बिहीबार, वैशाख २०, २०८१

मन्त्री हेरफेरबारे सत्ता पक्ष र प्रतिपक्षको टिप्पणी : नयाँ मन्त्रीको आवश्यकदेखि गठबन्धनको धन्दासम्म

मेरोन्यूज २०७९ जेठ २३ गते १७:३४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुरुप पार्टीले मन्त्रीहरू फेरबदल गर्न लागेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम अधिकार भएको बताए ।

नेता खनालले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए । उनले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति भएको दाबी गरे ।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो, हाम्रो पार्टीबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा पार्टीले गर्छ, यो धर्तीका कुनै तागतले गर्ने कुरा होइन,’ नेता खनालले भने, ‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ, छ महिनासम्म एउटा टिमलाई दिने, त्यसपछाडि अर्को टिम पठाउने ।’

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ व्यक्तिलाई मन्त्री बनाउन माग आइरहेको खुलासा गरे । उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।

महामन्त्री थापाले पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरबारे निर्णय प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवाको चाहानामा भर पर्ने बताए । उनले भने, ‘पार्टीको केही नयाँ सांसद, जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनु भएको छैन, सभापति आफैँ संसदीय दलका नेता हुनु भएकाले उहाँले यसलाई कसरी सोच्नु भएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो, तर केही फेरबदल हुनु पर्छ । खासगरी नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहरुलाई आफ्नो काम देखाउने मौका पाउनु पर्छ ।’

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेताहरुले आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गरे । सम्बन्धित विषयको ज्ञान भएको मान्छेलाई मन्त्री बनाउने परिपाटी नभएको भन्दै उनले खास योग्यताको जरुरी नपरेको प्रति असन्तुष्टि जनाए । नेताहरुले राम्रो काम गर्ने मान्छेलाई मन्त्री नबनाएर आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउनु अप्रजातान्त्रिक र दुःखद कुरा भएको उनको भनाइ थियो ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र कुमार यादवले मन्त्रिपरिषद् हेरफेर गर्नु जरुरी नभएको बताए । जुन मन्त्रीले बजेट ल्याउछ सोही मन्त्रीले बजेट कार्यान्वयन गराउन सके राम्रो हुने उनले धारणा थियो ।

‘मन्त्री हेरफेर भन्दा पनि जुन मन्त्रीले अहिले बजेट ल्याएको छ, त्यही मन्त्रीले कार्यान्वयन ग¥यो भने राम्रो हुन्छ, चुनावी सरकार हुन जान्छ यो, त्यसैले मन्त्री मण्डल हेरफेर गर्नु त्यति राम्रो देखिदैन,’ उनले भने, ‘सर्तमै जसरी माधव नेपाल जीले भन्नु भयो छ महिनाका लागि बनाएको थिएँ, हाम्रो पार्टीमा पनि त्यस्तै भनेर राखिएको थियो, तर हामीहरु खासै त्यसमा पक्षमा छैनौँ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला भएको टिप्पणी गरे । उनले भने, ‘यसलाई धेरै विशेष किसिमले हेर्नु पर्ने जरुरत नै छैन, गठबन्धनका धन्दाहरु चलिरहन्छन्, त्यही धन्दाको एउटा इपिसोड हो यो ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद राजेन्द्र महतोले वर्तमान सरकार रहे पनि, हेरफेर भए पनि जनताले केही नपाउने टिप्पणी गरे । सरकार टिकाउनका लागि कसैलाई मन्त्रीबाट हटाएर कसैलाई बनाए पनि देश र जनताले केही उपलब्धी नपाउने उनको भनाइ थियो । सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो पार्टी सरकारमा जाने आफूलाई थाहा नभएको बताए ।

प्रतिक्रिया