आइतबार, वैशाख ३०, २०८१

एमाले महाधिवेशन

एमालेमा कति छ भीम रावलको शक्ति ?

चुनाव जितिन्न भन्ने रावललाई थाहा छ, तर पनि उनले ओलीसँग भिड्ने घोषणा गरेर एमालेमा ओलीकाे शेखी झारेका छन्

हरि भट्ट २०७८ मंसिर ५ गते १८:४२

काठमाडौँ । पार्टीभित्रकै प्रतिपक्षी नेताका छवि बनाएका भीम रावलले अध्यक्ष केपी ओलीका विरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Advertisement

रावलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिरहँदा उनले पार्टी मुख्यालय प्रयोग गर्न समेत पाएनन । आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको र कार्यलय प्रयोग गर्न लागेको शुरुमा उनले महासचिव इश्वर पोखरेललाई जानकारी गराएका थिए ।

तर महासचिव पोखरेलले उनलाई केन्द्रीय कार्यालय पूरै महाधिवेशन तयारीका काममा ब्यस्त रहेको र कार्यकक्षहरु पनि खाली नरहेको जानकारी गराए । त्यसपछि उनले उम्मेदवारी घोषणाका लागि स्थान रोजे – रिपोटर्स क्लवको भृकुटीमण्डपस्थित कार्यालय । त्यसपछि उनले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो अध्यक्षको उम्मेदवारी घोषणा गरे ।

एमालेभित्र ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने गरी गृहकार्य भईरहेका बेला रावलले ओली विरुद्ध उम्मेदवारीको घोषणा गरेका हुन् ।
२३ कार्तिकमा गृहजिल्ला अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै रावलले आफू अध्यक्षमा उठ्ने उद्घोष गरिसकेका थिए ।


ओलीले फेरि एमाले अध्यक्षमा नदोहोरिने घोषणाको सम्मान गर्नका लागि आफू अगाडि बढेको उम्मेदवारी घोषणामा रावलले बताएका छन् । ‘ओली स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिन उपयुक्त सम्झेको छु’ – रावलले घोषणा सभामा भने ।


उनको अध्यक्षको घोषणाले ओलीलाई तात्विक फरक त पदैन । तर पनि सर्वसम्मत पदाधिकारी चयन गर्ने र आफु अध्यक्षमा सर्वसम्मत हुने गरी एमालेमा ओलीको विकल्प अहिले छैन भन्ने सन्देश दिने ओलीको चाहनामा भने ठेस लागेको छ ।

रावलको शक्ति कति ?


एमाले महाधिवेशन शुरु हुन अव ५ दिनमात्रै वाँकी रहँदा रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

महाधिवेशनमार्फत ओलीलाई पुनः अध्यक्ष बनाउने, उनकै नेतृत्वमा पार्टीको शक्ति विस्तार गर्ने र आगामी निर्वाचनमार्फत ओलीलाई नै सत्ताको नेतृत्वमा लैजाने ओली पक्षका नेताहरुको दाउमा रावलको उम्मेदवारी घोषणाले ओली एमालेभित्र निर्विकल्प नेताका रुपमा नरहेको सन्देश दिएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुले अलग पार्टी बनाएको, बामदेव गौतमहरुले पार्टी छोडेको घोषणा गरेकाबेला अब ओलीले चाहँदासम्म एमालेभित्र कुनै नेता ओली विरुद्ध उभिन नसक्ने दावी ओलीका नेताहरुले बताउँदै आएका थिए ।


एमालेभित्र ओलीलाई शक्तिशाली बनाउने र निर्विकल्प नेताका रुपमा चित्रित गर्ने एमाले ओली टिमको प्रयासमा रावलको उम्मेदवारी घोषणाले धब्बा लागेको छ । ओली विरुद्ध उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्र मात्र नभई वाहिर पनि रावलको एमालेभित्र कत्ति शक्ति होला ? लेखाजोखा शुरु भएको छ ।

एमालेको आठौं महाधिवेशनमा उपाध्यक्षमा पराजित रावल ९ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी बनेका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको प्यानलबाट उपाध्यक्षमा निर्वाचन जितेका रावल नेपालले पार्टी विभाजन गरेर गएपछि पनि एमालेमै रहेका थिए । १० बुँदे सहमति गरेर पार्टीभित्रै रहेका उनले त्यसको हुवहु कार्यान्वयनमा नेतृत्वले इमान्दारिता नदेखाएको बताउँदै आएका छन् ।

सुदुरपश्चिममा एक समय भीम रावल वलिया थिए । पार्टीले माओवादीका मुख्यमन्त्री त्रिलोचन भटटको विपक्षमा मतदान गर्ने निर्णय गर्दा सम्म सुदुरपश्चिमका प्रदेश सांसदहरुले भटटकै पक्षमा मतदान गरेका थिए । त्यसवेला सम्म रावल सुदुरपश्चिममा बलिया थिए । ओलीलाई पनि रावल शक्तिशाली रहेको भान परेको थियो । तर जव माधव नेपालले पार्टी फुटाए । त्यसपछि भने रावलको साथमा एमालेका प्रदेश सांसदहरु रहेनन । माधव नेपालतिर लागे । उनी प्रदेशमै कमजोर बने ।


सुदुरपश्चिम प्रदेशसभामा तत्कालीन नेपाल पक्षमा १७ सांसद थिए । उनीहरु सबैले रावललाई नेता मानेका थिए । तर, पार्टी विभाजनमा तीमध्ये १३ जनाले नेपाललाई साथ दिए । ३ प्रदेश सांसद मात्रै रावलको पक्षमा रहे । आफ्नै गृहजिल्लामा पनि रावल निकै कमजोर बने । प्रदेशसभामा अछामका ४ एमाले सांसदमध्ये ३ जना मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारीले रावलसँगको सम्वन्ध तोडे ।

त्यक्तिमात्रै होइन, रावलको सबैभन्दा निकट रहेर लामो समय काम गरेका उनको गृह जिल्ला अछामका जिल्ला अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि उनीसँगको सम्वन्ध तोडे । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजे ।

त्यसपछि भने ओलीले पनि सुदुरपश्चिममा रावलको पकड गुमेको देखेर रावलको सटटा लेखराज भटटलाई नै निरन्तर अगाडी सारिरहे ।
यसले रावलको शक्ति एमालेमा कमजोर बनेको एमाले नेताहरु नै बताउँछन् । १० वुँदे सम्झौता गरेर एमालेमै रहेका आफ्नै समुहका १० नेताहरुमध्ये पनि घनश्याम भुसाल वाहेक उनीसँग अहिले अन्य नेताहरु नजिक छैनन ।

१० भाईमै प्रष्ट तीन धार देखिएको छ । रावल र भुसालको मत मिलेपनि योगेश भटटराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य लगायतका नेताहरु अहिले ओलीसँगै मिलेर जानुपर्ने पक्षमा खुलिसकेका छन् । अन्तर्वार्ताहरुमै उनीहरुले ओलीको अहिले एमालेमा विकल्प नरहेको भन्दै सर्वसम्मत ओली अध्यक्ष बन्ने बताईरहेका छन् ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताहरु मौन छन् । उनीहरु रावल र भुसालको ओलीसँग भिडन् अहिलेको तरिकासँग सहमत छैनन । यसवाट पनि उनले १० भाईकै साथ र सहयोग पाउने सम्भावना अति कमजोर छ ।

महाधिवेशनमा एमलेले १९९९ प्रतिनिधी सहभागी गराउने बताएको छ । महाधिवेशन प्रतिनिधी छनौटमा एकछत्र ओलीमय देखिएको छ । महाधिवेशन चयनमा पूर्व माओवादी धारवाट वढीमा दुई सय र १० वुँदे पक्षधरवाट वढीमा ३ सय मात्रै प्रतिनिधी महाधिवेशनमा चयन भएका छन् । वाँकी प्रतिनिधी सवै ओलीका छन् ।


१० वुँदे पक्षधरबाट छानिएका झण्डै ३ सय प्रतिनिधीमा पनि रावलको पक्षमा कति खुल्छन् ? अहिले भन्न सकिने अवस्था छैन । तर त्यसमा उनको पक्षमा आधा पनि अर्थात ढेडसय पनि नहुने एमाले स्रोतले बताएको छ । महाधिवेशन प्रतिनिधी सर्वसम्मतका नाममा एकलौटी गरिएको आरोप पनि रावलको छ । कैलालीमा उनले समानान्तर रुपमा महाधिवेशन प्रतिनिधी छानेका छन् । तर त्यसरी छानिएकालाई केन्द्रीय कार्यालयले वैधता दिने नदिने ठेगान छैन । जसले गर्दा पनि रावल ओलीका अगाडी निक्कै फिक्का हुने देखिएका छन् ।

रावल निकट मानिने जिल्ला समन्वय समितिका संयोजक सूर्य थापालाई प्रतिनिधि नबनाएपछि रावल निकटले समानान्तर प्रतिनिधि समेत बनाएको थियो । यसले पनि देखाउँछ रावल एमालेमा निक्कै कमजोर देखिएका छन् । तर पनि उनले जति भोट ल्याएपनि उनको उम्मेदवारी एमालेभित्र अर्थपूर्ण भने हुनेछ ।

सन्देशपूर्ण उम्मेदवारी

रावल आफैलाई लागेको छ, उनले महाधिवेशनबाट ओलीलाई जित्न सक्दैनन । ओलीका अगाडी महाधिवेशन प्रतिनिधीको संख्याका आधारमा फुच्चे मात्र हुन्छन् । उनीसँग विगतमा झै शक्तिको स्रोतका रुपमा न माधव नेपाल छन्, न सुदूरपश्चिम । तै पनि उनले अध्यक्षमा ओलीसँग भिड्ने गरी उम्मेदवारी घोषणा गर्नु आफैमा अर्थपूर्ण हुनेछ ।

उनको उग्र क्रान्तिकारी पन र लगत्तै नेतृत्वसँग सम्झौता गर्ने आत्मसमर्पणवादी चरित्रका कारण पनि उनको साख गिर्दाे छ । अहिले उनले घोषणा गरेको अध्यक्षको उम्मेदवारी पनि आफु उपाध्यक्ष या वरिष्ठ उपाध्यक्षमा सुरक्षित हुने अवतरणका लागि मात्र भएको बताउने हरु पनि एमालेभित्रै छन् ।

तर रावलले आफुलाई भरोसा गर्न र पार्टी जिम्मा दिन ओलीसँग पनि आग्रह गरेका छन् । रावल साच्चै अध्यक्षमा ओलीसँग भिड्ने लाइनमा टिकिरहे भने ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने एमालेको योजनामा व्रेक लाग्ने छ ।

एमालेमा ओलीलाई चुनौति कुनै नेताले दिन सक्दैनन भन्नेमा भने रावलले चुनौति दिएका छन् ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया