बिहीबार, वैशाख २७, २०८१

यी हुन् काठमाडौं कांग्रेसका मेयरका आकाक्षी

सञ्जिता खनाल २०७८ चैत २० गते १९:३६

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । घोषित मिति अनुसार निर्वाचन आउन अब मात्र ४१ दिन बाँकी छ । चुनावी सरगर्मी पनि सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न पार्टीका ट्याग भिरेका देखि स्वतन्त्र दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् ।

Advertisement

विशेष गरेर महानगरको बागडोर सम्हाल्न सत्तारुढ दल नेपाली कांग्रेसबाट आकांक्षीको संख्या बढी देखिन्छ । तीर्थराज डंगोल, हरिप्रभा खड्गी, सबुज बानियाँ, प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल, नीलकाजी शाक्य, सुसान बैद्य र ईन्द्रलाल सिंह अहिले कांग्रेसमा मेयरका आकाक्षी देखिएका छन् ।

डंगोल २०७४ सालको मेयरको दाबेदार थिए । पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । महानगरपालिकाका वर्तमान उपप्रमुख हरिप्रभा खड्गी कांग्रेसबाट महानगर प्रमुखको स्वाभाविक आकांक्षी हुन् । २०७४ सालमा भएको चुनावमा कांग्रेसले मेयर पद गुमाउँदा उनी भने विजयी बनेकी थिइन् । ‘म स्वाभाविक उमेदवार हुँ । पार्टी र जनताको प्रतिनिधित्व गरेर मैले काम गरिरहेकी छु,’ खड्गीले भनिन् ‘सम्पदा पुनःनिर्माणदेखि महानगरको हरेक गतिविधिमा मेयरसँग भिडेर काम गरिरहेकी छु । पार्टीले यसको मूल्यांकन गर्नुप¥यो ।’

कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । खड्गी, डंगोल, जोशी, शाक्य र रिजाल नेता सिंह निकट हुन् । काठमाडौंका एक नेताका अनुसार प्रकाशमानले पत्नी सिर्जनालाई उपमेयरमा अगाडी सारे डंगोलको मेयरमा टिकट पाउँने सम्भावना बढ्छ ।

यता, कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । सबजुको दाउ भिमसेनदास मेयरमा उठेमा आफु सांसदमा उठ्ने छ । अहिलेसम्म भिमसेन दासले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नदेखाएको अर्का एक नेताले बताए ।

त्यसैगरी, मेयरकै आकांक्षी काठमाडौं महानगर कांग्रेस सभापति निलकाजी शाक्य रहेका छन् । शाक्य २५ नम्बर वडाका अध्यक्ष समेत हुन् । उनले आफु पार्टीको वफादार सिपाही भएर लामो समयदेखि काम गरिरहेको बताए । उनले भने, ‘वडाका साथीहरुले तपाईं जस्तो धार्मिक र लगनशील व्यक्तिले अब महानगरको नेतृत्व लिनुपर्छ भन्नु भएको छ । नेताहरुसँग पनि कुरा गरिरहेको छु ।’

२०७४ सालको निर्वाचनमा मेयरमा राजुराज जोशी पराजित भएका थिए । उनी स्वर्गिय कांग्रेस नेता नविन्द्रराज जोशीका दाई पनि हुन् । प्रगतिमान रञ्जित सभापति देउवा निकट हुन् । सुशन वैद्य महानगरपालिकाका सचिव हुन् । वैद्य पेशाले इन्जिनियर हुन् । वैद्य खुल्लामञ्चको अतिक्रमित जग्गा बचाउने अभियानमा सक्रिय थिए । उनले पुरातात्विक महत्वका क्षेत्रको संरक्षणमा काम गर्दै आएका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसनको पूर्व कोषाध्यक्ष वैद्य, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह निकट छन् । मुकुन्द रिजाल वडा नम्बर १६ का वडा अध्यक्ष पनि हुन् ।

त्यसैगरी, ईन्द्र लाल सिंह पुर्व मेयर पिएल सिंहका भाई हुन् । उनी पर्यटन व्यवसायी हुन् । उनी पनि काठमाडौंको मेयरका आकाक्षी देखिएका छन् । महानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकार कांग्रेसको विधान अनुसार, केन्द्रीय समितिलाई छ । केन्द्रीय समितिले महानगर पार्टी कमिटिले सिफारिस गरेका तीन नाम (एक महिला अनिवार्य) मध्येबाट उम्मेदवार चयन गर्नेछ । उपमहानगर र जिल्लाको प्रदेश संसदीय समितिले निर्णय गर्ने छ ।

काठमाडौंको २०७४ को मत परिमाण फकेर हेर्दा
काठमाडौं महानगरमा एमालेले राप्रपा सँग चुनावी तालमेल गरेको थियो । काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए । शाक्यले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजुराम जोशीलाई १९ हजार २६९को पराकिलो मतले पराजित गरेका थिए । जोशीले ४५ हजार २६९ मतप्राप्त गरेका थिए ।


त्यसैगरी, उपमेयरमा कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन् । खड्कीले प्रतिद्धन्द्धी राजाराम श्रेष्ठलाई २४ हजार ९८ फरक मतले पराजित गरेकी थिईन् । श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरेका थिए ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया