शुक्रबार, वैशाख १४, २०८१

एमसीसी अनुमोदनको १२ बुँदेमाथि अमेरिकाको धारणा माग्न माओवादीको माग

मेरोन्यूज २०७९ असार २६ गते १७:४५

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्रको हालै बसेको केन्द्रीय समिति बैठकमार्फत अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारेको धारणा माग गर्न सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन हुँदा भएको १२ बुँदे सम्झौताबारे अमेरिकाको धारणा नआएकाले सरकारसँग यसबारे धारणा माग गर्न आग्रह गरिएको हो ।

‘नेपालको संघीय संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणासहित गरिएको थियो, उक्त घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वतः खारेज हुने ब्याख्या संसदमा नै गरिएको थियो,’ माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘तर एमसीसीको १२ बुँदेमाथि अमेरिकाले अहिलेसम्म कुनै प्रतिकृया दिएको देखिएको छैन, तसर्थ नेपाल सरकारले यथाशीघ्र यसबारे उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नु पर्छ ।’

यस्तै, माअ‍ोवादी केन्द्रले अमेरिकासँगको सैन्य गठबन्धनसम्बन्धी सम्झौता एसपीपी राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितविपरित भएकाले दृढतापूर्वक अस्वीकार गर्नु पर्ने बताएको छ । यसबारे पार्टीले सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखेर औपचारिक जानकारी गराउनु पर्ने जनाएको छ ।

एमसीसीबारे माओवादीले दोस्रो केन्द्रीय समितिको बैठकपछि छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरे पनि आसन्न संघ र प्रदेशसभा निर्वाचन भएकाले यी निर्वाचनपछि मात्रै पुनः बहस गर्ने जनाएको छ ।

प्रतिक्रिया