बुधबार, वैशाख २६, २०८१

एमालेको जनसांस्कृतिक महासङ्घमा नयाँ नेतृत्व

मेरोन्यूज २०७८ चैत २१ गते ६:४६

काठमाडौं । नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ ।

Advertisement

महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव तथा कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी चयन भएका छन् ।

एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए ।

बन्दसत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरेका ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो । यही चैत १८ गते एमालेका अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । महासङ्घ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन पनि शनिबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया