शनिबार, वैशाख १५, २०८१

बाघको आक्रमणमा आँखा गुमाएका भदै : जसलाई टाइटानिक फिल्मका हिरोले दिए चस्मा

नरेन्द्र रौले २०७९ वैशाख १७ गते १८:२३

कुनै–कुनै मिति जीवनमा भुल्न सकिदैन । जस्तो कि भदै थारुको मनबाट एउटा मिति कहिल्यै मेटिएन । त्यो हो, २०६० साल पुस २२ गते– दिउँसो १ बजे । उनको मनमा नमेटिने गरी बसेको घटना जोडिएको छ, यो मितिसँग ।

मधुवन नगरपालिका ३ बर्दियाकस्थित खाता जैविक मार्गका बासिन्दा हुन्, भदै । गौरीमहिला सामुदायिक वनको अध्यक्षको पद सम्हालेको १८ वर्ष भयो, उनले । सामुदायिक वन समन्वय समितिको उपाध्यक्षका रुपमा कार्यरत उनी जंगल अनुगमन गर्न जाँदा बाघसँग जम्काभेट भयो । जंगलमा बाघले एक्कासी झम्ट्यिो ।

शुरुमा उनलाई पत्तै भएन के भयो भनेर । उनी घोप्टो परे । बाघले माथिबाट च्यापिहाल्यो । बाघले थारुको एउटा आँखा झिक्यो । बाघलाई उनले दुई मुक्का प्रहार गरेपछि छाड्यो ।

चिच्याउँदै भदै त्यहाँबाट उम्किए । गाउँलेले उनलाई बोकेर घरसम्म ल्याए । नेपालगञ्जमा फत्तेबाल आँखा अस्पतालमा उनको अप्रेसन भयो । उपचार त भयो । तर, उनको बायाँ आँखा सधैँका बन्द भयो ।

आँखाको ज्योती सधैँका लागि गुमिसकेको थियो, उनको । रिस यसरी उर्लिएर आउथ्यो, बाघलाई पासो लगाएर मार्छु भन्ने लाग्थ्यो । तर, जबजब उनलाई पीडा कम हुँदै गयो, तब उनको रिस मर्दै गयो ।

यसैबीच उनलाई भेट्न आउनेहरू बाघले आँखा निकालेको मानिस बाँच्दैन भन्थे । मानिसहरू उनको नजिक आएर बोल्न डराउँथे । बरु उनी आफै भन्थ ‘ए साथीहरू बोल न, पीडा त मेरो मनमा छ, किन डराउँछौ ? अब म बचिहालेँ, अब तपाईंहरू भेटघाट गर्न आउनु होस् ।’

बाघको आक्रमणमा परी आँखा गुमाएका तिनै भदै अहिले वन्यजन्तु संरक्षणमा क्रियाशिल छन् । वन्यजन्तुको संरक्षण गर्नु सबैको दायित्व हो, भन्ने शिक्षा उनले बाँड्न थालेका छन् । विभिन्न कार्यक्रममा वन्यजन्तु संरक्षणका गीतहरु गाउँदै हिँड्न थाले । स्वतस्फूर्त रुपमा गरिएको उनको यस्तो कामले लोकप्रियता पाउँदै गयो । यो अभियानकै रुपमा फैलिँदै गयो । सार्वजनिक कार्यक्रममा उनको माग बढ्दै गयो ।

०६१ सालमा विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्यूएफ)ले थारुलाई संरक्षणका क्षेत्रमा विशेष सम्मान प्रदान ग¥यो । भारतीय राजदूतको हातबाट उनले सम्मान ग्रहण गरे । ‘बाघ मानिसकै कारण धेरै देशमा लोप भएको छ, यसको पनि बाँच्ने अधिकार छ,’ भदै भन्छन्, ‘उसको बास स्थानमा हल्ला गर्दा उसले मलाई आक्रमण गरेको हो ।’ बाघ बस्ने स्थानमा हल्ला गर्नु हुँदैन भन्ने उनले त्यही घटनापछि सिकेका हुन् ।

खाता सामुदायिक वन समन्वय समितिले थारुलाई ६ वर्ष चोरी सिकारी नियन्त्रण दलको संयोजक बनायो । राति बाघलाई पासो लगाउने, मार्ने, चोरी निकासी गर्ने भारतका इलाहाबादका ६ जना व्यक्तिलाई उनले पक्रिए । त्योबेला देशमा संकटकाल थियो । नेपालीसँग मिलेर वन्यजन्तु चोरी निकासी गर्ने ती भारतीयलाई उनले निकुञ्जमा बुझाइदिए ।

खाता सामुदायिक वन समन्वय समितिमा जोडिएपछि उनले थुप्रै काम गरे । यस समितिमार्फत तीन सय युवाले राति गस्ति गर्थे । त्यसको परिचालन उनैले गर्थे । दिपावलीमा भैलो खेलेर जनचेतना जगाउने काम गर्थे ।

वन र वन्यजन्तुको संरक्षणमा कस्सिए, उनी । युवाहरु, स्थानीय जनता, उपभोक्ताको साथ मिल्यो । विस्तारै विश्व वन्यजन्तु कोष, नेपाल सरकार, ताल आदिको आर्थिक प्राविधिक सहयोग मिल्यो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा बर्दियाको खादा क्षेत्र वन्यजन्तु चोरी सिकार शून्य बनाए ।

पहिला एउटा मयुर देख्ने बित्तिकै दस जना सिकारी भेटिन्थे । एउटा बाघ, चित्तल देख्ने बित्तिकै तस्कर जाल लगाएर मार्थे । हरेक दसैँ, तिहारमा जंगलमा सिकार खेल्न आउने भेटिन्थे । धनी र जमिन्दार हतियार बोकेर हरेक दिन सिकार खेल्ने चलन थियो । जब सामुदायिक वन बन्यो, जनता जागरुक बनेर संरक्षणमा जुटे तब चोरी, सिकारी नियन्त्रण भयो ।

भदै आफै जंगल डुल्ने क्रममा कैयौंपटक चोरी सिकारीसँग भेट भए । कतिले उनलाई धम्की दिए । संकट कालमा सिकारीले गोली तेस्र्याउँदै, ‘यो गोली त खान्छन्, त चोरी सिकारी बन्द गर्ने ?’ भनेर धम्क्याए ।

चोरी सिकारी गर्नेलाई नाटक देखाएर, कला र संगीतका माध्यमार्फत थारु र उनको समूहले जनचेतना जगाउन छाडेनन् । उनीहरूलाई चोरी सिकारी गर्नु गलत हो भन्ने बुझे । वन र वन्यजन्तु भनेका हाम्रा सम्पत्ति हुन्, यी रहेनन् भने हाम्रो अस्तित्व रहँदैन भन्ने कुरा बुझाए ।

बर्दियाको खादा क्षेत्रले कसरी वन्यजन्तु संरक्षणमा सफलता पायो भन्ने कुरा सिक्न अहिले विभिन्न क्षेत्रबाट मानिस आउँछन् । विद्यार्थी, विभिन्न देशका व्यक्ति, अनुसन्धाकर्ता आउने गर्छन् । फरक पेशा र विधाका व्यक्तित्वसँग भेटघाट गर्न पाउँदा उनलाई राम्रो काम गरेका छौँ भन्ने लाग्छ ।

टाइटानिक फिल्मका हिरो दिए चस्मा उपहार

बर्दियाको मधुपन नमुना गाउँ उद्घाटनका लागि अमेरिकाबाट आइपुगेका थिए, टाइटानिक फिल्मका हिरो लियोनार्दो डि क्याप्रिओ । नेपालमा उनलाई पाटे बाघ हेर्ने रहर रहेछ । विश्व वन्यजन्तु कोषको निम्तोमा आएका उनी सद्भावना दूत नियुक्त भएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न रातभर बसे । बाघ हेर्ने मौका पाएनन्, उनले । ०७५ तिरको कुरा हो । एक बिहान टाइटानिक फिल्मका हिरो लियोनार्दोले वन्यजन्तु संरक्षणकर्मी भदैसँग भेट भयो । ‘उहाँले २०–२५ मिनेट अंग्रेजीमा अन्र्तवार्ता लिनु भयो, विश्व वन्यजन्तु कोषकै कर्मचारीले सहयोगी भूमिका खेल्नु भयो,’ भदैले त्यो पल सम्झिदै भने, ‘मेरो काम मन पराएर आफूले लगाएको चस्मा नै खोलेर मलाई उपहार दिनु भयो ।’

थारुले आफ्नो सबै कहानी र घटना टाइटानिक फिल्मका हिरो लियोनार्दोलाई सुनाइदिए । ‘मलाई तपाईसँग भेटघाट गर्न पाउँदा खुसी लाग्यो, तपाईले आँखा गुमाएर पनि बाघको संरक्षणमा लाग्नु भएको छ,’ लियोनार्दोले भने छन्, ‘विश्वमा तपाईं जस्ता मानिस कम छन्, तपाई बहादुर मानिस हो, मेरो चस्मा तपाईंलाई उपहार भयो ।’

जब आफूले लगाएको त्यो चस्मा समाउँन पुग्छन्, उनलाई लियोनार्दोको याद अनायासै आइहाल्छ । बाघ भनेको नेपालको मात्र सम्पत्ति होइन, विश्वकै सम्पत्ति हो । तपाई विश्वको सम्पत्ति हो भनेर लियोनार्दोले भनेको कुरा उनको मस्तिष्कमा ताजै छ ।

टाइटानिक फिल्मका हिरो लियोनार्दोले उपहार दिएको चस्मा भनेपछि एक लाख रुपैयाँ बेचिदिन खोजे । तर, उनी आफूले पाएको उपहार कहाँ सजिलै बेच्थे र ? भदैसँग फोटो खिचाउँनेको भीड त कति हो कति !

वन र वन्यजन्तु संरक्षणमा जीवन समपर्ण गरेका भदैले अन्त कतै जागिर गरेनन् । स्वंयसेवक बनेर उनी प्रकृति, वन्यजन्तु जोगाउनकै लागि दौडिरहे ।

योसँगै उनी बर्दियाको खादा क्षेत्रमा विदेशी पर्यटकलाई घुमाउँछन् । यस क्षेत्रको प्रकृति, वातावरण, वन्य जन्तु, आफूले संरक्षणका लागि गरेको पहलबारे घुम्न आउनेलाई जानकारी दिन्छन् ।

कसरी मानव र प्रकृति, वन्यजन्तु अन्तर सम्बन्धित छ ? किन हामीले किराफट्याङ्ग्रा, चराचुरुङ्गी, वनस्पति, जलचर प्राणी जोगाउनु पर्छ ? त्यसबारेमा जानेका, सिकेका कुरा बताउँछन् ।

यी सबैको जगेर्ना नगरे भोलिका पुस्ताले देख्न नपाउने भन्दै उनी भन्छन्, ‘बचौँ र बाँचौँ भन्ने सन्देश दिन चाहन्छु ।’

प्रतिक्रिया