन्त्री खाँणले एमाले र माओवादी मिलेर गठबन्धन बनाए कांग्रेस एक्लै चुनाव लड्दा १६५ सिटमा २० सिट मात्र जित्ने आंकलन सहितको रिपोट पेश गरेका थिए । तर कांग्रेस र माओवादी मिलेर चुनावमा गए यी दुई दलको १६५ सिटमा १०९ सिट जित्ने दावी पनि गृहमन्त्रीको हिसावकितावमा छ ।

गृहमन्त्रीले देशभरका मातहातको सुरक्षाकर्मी परिचालन गरी तयार पारेको रिपोर्टको सार केही दिन अगाडी मात्रै सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकमा सुनाएका थिए ।


यस्तो गठबन्धन निर्माण हुँदा उनले कुन दलले कति सिट जित्छ भन्ने चित्र नदेखाए पनि गठबन्धनले समग्रतामा प्रत्यक्षतर्फ अनुमानित तथ्यांक भने पेश गरेका थिए ।

मेरोन्यूजले प्राप्त गरेको गृहमन्त्रीको त्यस्तो हिसाव-कितावमा अहिलेको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई एमालेतिरै गठबन्धनमा लगेर मिसाएका छन् । एकीकृत समाजवादीभित्र वाम गठबन्धनको प्रयासमा अहिले चलिरहेको नयाँ धुव्रिकरणले पनि गृहमन्त्रीले अनुमान लगाएजस्तै चित्र भने देखाउँदै लगेको छ ।

नेकपा एकीकृत समाजवादीभित्र झलनाथ खनाल, मुकुन्द न्यौपाने लगायतका नेताहरु अहिले एमालेसँग मिल्नु पर्ने पक्षमा देखिएका छन् । कतिपयले आगामी दशैसम्ममा एमाले र एकीकृत समाजवादी मिल्न सक्ने अनुमान लगाई नै रहेका छन् ।

गृहमन्त्रीले पार्टी बैठकमा देखाएको दुई खाले गठबन्धनको चित्रमा पनि एकीकृत समाजवादीलाई एमालेसँगैको गठबन्धनमा मिसाएर हिसाव किताव निकालेको छ ।

यी हुन् गृहमन्त्रीले देखाएका दुई थरी गठबन्धन

गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस माओवादी गठबन्धन र एमाले, एकीकृत समाजवादी र राप्रपाका वीचमा गठबन्धन हुने सम्भावना औल्याएका छन् । मधेस केन्द्रीत दल जसपा र लोसपालाई छोडेर उनले यी दुई खालको गठबन्धनको सम्भावना औल्याएका छन् ।

काग्रेस र माओवादीका वीचमा गठबन्धन निर्माण भए उनले प्रत्यक्ष तर्फको १०९ स्थानमा प्रत्यक्ष गठबन्धनले जित्ने चित्र देखाएका छन् ।


पहिलो गठबन्धन

गृहमन्त्रीले यो खालको पहिलो गठबन्धन निर्माण भएमा प्रतिनिधीसभातर्फ कांग्रेस माओवादी गठबन्धन नै बलियो बन्ने हिसाव निकालेका छन् । यो गठबन्धनले कुल १६५ मा १०९ प्रतिनिधीसभाको निर्वाचन क्षेत्रमा जित निकाल्ने जिकिर गृहमन्त्रीको छ । अर्काे गठबन्धन एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धनले भने ५६ निर्वाचन क्षेत्रमा जित्ने प्रक्षेपण गृहमन्त्रीको छ ।

त्यस्तै प्रदेश सभातर्फ कांग्रेस माओवादी गठबन्धनले २१९ स्थानमा जित्ने हिसाव गृहको छ । एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धनले भने प्रदेश सभा तर्फ १११ स्थानमा जित्ने अनुमानित तथ्यांक गृहमन्त्रीसँग छ ।

एकीकृत समाजवादी अहिलेसमम सत्ता गठबन्धनसँगै छ । तर गृहमन्त्रीले पार्टी बैठकमा पेश गरेको हिसावमा भने एमालेसँग एकीकृत समाजवादी मिल्न सकने सम्भावना औल्याइएको छ ।


दोस्रो गठबन्धन

गृहमन्त्रीले कांग्रेसलाई ०७४ सालको निर्वाचनमा जस्तै अहिले पनि कम्युनिष्ट पार्टीहरु एक भएर एक्लाएको खण्डमा भने फेरि पनि निर्वाचनमा नराम्ररी धक्का ब्यहोर्नु पर्ने हिसाव निकालेका छन् ।

गत निर्वाचनमा भन्दा पनि प्रत्यक्ष तर्फ कांग्रेसले पराजित हुनुपर्ने हिसाव गृहमन्त्रीको छ । अर्थात एमाले र माओवादी एउटा गठबन्धन निर्माण गरेर गएको खण्डमा कांग्रेसले जम्माजममी २० स्थानमा मात्र जित निकाल्न सक्ने आंकलन उनको छ ।
एमाले माओवादी गठबन्धनले भने १४५ स्थानमा जित्ने रिपोर्ट उनले पार्टीको केन्द्रीय समिति बैठकमा राखेका थिए ।

यधपी उनले त्योखालको गठबन्धनहरु निर्माण भईरहँदा अन्य मधेस केन्द्रीत दल जसपा, लोसपा, नेमकिपा र राप्रपाले जित्न सक्ने सम्भावनाका कुराहरुलाई भने आफनो हिसावकितावमै देखाएका छैनन ।

उनले कांग्रेस एक्लै र एमाले माओवादी गठबन्धन बनेर चुनावमा जाँदा प्रदेश तिरको अवस्था पनि कांग्रेसका लागि नाजुक अवस्थामा रहने देखाइएको छ । प्रदेश सभातर्फ कांग्रेसले त्यस्तो अवस्थामा जम्माजम्मी ६२ स्थानमा जित्न सक्ने आंकलन गरेका छन् ।


एमाले र माओवादीले गठबन्धन बनाएमा प्रदेश तर्फ २६८ स्थानमा जित निकाल्न सक्ने गृहमन्त्रीले पेश गरेको हिसावमा देखिन्छ ।

यधपी सत्ता गठबन्धन दलहरुकै वीचमा गठबन्धन निर्माणको प्रयास अहिले भईरहेको छ । कांग्रेसले बढीमा ७० सिटसम्म गठबन्धनमा रहेका अन्य दललाई दिउर आफुले ९५ सिट सम्म राखेर गठबन्धनको कोसिस गरिरहेको छ । कांग्रेस वाहेकका अन्य गठबन्धन दलले भने बढीमा ८० सिट कांग्रेसलाई छोडेर ८५ सिटमा वाँकी दलहरुका वीचमा भागवन्डाको प्रयास पनि चलिरहेको छ ।


दलहरुका वीचमा सिट बााडफाँडमा कुरा नमिले गठबन्धनमा तलमाथी हुन सक्ने खतरा उत्तिकै छ । सोही कारण पनि अहिले प्राय सवै दलहरुले आन्तरिक सर्वे गरिरहेका छन् ।

याे पनि: गृहको गोप्य रिपोर्ट : एक्लाएक्लै चुनाव लड्दा कुन दलको पोजिसन के ? (रिपोर्टसहित)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया