शुक्रबार, वैशाख १४, २०८१

उपमेयरका उम्मेदवार शाह भन्छन् : टीकापुरले जित्ने गरी भोट हालौँ

मेरोन्यूज २०७९ वैशाख २६ गते २०:३८

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि टीकापुर नगरपालिकाको उपमेयर पदमा खडक शाहले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट टीकापुरको उपमेयरमा उम्मेदवारी दिएका उनले नगर विकासको एजेण्डाका कारण आफूले जित्ने बताउँदै आएका छन् । उनै शाहसँग मेरोन्यूज डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

१, तपाईंले टीकापुर नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनु भएको छ, कत्तिको तयारी गर्नु भएको छ ?

हामीले तयारी त गरिरहेका छौँ । केही दिनदेखि चहलपहल चाहिँ अलि शान्त भएको छ । पहिलापालीको जस्तो चहलपहल छैन । अहिले चुनावी आचार संहिता लागु भएकाले पनि होला । सन्तुलित तरवबाट नै चुनावी तयारी भइरहेको छ ।

२, जनताहरूसँग तपाईंले के कस्ता एजेण्डाहरू लिएर भोट माग्नु भएको छ ?

जनताको बीचमा जाने भनेको विकासकै एजेण्डा लिएर जाने हो । कसैले क्रमागत विकास गर्छन् । कसैले गुणात्मक विकास गर्छन । हामीले चाहिँ क्रमागतभन्दा पनि गुणात्मक विकासमा जोड दिन्छौँ । लामो समयदेखि टीकापुरमा विकासले फड्को मार्न सकिरहेको छैन, विकासको गतिमा अवरोध आएको छ । यसलाई हटाएर हामीले टीकापुरको विकासमा जोड दिन्छौँ । तत्काल हामी सर्ट टर्म, मिड टर्म र लङ टर्मको विकासमा जाने छौँ । विकासको सन्दर्भमा लामो समयदेखि टीकापुरले क्षति भोग्दै आएको छ, आजसम्मको क्षतिपूर्तिको विकासको पहल गर्ने, स्थानीय शासन र स्वरुपको उच्चतम प्रयोग गर्ने, केन्द्र सरकार र प्रदेश सरकार विकासको पहल गर्ने, दातृ निकायसँग टीकापुरको विकासमा जोड दिने जस्ता एजेण्डाहरू हामीले लिएका छौँ ।

३, जनताहरूले तपाईंलाई कसरी सम्बोधन गर्नु भएको छ ? तपाईंको पक्षमा कत्तिको उत्साहित देखिनु भएको छ ?

एकदमै, उहाँहरू हाम्रो पक्षमा उत्साहित हुनु भएको छ । हामीले यसअघि जुन संघसंस्थामा बसेर काम गरेका थियौँ । हामीले परीक्षा दिएका छौँ । यसबाट उहाँहरूले हामीलाई काम गर्छ भन्ने विश्वास गर्नु भएको छ । उहाँहरूको सपना साकार पर्ने देख्नु भएर होला हाम्रो टिममाथि विश्वास गर्नु भएको छ । हाम्रो टिमप्रति उत्साहित हुनु भएको छ ।

४, तपाईंहरू जनताको बीचमा जाँदै गर्दा के विषयलाई बढी मात्रामा जोड दिनु भएको छ ?

हाम्रो प्रतिबद्धता पत्रहरू हामले हाम्रो मुख्य विकासको विषयमा लिपिबद्ध गरेर जनतालाई दिएका छौँ । हामीले पहिलो कुरामा शिक्षालाई जोड दिएका छौँ । त्यसपछि हामीले टीकापुरको विकासको गति र जुन किसिमको सामाजिक द्वन्द्व रहेको छ, त्यसलाई हल गर्ने र सिंगो टीकापुरबासीलाई एकै ठाउँमा राखेर सुझाव र सल्लाह लिएर एक रुपतामा काम गर्ने । शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगार जस्ता विषयलाई लिएर हामीले मुख्य विषयसहित प्रतिबद्धता पत्र जनतामाझ पेश गरेका छौँ ।

खासगरी, हामीले पाँच वर्षमा १० वटा गौरवका योजनाहरू तयार गर्ने प्रतिबद्धता पत्रमा जनाएका छौँ । हामीले एक वर्ष, दुईदेखि पाँच वर्ष र दीर्घकालीन रुपमा हुने गरी विकासको योजना बनाएका छौँ । दीर्घकालीन विकासको योजनाले ५० वर्षसम्म काम गर्ने गरी तयारी गरेका छौँ ।

५, तपाईंले जस्तै तपाईंका प्रतिद्वन्द्वीले पनि चुनावी योजना र एजेण्डा बनाउनु भएको होला, यसबीचमा तपाईंको विजयको आधार चाहिँ के हो ?

हामीभित्र रहेको दृढ इच्छा शक्तिका कारण पनि हामीले चुनाव जित्न सक्छौँ । प्रतिबद्धताहरू हिजोका दिनमा पनि भएकै हो । तर, हामीले गर्ने काममा अरूको भन्दा फरक किसिमका मान्छे पनि हौँ । हामी आबद्ध भएको संस्थाको विकास र हामीले ती संस्थामा गरेको परिवर्तनले पनि यिनीहरूले काम गर्छन है भनेर जनताका माझमा प्रमाणित गरेको हुनाले पनि यही हाम्रो विजयको मुख्य आधार हो ।

६, अन्तमा केही भन्नु हुन्छ ?

मैले पटकपटक भन्दै आएको छु कि आजसम्म टीकापुरले जित्न सकेको छैन । योपटक हामीले हाम्रा मान्छेभन्दा पनि टीकापुरलाई जिताउने, टीकापुर जित्ने र टीकापुरको सम्मुनत विकासमा काम गर्नेलाई जिताउन आग्रह गर्दछु ।

अहिले टीकापुरमा गठबन्धनको शक्तिशाली जो उम्मेदवार छौँ । यो अवसरलाई टीकापुरबासीले आफ्नो सपनालाई साकार पार्न दृढ इच्छा शक्तिका साथ विकास नभएको अवस्थामा हामीले क्षतिपूर्ति लिने गरी काम गर्छौं, उहाँहरूले पनि हामीलाई अवसर दिनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया