बिहीबार, वैशाख २०, २०८१

लैनचौरबाट पुरुषलाई लुटपाट गरी ३५ लाख लैजाने पक्राउ

मेरोन्यूज २०७९ जेठ २३ गते १४:३९

काठमाडौँ । काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगर २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्ट नजिक खाजा घरमा लुटपाट गर्नेलाई पक्राउ गरेको हो ।

पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट लुटेराले ३५ लाख रुपैयाँ लुटपाट गरेको थियो । यसमा संलग्न नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौँको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ ।

पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरुलाई पनि चाँडो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया