शनिबार, वैशाख १५, २०८१

पाल्पा कांग्रेसमा संस्थापनइतरको हिमालको समूह नै विजयी

मेरोन्यूज २०७८ मंसिर ११ गते १२:४१

काठमाडौँ । नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापतिमा हिमाल दत्त श्रेष्ठले जितेका छन् । उनी संस्थापनइतर समूहकाबाट सभापति उठेका थिए । पार्टी मातहतका जिल्लाभित्रका सबै अधिवेशनमा देउवा पक्षका निकै थोरै मात्रै उम्मेदवारहरू विजयी भएकाले जिल्ला समितिमा उनीहरुका उम्मेदवार सबै पराजित भएका हुन । देउवा पक्षले कृष्णप्रसाद बस्यालको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उतारेको थियो ।

बस्याललाई श्रेष्ठले दोब्बरभन्दा बढी मतान्तरले जितेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् । जिल्ला कार्य समितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि कांग्रेसको संस्थापनइतर समूहका भएकाले जिल्ला कार्य समितिमा पनि उनीहरुकै पक्षका सबै उम्मेदवारले जितेका हुन् ।

वर्तमान जिल्ला सभापति वीरबहादुर रानाको नेतृत्वको टोलीले संस्थापनइतरको शसक्त समूह बनाएपछि उनीहरुका सबै उम्मेदवारले जितेको कांग्रेस महासमिति सदस्य तथा रामपुरका मेयर रमण थापाले जानकारी दिए ।

श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव तथा पत्रकार महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरे र क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति ज्ञान बहादुर गाहा उपसभापतिमा निर्वाचित भए ।

त्यसैगरी जिल्ला सचिवमा क्षेत्र नं. १ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्व जिल्ला अध्यक्ष तथा कांग्रेसकी महासमिति सदस्य सुनिता अधिकारीले जितेका छन् ।

त्यसैगरी सहसचिवमा मगर विद्यार्थी नेता विष्णु थापा र हामिद मियाँ निर्वाचित भएका छन् । कांग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई–दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्षपछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया