आइतबार, वैशाख १६, २०८१

एसपी बढुवा रोकियो : राअविबाट आएकालाई बढुवा नगर्न शीर्ष नेताकै दबाब

मेरोन्यूज २०७९ असार २० गते २१:५१

काठमाडौँ । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि ५१ प्रहरी उपरीक्षक (एसपी)हरुको दौडधुप सुरु भएको छ । योसँगै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा प्रवेश गरेकालाई रोक्ने प्रयास भएको छ ।

सरकार सम्बद्ध पाँच दलका शीर्ष नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब दिएर रोक्ने प्रयास भएको हो । ‘पाँच दलका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले नै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरेका प्रहरी अधिकारीलाई बढुवा नगर्न दबाब दिएपछि रोकिएको छ’, गृहमन्त्रालय स्रोतले भन्यो ।

गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधुप सुरु भएको थियो । एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जनामध्ये ३३ जना एसपी छन् ।

बाँकी २ जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् । सो मितिमा बढुवा भएका एसपीमा दानबहादुर कार्की, ईश्वर कार्की, गणेश चन्द, राजन अधिकारी, मनोजकुमार केसी, रेवती ढकाल, अरुण पौडेल,जीवन श्रेष्ठ लगायतका छन् । उनीहरूलाई रोक्न सक्ने सम्भावना छैन ।

विं.सं. ०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट २०५८ पछि नेपाल प्रहरीमा आएर तालिमा गरेका १९ जनालाई तत्काल बढुवा रोक्नु पर्ने दबाब बढेको हो । ०५६ सालमा नेपाल प्रहरीमा भर्ना भई उनीहरूभन्दा अघि तालिम लिएका समूहले यसलाई रोक्न दबाब दिएको हो ।

राअविबाट नेपाल प्रहरीमा आएकाभन्दा अघि नै तालिम गरेको र उनीहरूभन्दा प्रहरीमा सिनियर भएको नजिर देखाउँदै प्रधानमन्त्री तथा गठबन्धन दलका शीर्ष नेतालाई बढुवाबारे जानकारी दिएपछि गृहमन्त्री खाँणलाई दबाब परेको हो । राअविबाट आएको केही बद्नाम टोलीले बढुवाका लागि शक्ति केन्द्र धाउन थालेपछि २०५६ सालको टोलीले पनि शक्तिको प्रयोग गरेको हो ।

बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई आधार मान्नु पर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरू पनि पर्ने देखिन्छ ।

बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्य सम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नु पर्ने र यसो गर्दा पछिल्ला ब्याजीको पनि बढुवा हुन सक्ने गृह मन्त्रालय स्रोतले बतायो । त्यसो त प्रहरीतर्फ भर्ना भएकाले आफूहरूले द्वन्द्वको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् । यो तर्कमा गृह मन्त्रालयसमेत सकरात्मक रहेको बुझिएको छ ।

पछिल्ला ब्याजीहरूबाट योग्य र प्रोफेसनल अधिकृतहरूलाई एसएसपीमा बढुवा गर्दा विश्व अधिकारी, सविन प्रधान, सानुराम भट्टराई, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरे, दीपशमशेर राणा, शेखर खनाल, अभिनारायण काफ्ले, ओम अधिकारी, दिनेश मैनाली, वेलबहादुर पाण्डेलगायतका एसपी एसएसपीमा बढुवा हुन सक्ने देखिन्छ । तर, उनीहरूलाई छाडेर राअविबाट सेवा प्रवेश गरेकाहरुले ‘ओभरटेक’ गर्न खोजेपछि दुवै पक्षको शक्ति केन्द्र जुधेको छ ।

बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएका पनि छन् । सिद्धिविक्रम शाह, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, लोकेन्द्र श्रेष्ठ र दीलिपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । मनोजकुमार यादव, विनोद घिमिरे, दीपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दीपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दीलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन ।

उनीहरु पनि प्रतिस्पर्धामा रहेका छन् । देउवा हाल बारामा रहेका छन् । उनी केही समयअघि मदिराले मस्त भएर कार दुघृटनामा परेर केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । सञ्जीवदास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाही गरेको थियो ।

ओमबहादुर राना रसुवामा प्रमुख हुँदा आर्थिक अनियमतिको आरोपमा कारबाही गरिएको थियो । त्यसैगरी उनी बाँकेको प्रमुख हुँदा पनि कारबाहीमा परेका थिए । गणेश चन्द पनि दाङ एसपी हुँदा विवादित बनेका थिए ।

यस्तै, सिद्धिविक्रम शाह हाल ललितपुर प्रहरी परिसरमा छन् । उनी रौतहटमा हुँदा पत्रकारलाई लागु औषध राखेर फसाएको आरोपमा छानवीनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरबाही गरेको’ भन्दै कारबाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । उनी पनि बढुवाका लागि दौडधुपमा छन् ।

राअविबाट आएका केदार खनाल कीर्तिपुरमा हुँदा निलम्बनमा परेका थिए । विमल बस्नेत निलम्बनमा परेका थिए, भने योगबहादुर पाल अर्का बद्नाम पात्र हुन् । उनीहरुको सिंगो टोलीले नै प्रहरी संगठनको बद्नाम गराएको थियो ।

प्रतिक्रिया