आइतबार, वैशाख १६, २०८१

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता प्रयास !

कम्युनिष्ट एकताका लागि केहीदिनमै संयुक्त अपिल जारी गर्ने र सम्भव भएसम्म चुनाव अगाडी पार्टी एकता, नभएपनि संयोजन समिति बनाएर अगाडी जाने

शितल शर्मा २०७९ असार २० गते १३:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले भित्रभित्र पार्टी एकताको वार्ता पारम्भ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालका वीचमा भएको औपचारिक अनौपचारिक छलफलमा आउँदो मंसिरको संघ – प्रदेशको चुनाव अगाडीसम्म सकेसम्म पार्टी एकता र नभएपनि गएको चुनाव पछाडी पार्टी एकता अगाडी एमाले -माओवादीले बनाएको जस्तो एकता संयोजन समिति बनाएर जाने गरी छलफल अगाडी बढेको छ ।

‘समाजवादी कार्यदिशा अंगीकार गर्ने शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्ने’ प्रस्तावमा माओवादी र एकीकृत समाजवादी दुवै पार्टीभित्र छलफल समेत चलेको छ । दुवै पार्टीको केन्द्रीय समितिमा यो विषयमा विषय प्रवेश भएर छलफल समेत पारम्भ भएको छ ।

आइतबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रसताव नै औपचारिक रुपमा पार्टी बैठकमा राखेका छन् । उनले वामपन्थी एकताको वहस थाल्न र त्यसको बारेमा खुलेर पार्टी बैठकको छलफलमा सहभागी हुन आउन आइतबार नै निर्देशन गरेका थिए ।

उनीहरुले शुरुमा कम्युनिष्ट एकताका लागि संयुक्त रुपमा अपिल गर्ने तयारी गरेका छन् । त्यसपछि सकेसम्म पार्टी एकता र नभएपनि चुनाव अगाडी नै एकता संयोजन समिति समेत बनाउने गरी छलफल भएको माओवादीका तर्फबाट छलफलमा सहभागी नेता नारायणकाजी श्रेष्ठले मेरोन्यूजसँग भने ।

त्यही क्रममा आइतबार विहान नेकपाकालका पूर्व सचिवालय सदस्यहरुको बैठक बस्ने गरी छलफल भएको र साझ बैठक राखिएको पनि श्रेष्ठले बताए । प्र्रचण्डले पार्टी बैठकमा पनि कम्युनिष्ट एकताकोअ पिलका लागि गृहकार्य चलिरहेको र त्यसका लागि पहिलो चरणमा नेकपाकालका बहुमत सचिवालय सदस्यहरुका वीचमा छलफल हुन लागेको बताएका थिए ।

आइतबार वेलुकी ललितपुरको हात्तिवनस्थित एक हाउजिङमा रहेको गोकुल भण्डारीको निवासमा नेकपाकालका सचिवालयका वहुमत सदस्यहरुको छलफल भएको थियो । छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको बारेमा मिहिन छलफल गरेको बताएका छन् ।

‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ, त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ श्रेष्ठले भने ।

कांग्रेसले गठबनधनमा नाममा विगत स्थानीय तह चुनावमा गठबन्धनभित्रकै दलहरुलाई अलमलाउने र आफुले मात्र जित्ने रणनीति अख्तियार गरेको निश्कर्षमा माओवादी र एकीकृत समाजवादी दुवे पुगेका छन् । त्यस आधारमा पनि माओवादी र एकीकृत समाजवादीका नेताहरुका वीचमा एकतासम्म गर्ने गरी छलफल अगाडी बढेको हो ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया