आइतबार, वैशाख ३०, २०८१

यसरी हुँदैछ एमाले महाधिवेशनस्थलको तयारी

१२० फिट लम्बाइ र ६० फिट चौडाईको मञ्च व्यवस्थापन गरिँदै, करिब ५ सयजना अट्ने

हरि भट्ट २०७८ मंसिर ७ गते २१:४१

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको तयारी तिव्र गतिमा भइरहेको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । खुल्ला सत्र चितवनको नारायणी नदी किनारमा र बन्द सत्र सौराहमा हुँदैछ ।

Advertisement

खुल्ला र बन्द सत्रका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । एमालेको महाधिवेशन मूल तयारी समितिले दिएको जानकारी अनुसार, महाधिवेशन तयारीका करिव काम सम्पन्न हुँदै गएका छन् । वाँकी केही काम पनि ९ गते साँझ सम्म सकिने एमालेले जनाएको छ ।
यस्तै मञ्च व्यवस्थापनको काम पनि ५० प्रतिशत सकिएको मञ्च व्यवस्थापनको जिम्मेवारी लिएका नेता विनोद श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार मञ्च ब्यवस्थापनको बाँकी ५० प्रतिशतको काम पनि केहीदिनमा नै सकिने छ । मञ्च व्यवस्थापनमा ५० लाख खर्च हुने उनले बताए । उनले भने, –‘हामीले खर्च कम गर्न खोजि रहेका छौं । कमखर्च गर्न खोज्दापनि बन्द र खुल्ला सत्रको मञ्च व्यवस्थापनमा लगभग ५० लाख जति खर्च हुन्छ ।’

करिब ५ सयजना अट्ने मञ्च बनाएको उनले जानकारी गराए । नेपालमा कम्युनिष्ट पार्टी गठन भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा अन्तराष्टिय गीत गाउन ७२ जना कलाकारलाई मञ्चको एउटा साइडमा राखेर प्रस्तुती दिन मिल्ने गरी मञ्च ब्यवस्थापन गरिएको छ । मञ्चको लम्बाइ १२० फिट र चौडाइ ६० फिट हुने निर्माण हुने गरी निर्माण गरिरहेको श्रेष्ठले जानकारी दिए ।

मुख्य स्टेजको अघिल्लो भागमा सबै पत्रकार अट्ने अर्को टावर पनि एमालेले बनाईरहेको छ । दुई तहको त्यो टावरको लम्बाइ ८० फिट र चौडाइ ४० फिटको हुनेछ। पत्रकारहरुलाई सहज ढंगबाट रिपोर्टिङ गर्न पत्रकारमैत्री मञ्च बनाउने गरी त्यसरी ब्यवस्थापनको तयारी गरिएको श्रेष्ठको भनाई छ ।

मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ । उनले मञ्च व्यवस्थापनमा नेपाली कालिगढहरु नै परिचालन गरिएको जिकिर पनि गरे ।


१५ सय बढी सुरक्षाकर्मी परिचालन हुने


एमाले महाविधेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने सरी सुरक्षा ब्यवस्था सरकारले मिलाउन लागेको छ । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८ सय, सशस्त्र प्रहरीको ४ सय ५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा ब्यवस्था मिलाउन लागिएको छ ।

महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुनेछ । महाधिवेशनमा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको जिल्ल प्रशासन कार्यालय चितवनले बनाएको छ ।

चितवन जिल्लामा भएका भन्दा थप ६ सय ५० जना नेपाल प्रहरीका सुरक्षाकर्मी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको चितवनका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने छ ।

१७ नम्बर गण आँपटारी र मातहतमा रहेका जनशक्तिको अवला बाहिनी मार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुने स्थलको बाहिरी सुरक्षा हेर्ने छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया