बिहीबार, वैशाख २०, २०८१

पत्रकारलाई धम्की दिनेमाथि कानुनअनुसार कारबाही गर्न महासंघको माग

मेरोन्यूज २०७९ जेठ २३ गते १७:०५

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्की दिनेहरूलाई मौजुदा कानूनअनुसार कारबाही गर्न माग गरेको छ । पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि ‘नेपाल आज’ नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुव्र्यवहार गरेको घटनाप्रति महासंघले ध्यानाकर्षण गराउँदै कारबाहीको माग राखेको हो ।

गुरागाईंले साथी, सहकर्मी र आफन्तसमेतलाई विभिन्न प्रकारले धम्की दिएको पत्रकार न्यौपानेले महासंघमा जानकारी गराएकी छन् । पीडकविरुद्ध पत्रकार न्यौपानेले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको भन्दै महासंघका महासचिव रोसन पुरीले ध्यानाकर्षण गराएका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा विभिन्न व्यक्ति तथा संस्थाको आवरणमा पीडित, उनका आफन्त, साथी तथा सहकर्मीलाई धम्की दिनु अर्को अपराध भएको जनाएको छ । नेपाल आजका गुरागाईंले पत्रकार पुष्प ढुंगाना, ध्रुव रिजाललगायत पत्रकारलाई पनि धम्की दिएको महासंघमा निवेदन प्राप्त भएको छ ।

‘न्यायको पक्षमा उभिँदा पत्रकारलाई दिइएको दबाब र धम्कीको यस्ता घटना आपत्तिजनक र प्रेस विरोधी काम हुनुका साथै अदातलको अपहेलाना हो, अदालतमा विचाराधीन मुद्दालाईसमेत प्रभावित बनाउने गरी धम्की दिएको यो घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम भएको महासंघको ठहर छ,’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघको आचारसंहिता तथा अनुगमन विभागले सचेत गराइसकेको निज गुरागाईंलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँद छ ।’

प्रतिक्रिया