बिहीबार, वैशाख २७, २०८१

कांग्रेसको निर्वाचन अभियान

भोट माग्न गाउँ पुगे कांग्रेसका केन्द्रीय नेताहरु

एमसीसीकाबारेमा भ्रम चिर्नेदेखि मतदान गर्न आग्रह गर्ने

सञ्जिता खनाल २०७८ फागुन २९ गते १९:३१

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचन लक्षित आजबाट ‘घर–घर जाआंै, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ ।

Advertisement

कांग्रेसले यो अभियान आइतबारबाट सुरु गरेर ठीक एक महिना अर्थात चैत २९ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । यसै अभियानका लागि सातै प्रदेशका ७७ जिल्लाका लागि आगामी वैशाखमा ३० मा हुने स्थानीय तहको चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेर जिल्ला पठाएको छ ।

कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसले गरेका कामलाई जनता माझ जानकारी दिन ‘घर–घर जाऔं कांग्रेस जिताऔंँ’ अभियान सुुरु गरिएको बताए ।

उनले भने, ‘गाउँ गाउँमा चुनाब प्रचारमा जाँदा पहिलो संविधानलाई ट्रायकमा ल्याउने काम, कोरोनाबाट जनताको रक्षा एमसीसीको बारेमा भ्रम चिर्ने काम यो अभियानबाट हुनेछ ।’

कतिपय जिल्लामा कांग्रेस जिताऔं अभियान सुरु भइसकेको छ भने कतिपय जिल्लामा पार्टीको जिल्ला अधिवेशन नहुदाँ यो अभियान सुरु भएको छैन । यो अभियानबाट कांग्रेसले (एसटीभिटी) पहिलो पटक मतदान अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।

कांग्रेस जिताऔं अभियानका लागि रौटहट पुगेका केन्द्रीय सदस्य कल्याण गुरुङ्ले एक महिना सञ्चालन हुने यो अभियानले पार्टीका जिल्लाका सबै पालिकाहरुका वडा कार्य समितिका सदस्य र जिल्लाका क्रियाशिल सदस्यहरुलाई पनि बोलाउने कार्य गर्नेे बताए । उनले यो अभियानबाट वडा कार्य समितिले पूर्णता दिने कार्य पनि गर्नेे जानकारी दिए ।

‘यस रौतहटमा १८ पालिका रहेका छन् भने १५७ वटा वडाहरु रहेका छन्,’ उनले भने, ‘जिल्लाका क्रियाशील प्रतिनिधि खटाउने गर्छन् भने यिनै प्रतिनिधिहरुले वडा कार्यसमितिले पूर्णता पाएको छैन भने पूर्णता दिने कार्य पनि गर्छन् ।’

पार्टीको घोषणा बनाउने समिति गठन समेत यही अभियान अन्तर्गत हुन्छ । एमसीसीका बारेमा मानिसमा देखिएको भ्रम चिर्ने काम पनि यो अभियान अन्तर्गत रहेको छ । उनले जनता घर घरमा गएर एमसीसी भनेको विशुद्ध सडक र विद्युतको प्रसारण लाइनमा निर्माण गरिने परियोजना भनेर भ्रम चिर्ने बताए ।

त्यसैगरी, कांग्रेस जिताआंै अभियानका लागि मुस्ताङ पुगेका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कतिपय जिल्लामा यो अभियान यसअघि नै सुरु भएको बताए । उनले भने– ‘मुस्ताङमा यसअघि नै यो अभियान सुरु भएको रहेछ ।’
यो अभियान स्थानीय टोलसम्म पुग्ने कार्यक्रम बनाइएको छ । सोही अनुसार पार्टीका नेता तथा कार्यकताहरु खटिने उनले बताए । उनले भने– ‘कांग्रेस जिताऔं अभियानमा पार्टीका एजेन्डा लिएर जाने र स्थानिय तहका मतदाताका कुरा पनि सुन्ने र (केन्द्रीय) पार्टीलाई जानकारी गराउने काम हुन्छ ।’

उनका अनुसार, यो अभियान विशेष गरेर भन्नुपर्दा सोही जिल्लाका नेता कार्यकता साथीहरुले गर्नुहुन्छ भने केन्द्रबाट जानेले एयर बिल्डिङ् गर्ने काम गर्नुहुन्छ । उनले भने, ‘यो अभियानले जनतासँग जोड्ने काम गर्छ ।’

यसैगरी, यो अभियान आज देशैभर गर्ने भनिए पनि कतिपय जिल्लामा अधिवेशन नसकिएको र कतिपय जिललामा मतदान जारी रहेको हुँदा यो अभियान सबै जिल्लामा सुरु नभएको कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले बताए ।

‘टोल समिति गठन गर्ने हरेक टोल र घरमा नेपाली कांग्रेसको झन्डा लिएर पुग्ने नेपाली कांग्रेसका लागि भोट माग्ने, ती घरमा रहेका व्यक्तिहरुलाई नेपाली कांग्रेससँग के अपेक्षा रहेको छ त्यो अपेक्षा सोध्ने, नेपाली कांग्रेसलाई कसरी राम्रो बनाउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार घर घरमा कांग्रेसको अभियान पुर्याउने हो । यो अभियानमै जिल्ला कमिटी नभएका स्थानमा बैठक गराउँने, प्रत्येक वडामा केन्द्रीय प्रतिनिधि खटाए जसरी वडा प्रतिनिधि खटाइनेछ ।

ती जिल्लाहरुमा प्रत्येक वडामा गएर संगठनको अवस्थाकाबारेमा जानकारी लिने काम हुने उनले जानकारी दिए ।

उनका अनुसार प्रत्येकका घर घरमा गएर कांग्रेसको सदस्य बन्न कांग्रेसलाई मतदान गर्न आग्रह गरिन्छ ।

एमसीसीकाबारेमा कांग्रेसले हाते पुस्तिका बनाएको छ । त्यो पुस्तिका जिल्ला जानुभन्दाअघि सबै केन्द्रीय सदस्यलाई तालिम समेत दिएको थियो ।

यो अभियानको मुख्य उद्देश्य जनस्तरमा कांग्रेसको अभियानलाई पुर्याउने कांग्रेसको विचारलाई पुर्याउने हो,’ उनले भने, ‘यो अभियानका लागि केन्द्रीय सदस्यहरुलाई समय त तोकिएको छैन । तर प्रत्येक पालिकामा पुग्नुपर्ने पार्टीको निर्देशन दिएको छ ।’

उनका अनुसार यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउने छ भने संविधानको रक्षाका लागि कांग्रेसले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउने छ ।

आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने काम अभियानले गर्ने कांग्रेसले जनाएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया