शुक्रबार, वैशाख १४, २०८१

ओली - पत्रकार सवाल जवाफ

संविधान बङ्ग्याएको मात्र होइन, तोडमोड, भाँचकुच, च्यातचुत धेरै भएको छ : ओली

पार्टीले निकालेका मन्त्री झण्डा हालेर आए, पार्टी हेरेर बस्नुपरेको छ

मेरोन्यूज २०७९ जेठ २७ गते १३:३०
फाइल फोटो

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर पुगेका छन् । उनले त्यहाँ समसामायिक राजनीति र पार्टिका अवको रणनीतिका बारेमा छोटो कुराकानी गरेका छन् । एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको, पार्टी छोडेर गएकाहरुलाई पार्टीमा प्रवेश गर्ने ढोका खुल्ला रहेपनि स्वागत गर्ने चचलन नरहेको जस्ता अभिब्यक्ति ओलीले पत्रकारहरुसँगको सवालजवाफमा दिएका छन् । पत्रकार र ओली वीचका सम्वादलाई हामीले अन्तवार्ताका रुपमा उतारेका छौं )

० अहिलेको सत्तारुढ वाम गठबन्धन कायम रहला कि नरहला ?

कसलाई वाम गठबन्धन भन्या तपाईंले ? कांग्रेस माओवादी कसलाई तपाईंले वाम गठबन्धन भन्या ?

० यसमा माओवादी र नेकपा एस पनि छन् नि त ?

त्यो गठबन्धन वाम गठबन्धन हो त ? यिनीहरु बाम हुन् ?
० अब नकेपा एस एमालेसँग जोडिने कति सम्भावना हुन्छ पछिल्लो गतिविधि हेर्दा ?

पोहोर फुट्या होइन ? उहाँहरुले सोध्नुभएन हामीलाई फुट्ने बेलामा ।

० अहिले विभिन्न मञ्चमा बोलिराख्नुभएको छ नि ।

मञ्चका कुरा बेग्लै हुन् । अहिले त्यस्तो केही छैन । अहिले हामी आफ्नो काममा छौं ।

० प्रस्ताव आयो भने ?

कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं ।

० आए भने स्वागत गर्नुहुन्छ ?

स्वागत भन्ने शब्द बढ्तै हुन्छ कि । पार्टीमा आउन सक्नुहुन्छ ।

० स्वागत चाहिँ गर्नुहुन्न ?

स्वागत भनेको के ? गेट बनाउनु भनेको ? त्यस्तो चलन छैन नि हाम्रो ।

० तपाईंहरुले कस्तो संविधान बनाउनुभयो ? प्रधानन्यायाधीशको महाअभियोग तीन महिनासम्म टुंगो लागेको छैन । प्रहरीको आईजीपीमा त्यस्तै छ ।
मैले के गर्ने त ?

० त्यसमा हजुर पनि हुनुहुन्थ्यो नि त ?

केमा ? महाभियोग लगाउनेमा ?

० होइन संविधान बनाउनेमा

संविधान त कार्यान्वयन गरे न हुन्छ । त्यसलाई डिस्टोर्सन गर्‍यो भने, बङ्ग्यायो भने त बेग्लै कुरा हो ।

० बङ्ग्याएकै हो ?

हो त । बङ्ग्याएकोमात्र होइन संविधान तोडमोड, भाँचकुच, च्यातचुत धेरै कुरा भाका छन् ।

० तर प्रमुख प्रतिपक्षी दलका पनि त दायित्व हुन्छ नि यसलाई सीधा पार्ने ?

त्यो हामी गर्दैछौं । एकै दिनमै सीधा हुँदैन । विस्तारै हुन्छ ।

० हिजो तपाईंलाई संविधान तोडमोड गरेर प्रतिगमन गरेको आरोप लागेको थियो, अहिले त्योभन्दा पनि बढी भएको हो ?

तपाईंहरु विचार गर्नुहुन्छ कि हल्लाको पछि कुद्नुहुन्छ ? प्रतिगमन भनेको देउवाले संसद विघटन गराउनुभो, चुनाव नगरी प्रजातन्त्र दरबारमा बुझाउनुभो, त्यो प्रतिगमन हो । प्रतिनिधिसभाको नयाँ चुनाव गर्नु भनेको, नयाँ संसद बन्नु भनेको प्रतिगमन हुँदैन । अब चुनाव हुँदैछ, प्रतिगमन हो त्यो ? अर्को प्रतिगमन भनेको माओवादीको सरकार थियो । माओवादीले संविधान बनाउनका लागि संविधानसभा बनाएको थियो । संविधान नबनाइकन विघटन गर्‍यो । चुनाव गराएन । देश अस्तव्यस्त बनायो । यति कृत्रिम बाटोबाट हामीले अर्को संविधानसभा चुनाव गरायौं । त्यस्तोलाई भन्छ प्रतिगमन ।

० नेकपा एसले मन्त्रीहरु फेरबदल गर्न नसकेको प्रसंगमा के भन्नुहुन्छ ?
उनीहरुले पार्टी छाडिदिन्छौं भने । प्रमलाई गएर हामीलाई राख्नुस् न तपाईंंको पार्टीमा आउँछौं भने । त्यसपछि पार्टीले निर्णय गर्‍यो । तर पार्टीले निकालेका मान्छेलाई प्रधानमन्त्रीले कायम राखे । पार्टी निरीह बिचरा । निकालेका मन्त्री झण्डा हालेर आए । पार्टी हेरेर बस्यो । चिया खाँदै खुइय गरे । पार्टीका हालत तिनै न छन् । पार्टीले मन्त्री निकाल्यो तर मन्त्री निस्केनन् । डिसअर्डर हेर्नुस् न ।

० अब हजुरको प्रधानमन्त्री कार्ड चल्छ त ?

के भन्या त्यो ?

० तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको कुरा आइराख्या छ नि ?

मैले त सुन्या छैन ।

० प्रचण्ड, माधव नेपालले भनिरहनुभएको छ हामीलाई प्रधानमन्त्रीको अफर आयो भनेर ?

ए भन्नुभएको छ ? को हुने हुनुभएछ त ? केमा कुरा मिलाउनुभयो रे ?

० तपाईंहरुले अफर गर्नुभएको होइन ?

हामीले त भन्या छैनौं ।

० एएमसीसी पास हुनेवित्तिकै अमेरिकाका कर्णेल नेपाल आए । यसैका लागि एमसीसी पास गराउनुभएको हो ?

एमसीसी पास हुँदा तपाईं विदेशतिर जानुभएको थियो कि नेपालमै हुनुहुन्थ्यो ? प्रचण्डजी, माधव नेपालजी होइन पास पास भनेर हात उठाउने ? उहाँहरुलाई सोध्नुस् न ।

० तपाईंहरुले पनि त विरोध गर्नुभएन नि ?

हामीलाई त संसदीय प्रक्रियामा सामेल हुनै दिइएको थिएन । अभ्यासमा सामेल हुनै दिइएको थिएन ।

० हजुरहरुले भनेजस्तो स्थानीय तहको परिणाम आएन । अब के हुन्छ संघको चुनावमा ?

स्थानीय चुनावको कुरा बेग्लै हो । यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन । स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं । ६ दल मिले । कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो । धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्‍यौं होला, तर हाराहारीको स्थितिमा छ । पपुलर भोटमा फेरि पनि अगाडि छौं । एमाले एमाले नै हो ।


० अब आउने निर्वाचनमा के होला ?

अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउनेछन् ।

प्रतिक्रिया