आइतबार, वैशाख १६, २०८१

माओवादी बैठकभित्रका अन्तरकुन्तर

‘फिनिसिङ’मा चुकेका प्रचण्ड

महाधिवेशन सकिएको १८७ दिनपछि पनि माओवादीको अपुरै संगठनात्मक संरचना

रामकृष्ण अधिकारी २०७९ असार २३ गते २१:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी संगठन ‘फिनिसिङ‘ गर्न फेरि चुकेका छन् । पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको १८७ दिनसम्म केन्द्रीय समितिभित्रकै संगठनात्मक संरचनालाई टुंग्गो लगाउन नसकेका उनले फेरि नेताहरूलाई अन्यौलमै राखेर घर पठाएका छन् ।

असार १९ देखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिनको रिर्पोटिङपछि प्रचण्डले बैठक स्थगित गरेर पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरु रहेको केन्द्रीय कार्यालयको विस्तारित बैठक डाकेर छलफल गरेका थिए ।

छलफलमा प्रचण्डलाई पार्टीका पदाधिकारीसहितका संगठनात्मक संरचनालाई पूर्णता दिन केन्द्रीय समितिमा प्रस्ताव ल्याउन नेताहरुले सुझाव दिए । त्यसपछि धेरैलाई लागेको थियो, प्रचण्डले अब ‘फिनिसिङ‘ गर्ने गरी नै संगठनात्मक प्रस्ताव ल्याउँछन् ।

तर, परिस्थिति त्यस्तो रहेन । दुई दिन स्थगित गरेर बिहीबार बसेको माओवादी केन्द्रको बैठकमा प्रचण्ड झन् अस्तव्यस्त देखिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । उनले पदाधिकारीसहितको नाम टुंग्गो लगाएर प्रस्ताव त ल्याएनन् नै, स्थायी समितिको पूरै नामसमेत बाचन गरेनन् । पोलिटब्यूरोको त दुई-दुई पटक सूची पढे । अन्तिममा केही दिनमा सर्कुलरमै नाम मिलाएर पठाउँछु भन्दै बैठक सकाए ।

जसका कारण केन्द्रीय समिति बैठकमा घोषणा भएकै नेताहरुलाई आफू पोलिटब्यूरो सदस्य भए, नभएको केही दिनपछि आउने सर्कुलर नहेरी विश्वास लागेको छैन । प्रचण्डलाई आफू नभए चुनावमै जाने भनी पटक-पटक अत्ताइरहेकै नेताहरुले समेत प्रस्ताव ल्याउनुस्, मानेर जान्छौँ भनेपछि अब भने प्रचण्डले पार्टी संगठन फिनिसिङ गर्ने अनुमान पार्टी नेताहरुको थियो । तर तीन दिनका लागि भनी बोलाइएका केन्द्रीय समितिको दुई दिन बीचमा रोकेर बैठक ५ दिनमा सक्दा माओवादीको संगठनात्मक संरचना फेरि उस्तै तर्दथबादमै गुजुल्टिएको छ ।

३७७ जनाको केन्द्रीय समिति सदस्यको संख्या ठोस गर्ने बाहेक यो पटक पनि को पोलिटब्यूरो, को स्थायी समिति सदस्य भए ? त्यसको वास्तविक सूची कसैले पाउन सकेनन् । माओवादीको विधानमा १२५ जनासम्मको पोलिटब्यूरो बनाउन सकिन्छ ।
पोलिटब्यूरोको नाम पहिलोपटक प्रचण्डले संख्यात्मक रुपमा नै गनेर बाचन गरेर सुनाए । जुनियर सिनियर भनेर नराखिएको भन्दै क्रम संख्यासहित उनले एक प्रचण्ड, दुई नारायणकाजी श्रेष्ठ, तीन कृष्णबहादुर महरा, चार देव गुरुङ भन्दै क्रमशः १२५ जनाकै नाम पहिला पढेर सुनाए । त्यसपछि भने छुटेका नेताहरुको नाम धमाधम नेताहरुले राख्न थाले ।

‘हकिकुल्ला खाँ र डोरप्रसाद शर्मा यहाँ पर्नुहुन्छ,’ प्रचण्डले भने । केन्द्रीय समितिका सदस्यहरुबाट दामा शर्माको नाम उठेपछि उहाँ छुटनु भएको छ, पर्नुहुन्छ भनेर प्रचण्डले जवाफ दिए ।

यस्तो अस्तव्यस्ततामा थिए, प्रचण्ड
‘अलिकति गडबड कहाँ नेर भएको हो भने, अहिले मलाई महसुस भयो । पहिलेको केन्द्रीय सचिवालयको नामतिरबाट हेर्दा यो नाम अलिकति नमिलेको हो । अब कमरेडहरुले अलिकति छुटेको भन्नुस् त ? तपाईहरुले भन्नु भयो भने यसलाई मिलाउन सकिन्छ’ प्रचण्डले १२५ जना पोलिटब्यूरो सदस्यहरुको नाम बाचन गरेपछि भने ।

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही छुटेको कुरा त्यसपछि उठ्यो । प्रचण्डले राखिएको थियो भन्ने जवाफ दिए ।

नाम एकपछि अर्काे उठ्न थालेपछि फेरि प्रचण्डले केन्द्रीय समिति बैठकमा भने, ‘कमरेडहरु सुन्नुस है, अलिअलि कन्फूजन भयो, मलाई पनि र यहाँ पनि । अर्काे लिष्ट पनि म सुनाउँछु । दुइटा लिष्ट सुनाउनु पर्ने अवस्था आइलाग्यो । यहाँ एउटा कन्फूयजन भयो, सरी भन्नु पर्ने भयो मैले नै, अहिले क्लियर गर्छु के भएको भन्ने कुरा । अर्काे लिष्ट पनि पढे भने सजिलो हुन्छ होला, गोलमाल कहाँ भयो भन्ने कुरा ।’ प्रचण्डले बैठकमा व्यक्त गरेको भनाइ उद्धृत गर्दै एक सदस्यले मेरोन्यूजसँग भने ।

‘एकचोटी फेरि अर्काे लिष्ट पढ्छु, धैर्य गरेर सुन्नुहोला‘ भन्दै प्रचण्डले त्यसपछि क्रम संख्या नभनी सररर पोलिटब्यूरो सदस्य हुने नेताहरुको नाम बाचन गरेका थिए । कति पहिलो सूचीमा नपरेकाको नाम पढे, कतिपय पहिले भनेका नाम पनि छुटाएर सूची पढे ।

त्यसो गर्दा पनि झन वीचमै प्रचण्ड रोकिए । अनि भने, ’यो गढवढ मैले मिलाउनु पर्ने भयो । तीन चार वटा लिष्ट बनाएको थिए मैले, त्यसो गर्दा कोही दोहोरिएछ, कोही के भएछ, बनाएको कहाँबाट बनाइएछ भने पहिला नेकपा माओवादी केन्द्र बनाउँदाखेरीको सचिवालयको, राजनीतिक परिषद्को कोही लिष्ट तयार पारियो । सचिवालयबाट हेदैं जादा त्यक्तिबेलाका र अहिलेका नाम फरक -फरक पर्दा रैछन । त्यसकारण दुई तीन वटा लिष्ट बनाउँदा कन्फूयजन भयो । अहिले छुटनै नहुने भनेर जस्तो महेन्द्र शर्मा, राजकुमार शर्मा, नारायणी शर्मा, कुमार पौडेल, दामा शर्मा यी राखिएकै नाम छन् ।‘

उनले यो नाम छ यो छ भन्दै थप बोलिरहे । पार्टीको पिवि र स्थायी समितिमा दलित र जनजाति भनेर नछुटटाइएको पनि प्रचण्डले बताए । तर दलित र जनजाति नेताहरु पनि दुवै कमिटिमा परेको चँही प्रचण्डले जिकिर गरे ।

त्यसपछि पनि पोलिटब्यूरोकै फाइनल सूची बनेन । केही केन्द्रीय नेताहरुले समय लिएर फाइनल सूची ल्याउन आग्रह गरे । युद्धकालमै तात्कालिन नेकपा (माले) बाट विद्रोह गरेर माओवादीमा पुगेका नेताहरुमाथी अन्याय भएको विषय उठे । शिवराम यादव, कृष्ण केसीहरुले त्यस्तो आवाज उठाए ।

अहिले बनेको सूचीको मूल्याकनको आधार के भन्दै उनीहरुले प्रश्न गरे । प्रचण्डलाई हाक्काहाक्की कृष्ण केसीले त आफ्नै विवेकले सूची बनाएको की कसैलाई राखेर थपघट गरेको भन्द्र प्रश्न नै उठाए ।

’लिष्ट पढेर सुनाउँदा कमरेडले आफ्नै विवके प्रयोग गरेर बनाउनु भएको छ की ? यो पनि थप यो पनि थप भनेर भन्ने अरु दुई चार जना मान्छेहरु हुनुहुन्छ ? मलाई पनि त्यो लिष्ट थप गर्नेमा राखिदिएको भए अरु दुई चार जना मान्छे म पनि राख्थे कमरेड, त्यसकारण नाम सुन्दा कुनै कमरेडलाई अपमान गरेको होइन, चयनको पनि मापदण्ड हुन्छ,‘ केसीले बोल्दै गए, ‘भर्खर केन्द्रीय सदस्यमा आएको मान्छे पोलिटब्यूरोमा पुगिसक्नुभयो । हिजो देखि नै केन्द्रीय कमिटिमा रहेका कमरेडहरु अहिले पनि तलै हुनुहुन्छ । अनि नाम हेर्दा जिल्ला, भूगोल हेर्दा पनि नमिलेको जस्तो देखिएको छ । त्यसकारण परिषद्मा मलाई नराख्नुस्, । मैले बार्गेनिड गरेको होइन, तर न्याय सवैलाई दिलाउनुस् ।’

त्यसपछि भने केही बेरको गन्थनपछि बैठक केही समय प्रचण्डले स्थगित गरेर गृहकार्य गर्ने बताए ।

बैठक फेरि सुरु भयो । तर त्यसपछि भने प्रचण्डले १२५ जना पोलिटब्यूरो, ३१ जना बैकल्पिक पोलिटब्यूरो बनाउने प्रस्ताव गरे । नाम भने बाचन गरेनन । एक नेताका अनुसार, प्रचण्डले पार्टीका सिनियरहरु पोलिटब्यूरो र जुनियरहरु बैकल्पिक हुने गरी कुलमा १२५ पूर्ण र ३१ बैकल्पिक गरेर १५६ जनाको पोलिटब्यूरो बन्ने र त्यसको नाम बाचन गरिएका र छुटेको भनी आएकाबाटै मिलाएर दुई चार दिनमै सर्कुलरमार्फत पठाइने बताए ।

जस्तो पोलिटब्यूरो को नाम प्रस्ताव गर्दाको अवस्था थियो, त्यस्तै अवस्था स्थायी समिति गठन गर्दाको पनि रहेको माओवादीका एक नेताले मेरोन्यूजसँग भने ।

‘स्थायी समितिमा पहिले रहेका १५ जना नेताहरु स्वत पर्नुहुन्छ । प्रदेशका इन्चार्जहरु पर्नुहुन्छ । कार्यालयका मुख्यसचिव पनि पर्नुहुन्छ । पार्टी मातहतका आयोगका अध्यक्षलगायत पर्नुहुन्छ । यस्तै केही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन हुन्छ ,’ प्रचण्डले बैठकमा जानकारी दिए ।

त्यसपछि उनले स्थायी समितिको नाम पनि सर्कुलरमार्फत नै आउने बताए । माओवादीको विधानत ४१ जनाको स्थायी समिति बन्ने हुन्छ ।

सर्वाधिक चासो रहेको पदाधिकारीमा पनि प्रचण्डको जवाफ त्यस्तै थियो । उनले पार्टीका बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई बनाउन लागिएको प्रष्ट संकेत गरे । तर अन्य पदाधिकारी र पदाधिकारीको संख्या कति हुने भन्ने केही बैठकमा खुलाएनन् ।


प्रचण्डले भने, ‘दुई-चार दिन दिनुस्, पदाधिकारी टुंगिन्छ । सबैको अनुहार उज्यालो हुनेगरी टुंगिन्छ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी बाहेक को हुन्छ र ? तर, मातृकाजीले विरोध गरिहाल्नुहुन्छ भन्नुहुन्छ कमरेडले । मसँग पदाधिकारीहरूको नाम पनि छ । पढ्न पनि सक्छु । तर, प्लिज अहिले मलाई पदाधिकारीको नाम पढ्न नलाउनुहोस् । ताली बजाउनुस् । त्यो पनि अव सर्कुलरमै उल्लेख गरेरै पठाउँछु ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया