सोमबार, वैशाख २४, २०८१

बागी विद्रोही, अर्को पार्टीमा जाने प्रवृति एमालेमा सुहाउँदैन : ओली

अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो

मेरोन्यूज २०७९ वैशाख १३ गते ११:४२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय विपरित बागी उम्मेदवारी दिने, टिकट नपाएपछि अर्काे पार्टीमा जाने प्रवृत्ति एमालेमा नसुहाउने बताएका छन् । मनमोहन स्मृति दिवसमा मंगलबार विहान आयोजित कार्यक्रमलाई सम्वोधन गदैं अध्यक्ष ओलीले अहिले एमालेले एकमना एकताका साथ उत्तेजनामा नआई अपराधिक गठबन्धनलाई हराउन सवै एमालेजन लाग्नुपर्ने बताए । उनले सत्तागठबन्धन दललाई अपराधिक गठबन्धनको आरोप पनि लगाए ।

Advertisement

‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’ अध्यक्ष ओलीले भने ।

उनले एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आग्रह पनि गरे । पार्टीप्रति निष्ठावान र बफादार नेता कार्यकर्ता सवैको उपयुक्त समयमा न्याय मिल्ने र सबैका असन्तुष्टिको सम्बोधन गरिने ओलीले पनि बताए ।

ओलीले कांग्रेसले गठबन्धन गर्दा कतै पनि जित्न नसक्ने अवस्था आएपछि प्रचण्ड र माधव नेपालहरु वोकेर हिडेको आरोप पनि लगाए । तर उनले जसको जनमत नै छैन, उसैलाइ बोकेर हिड्ने कांग्रेसको पनि हविगत उस्तै हुने बताए ।

कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको आरोप ओलीले लगाए । ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।’

ओलीले कांग्रेसले घोषणापत्रमार्फत आफु र आफुले नेतृत्व गरेको सरकारमाथी लगाएको आरोप पागलहरुको प्रलापको रुपमा चित्रित गरे । उनले भने, -‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

प्रतिक्रिया