आइतबार, वैशाख २३, २०८१

‘एस म्यान’ आईजीपीको खोजीमा सरकार !

चार एआईजीको दाबी, कसको चरित्र कस्तो ?

दया दुदराज २०७९ वैशाख ५ गते २१:०६

काठमाडौँ । स्थानीय निर्वाचनको मिति चैत ३० गतेका लागि तोकिएको छ । निर्वाचनकै सम्मुखमा नेपाल प्रहरीको नेतृत्वमा समेत परिवर्तन आउन लागेको छ । हालका प्रहरी प्रमुख शैलेश थापा क्षेत्री यही वैशाख १९ गते ३० वर्षे सेवा अवधि सकेर अनिवार्य अवकासमा जाँदैछन् । उनको अवकाससँगै प्रहरीमा नयाँ नेतृत्व आउने छन् ।

Advertisement

अब आउने प्रहरी प्रमुख अर्थात २९ औँ प्रहरी महानिरीक्षकले नै चिर्वाचनको नेतृत्व गर्ने हुँदा अबको आईजीपी को बन्ने ? विषयमा रस्साकस्सी शुरु भएको छ । चुनावको सम्मुख भएकै कारण सरकार पक्षले आफ्नै फेवरको प्रहरी प्रमुखको खोजी गरिरहेको त होइन ? भन्ने प्रश्न एकाएक संगठनभित्र गुञ्जिएको छ ।

नेपाली प्रहरीमा महानिरीक्षकको नियुक्ति जेष्ठता‚ कार्य दक्षता र कार्य सम्पादन मूल्यांकनलाई आधार मानेर गर्ने प्रचलन छ । तर, सरकारले आफ्नो फेवरमा रहेको मान्छेलाई नै आईजीपी बनाउने हो कि भन्ने प्रश्न पूर्वप्रहरी अधिकारीहरूले जिकिर गरेका छन् ।

एआईजीको दरबन्दी थप गरेर आईजीपीको प्रत्यासी बढाउनु र सिनियरलाई छाडेर जुनियर डीआईजीहरूलाई एआईजीमा बढुवा गर्नुका कारण सरकारले आफूनिकट प्रहरी अधिकारीको खोजी गरिरहेको हुन सक्ने एक पूर्व प्रहरी अधिकारी टिप्पणी गर्छन् । सके आफू अनुकूलको आईजीपी बनाउने नकसे दौडमा अग्रपंतिमा रहेकालाई गलाएर आफ्नो एसम्यान बनाएर नियुक्ति दिने रणनीति अख्तियार गर्न खोजेको घटनाक्रमले देखाएको उनको भनाइ छ ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजीमध्येबाट गर्ने उल्लेख छ । एआईजी नियुक्ति नभएको अवस्थामा आईजी नियुक्ति डीआईजीबाटै गर्न सकिन्छ । यसपटक नेपाल प्रहरीमा चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी) विश्वराज पोखरेल, शहकुल थापा, धीरजप्रताप सिंह र रविन्द्र तीव्र प्रतिस्पर्धामा देखिएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्साल

प्रहरी संगठनमा अबको नेतृत्वका लागि मुख्य प्रतिस्पर्धामा अहिलेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा छन् । अहिले पुनः एआईजीको दरबन्दी थप गरी तीन जनालाई एआईजीमा बढुवा गरेको छ । वसन्तकुमार पन्त‚ धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई ०७८ चैत १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बढुवा गरेको हो । उनीहरूमध्य पन्त वैशाख १९ गते नै अवकाशमा जानेछन् ।

सिंह र धानुकको बढुवासँगै आईजीपीको प्रत्यासी बढेको हो । आईजीपीको दौडमा रहेका चारै जना प्रतिस्पर्धी २०४९ चैत ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका थिए । २०६२ जेठ २२ मा प्रहरी नायब उपरीक्षक (डीएसपी)मा पनि सँगै बढुवा भएका हुन् ।

विश्वराज पोखरेल

एआईजीपी विश्वराज पोखरेलले २०४९ साल चैत्र २९ देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । पोखरेल एसपी बढुवासम्म आफ्नो ब्याचको पाँचौँ स्थानमा थिए । त्यो बेलासम्म सीआईबीमा रहेका डीआईजी धीरजप्रताप सिंह ब्याचको १ नम्बरमा थिए । एसएसपी बढुवादेखि भने पोखरेलले फड्को मार्न थाले । २९ साउन, २०७४ मा एसएसपीमा बढुवा भएका पोखरेल आफ्नो ब्याचको एक नम्बरमा पुगेका थिए ।

विश्वराज पोखरेल

हालका आईजीपी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलादेखि नै अघिल्लो ब्याचकालाई पछि पारेका थिए । सडक दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएसँगै पोखरेल वैशाख २०७६ मा एकल डीआईजीमा बढुवा भए । उनको निरन्तरको बढुवालाई लिएर प्रहरी संगठन नै आलोचित बन्न पुगेको थियो । साथै प्रहरीको चेन अफ कमाण्डमाथि नै प्रश्न उठेको थियो ।

आईजीपीका प्रखुम दाबेदार पोखरेल अन्य प्रत्यासीका तुलनामा बलियो दोबेदार मानिन्छन् । पोखरेल ०७७ साल मंसिरमा नै एआईजी भएकाले जेष्ठताको आधारमा उनी अरूभन्दा अघि रहेका छन् । उनी केपी शर्मा ओलीको सरकारमा एआईजी बनेका थिए ।

साथै, उनी केपी ओलीको सरकारमा बढुवा भएकाले कांग्रेसको प्रधानमन्त्री र गृहमन्त्री नै कांग्रेसको भएका हुँदा उनलाई आईजीपी बनाउन नहुने उनी विरोधीको तर्क छ । तर, पोखरेलको विगतको राजनीतिक पृष्ठभूमि कांग्रेस नै भएको तथा वरियतामा पनि सबैभन्दा अघि रहेकाले यो दौडमा उनी सबैभन्दा अगाडि देखिन्छ ।

सहकुल थापा

वरियताको हिसाबमा दोस्रो नम्बरमा रहेका शहकुल थापालाई समेत आईजीपीको दाबेदारमा लिइन्छ । २०४९ चैत ११ गतेबाट प्रहरी उपरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा खटिएका एआईजीपी थापा प्रहरी प्रमुख अर्थात आईजीपीका प्रबल दाबेदार मानिन्छन् । उनी अब्बल प्रहरीका रुपमा परिचित छन् । थापालाई पूर्ववर्ती ओली सरकारले ‘अस्वाभाविक’ रुपमा बढुवा गरेको थिए ।

शहकुल थापा

एआईजी थापा २०७८ असार १५ मा दरबन्दी थप गरी एआईजीमा बढुवा गरिएको थियो । वरियताको हिसाबमा उनी सिंह र धानुकभन्दा बलियो दाबेदार हुन् । थापाले सीआईबी र अपराध अनुसन्धान महाशाखामा रहेर राम्रो काम गरेका थिए ।

थापालाई समेत एआईजीको दरबन्दी खडा गरेर उनलाई बढुवा गरिएको थियो । उनलाई केपी ओलीकै नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेकाले उनीमाथि पनि विरोधीहरूले एमालेनिकटको आरोप लगाउने गरेका छन् ।

धीरजप्रताप सिंह

वरियताको तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंह प्रहरी प्रमुखको दाबेदार हुन् । कर्णाली दैलेख स्थायी घर भएका उनी आईजीपीका मुख्य प्रतिस्पर्धी देखिएका छन् । उनी गत ०७८ चैत १७ गते एआईजीमा बढुवा भएका थिए । सिंहले एसपी हुँदासम्म आफ्नो ब्याचीमा अगाडि रहने सफलता हासिल गरे । तर, एसएसपी र डीआईजी बढुवा हुँदा पछि परे ।

धीरजप्रताप सिंह

एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हालेका उनले त्यहाँ राम्रो काम गरेसँगै चर्चा कमाए । डीआईजी बढुवापछि सिंह मधेस प्रदेशको कमाण्ड सम्हाल्न पुगेका थिए । त्यसपछि उनी सीआईबीमा रहेर काम गरे । सीआईबीमा ललिता निवास प्रकरण र सिभिल सहरीको केसमा राम्रो काम गरेका थिए ।

धीरज सुदूरपश्चिमको हुनुले पनि आईजीपी बन्ने सम्भावना बलियो रहेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिमको हुनु र उनले आफ्नो क्षेत्रलाई निकै प्राथमिकता दिने गरेको इतिहासबाट सिंहको सम्भावना बलियो बन्न पुगेको हो ।

रवीन्द्र धानुक

वरियताको हिसाबमा चौथो नम्बरमा रहेका रवीन्द्र धानुक पनि सुदूरपश्चिमकै स्थायी बासिन्दा हुन् छ । आफ्नो ब्याचका एआईजीमध्ये उनी चौंथो वरियतामा छन् । धानुक हालै तीन एआईजीको दरबन्दी थपिएर भएको बढुवामा तेस्रो नम्बरमा परेका हुन् ।

रविन्द्र धानुक

उनी वर्तमान अर्थमन्त्री जर्नादन शर्मानिकट मानिन्छन् । उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । धानुकले महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुर दुवैको कमाण्ड सम्हालेका छन् । डीआईजी हुँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका उनी चौंथो नम्बरमा भएकाले सजिलो देखिदैन ।

प्रहरी नियमावली र वरियताको हिसाबमा बढुवा गर्ने हो भने एआईजी पोखरेलको बढुवा हुने निश्चित छ । तर, सरकारले आफ्नो फेवरको वा निर्वाचन केन्द्रीत रहेर आईजीपीको खोजी गरको हो भने, प्रतिस्पर्धामा रहेका जो कोही पनि हुन सक्ने छ । सरकारको पछिल्लो कार्यशैली हेर्दा आईजीपीको दौडमा रहेकामध्ये पोखरेल र सिंहबीच बढी प्रतिस्पर्धा हुने देखिएको छ ।

किनकी देउवाले पोखरेलको विकल्पमा सिंहलाई सार्ने सम्भावना बढी छ । तर, चुनावकै मुखमा वरियता मिचेर आईजीपी बनाउँदा त्यसले चुनावको मतभारमै नकारात्मक प्रभाव पार्न सक्ने भएकाले देउवा यसबारेमा हल्का रुपमै अघि बढ्ने मनस्थितिमा छैनन् । यस्तोबेला प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यान पोखरेलबाट कस्तो सहयोग पाउन सक्छौँ भन्ने आकलनमा केन्द्रीत छ ।

सरकारले अन्य एआईजीको आईजीपीमा सम्भावना भएको हल्ला चलाएर पोखरेललाई अहिले दबाबमा राख्न चाहेको देखिन्छ । त्यसो त पोखरेल प्रहरीमा त्यस्तो कडा स्वभावका अधिकारी मानिदैँनन् । यस्तो बेला पद गुम्नुभन्दा पद पाउन जस्तोसुकै सहमति पोखरेलले गर्न सक्ने सम्भावना देखिन्छ ।

चतुर खेलाडी पोखरेलले देउवालाई एसम्यान बन्ने विश्वास दिलाउन सकेमा उनकै पल्ला भारी हुने सम्भावना छ । आइतबार सशस्त्र प्रहरीमा वरियता नमिचेर एआईजी बनाएको घटनाले पोखरेललाई सहज हुने देखिन्छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया