शुक्रबार, वैशाख १४, २०८१

संग्रहालय बनाउने नाममा पूर्व आईजीपी केसीले गरे ३० लाख रुपैयाँ दुरुपयोग

मेरोन्यूज २०७९ वैशाख २७ गते २१:४६

काठमाडौँ । सशस्त्र प्रहरीमा आईजीपीको कार्यकाल ३२ वर्ष बनाउन घर जाने अन्तिम दिनसम्म जोडबल गरेका सशस्त्र प्रहरीका पूर्व आईजीपी पुष्पराम केसीले संग्रहालय बनाउने नाममा झण्डै ३० लाख रुपैयाँ खर्च गरेको रहस्या खुलेको छ । १९ दिन आईजीपी हुँदा व्यापक मात्रामा संगठन सुधारको सस्तो प्रचार गरेका उनले बिना टेण्डर र बिना कोटेसन मनमौजी ढंगले रकम दुरुपयोग गरेका हुन् ।

संग्रहालय बनाउने भन्दै प्रहरीको प्राविधिक सईबाट डीआईजी बनेका कालिदास धौबजीले समेत रकम दुरुपयोग गरेका छन् । संग्राहलयमा केही पूर्व आईजीपीका ड्रेस र केही फोटो झुन्ड्याइएको छ । त्यतिका लागि जाँदाजाँदै लाखौँ रुपैयाँ दुरुपयोग भएको छ ।

यता आफ्नै पिए विनोद कार्की र उमेश थापाको व्यक्तिगत ल्यापटपमा १९ दिन विभाग चलाएका केसीले अनुगमन इकाई गठनका नाममा मातहत इकाईमा आतंक मच्चाएका थिए । कार्य र मानव श्रोत विभागलाई निस्तेज पार्दै देशभरबाट पीटी र रोलकल हाजिर पठाउन लगाएर विभागीय काम कारबाही प्रभावित पारिएको थियो ।

योसँगै एकेडेमी बस्दा राशनको पैसामा खाएका केसीले हरेक दिन देशभरिका युनिटको राशन हिसाब मागेर आतंक सृजना गरेको श्रोत बताउँछ । यता नयाँ बढुवा भएका डीएसपीको पदस्थापनसमेत व्यक्तिलाई सोधेर दुई जना पीएले मिलाउने प्रयास गरेका थिए । तर, त्यो सम्भव नभएपछि उनी पदस्थापन गर्नसमेत असफल भएका थिए ।

उनले डीएसपी बढुवामा समेत आफ्नै पीए कार्कीलाई एक नम्बरमा ल्याएका थिए । आईजीपी सचिवालयमा रहेको बांकेट हलसमेत मासेर संग्रहालयको नाममा रकम दुरुपयोग हुँदा सचिवालयमा हुने सामान्य कार्यक्रममा चिया खाने ठाउँसम्म नभएको श्रोतले बतायो ।

पूर्व आईजीपी केसी घर जाने दिन सरकारी निवासबाट सामान हराएको श्रोत बताउँछ । आईजीपी चढ्ने तीन तारे गाडी २४ घण्टा सचिवालयअगाडि राखेर केसी चाहिँ प्राइभेट गाडीमा हिँड्ने गरेका थिए । विभिन्न होटलमा बसेर ३२ वर्षको लबिङमा लागेका उनले यसमा डीआईजी सिपी गौतम, एसएसपी युवराज अर्याल र एसपी होम ज्ञवालीलाई परिचालन गरेका थिए ।

सचिवाललाई समेत बाइपास गरेर दुई वटा ल्यापटपमा संगठन चलेको श्रोत बताउँछ । त्यसबेला बेलुका ५ बजेपछि सचिवालय चलायमान हुने गरेको र रात परेपछि गौतम, अर्याल र ज्ञवालीलगायतको इन्ट्री हुने गरेको श्रोतले जानकारी दिए ।

१९ दिन आईजीपी हुँदा केसीले एसएसपीभन्दा माथिको दर्जाले प्रयोग गर्ने हरियो मसीसमेत गृहका केही व्यक्तिलाई खुसी पार्न हटाएका छन् भने सिन्धुपाल्चोकको गण हटाएर आफ्नै जिल्ला नुवाकोटमा सार्ने प्रयाससमेत गरेका थिए ।

प्रतिक्रिया