शनिबार, वैशाख २९, २०८१

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले मुख्यालय पुग्दा…

हरि भट्ट २०७८ मंसिर ३ गते २१:०८

Advertisement

काठमाडौं । एमाले मुख्यालय धुम्बराहीवाट थापाथली सरेको धेरै भएको छैन । पार्टी केन्द्रीय कार्यालयमा एमालेले अहिलेसम्म पार्टीको बैठक राखेको छैन ।

जति जे वैठक गर्नुपरयो भनेपनि पहिले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सरकारी निवास वालुवाटारमै हुन्थे । तर प्रधानमन्त्रीबाट ओली हटेपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा हुन थालेको छ ।

फेरि पनि पार्टी मुख्यालय च्यासलतिरै सार्ने तयारीमा भित्री छलफल पनि एमालेभित्र भइरहेको छ । जसकाकारण एमाले मुख्यालयमा अघिपछि काम विशेषले पुग्नै पर्ने नेता कार्यकर्ता बाहेक अन्यको चहलपहल त्यहाँ हुने गरेको थिएन । तर केही दिनयता भने थापाथलीस्थित कार्यालयको रौनक बदलिएको छ ।

पार्टीको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले पार्टीको मुख्यालयको गतिविधि नियाल्न मेरोन्यूजको टिम थापाथलीस्थित पार्टी कार्यालयमा शुक्रवार दिउँसो पुग्दा नेता कार्याकर्ताको निकै देखिन्थ्यो ।

पार्टी कार्यालय परिसरमा गाडी पाकिङ, पार्टीका नेता कार्यकर्ताहरुको आवतजावत अघि पछिका भन्दा वाक्लो देखिन्थ्यो । केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने, –‘केही दिन यता पार्टी कार्यालयमा नेता कार्यकर्ताको आवतजावत बाक्लो छ । रौनक फेरिएको छ । महाधिवेशनको माहोल लागेको छ ।’

पार्टीको १० औं महाधिवेशनको तयारी र महाधिवेशनमा मैदानमा उत्रिन चाहने नेताहरु पनि वाक्लै मात्रामा कार्यालयमा भेटिन्थे । तर उनीहरु मध्ये केन्द्रीय सदस्यका आकांक्षी नेताहरु आफू केन्द्रीय सदस्यमा उठ्ने खुलेरै बताउँथे । तर पदाधिकारीका आकांक्षीहरु कुन पदमा उठ्ने ? प्रश्न राख्दा हाँसेरै टारिदिन्थे । अनि भन्थे, ‘हेरौं पार्टी अध्यक्षले कस्तो प्रस्ताव ल्याउनुहुन्छ । पहिला अध्यक्षको प्रस्ताव हेरौं । यो पटक सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने अवस्थामा एमाले छ ।’

एमालेको नयाँ नेतृत्वका लागि यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं महाधिवेशन हुँदैछ । यसअघि एमालेले गत असोजमा विधान महाधिवेशन गरेर १० औं महाधिवेशनका लागि नीति पारित गरेको थियो । त्यही नीति अनुसार एमालेले १० औं महाधिवशेन गर्दैछ ।

नेकपा एमालेको १० औं महाधिवेशन आउन एक साता बाँकी छ । अर्को शुक्रबार महाधिवशेनको उद्घाटन चितवनको नारायणी नदीको किनारामा हुँदैछ । त्यसपछि बन्दसत्र सौराहमा हुनेछ ।

यस्तै, महाधिवेशनको तयारीका लागि शीर्ष नेताहरु पनि पार्टी कार्यालय आउने गरेका छन् । शीर्ष नेताका कार्यकक्ष सधैं खाली हुने भए पनि महाधिवेशनको समयमा भरिभराउ हुने गरेको कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

शीर्ष नेतालाई भेटेर पदको कुरा गर्ने नेताहरु पनि पार्टी कार्यालयमा आउने गरेका छन् । पार्टीको १० औं महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यदेखि पार्टीका महासचिव ईश्वर पोखरेलसम्म बढी मात्रामा कार्यालय आउनेमा पर्छन् ।

शुक्रवार हामी एमाले मुख्यालय पुग्दा महासचिव ईश्वर पोखरेलदेखि सचिव प्रदीप ज्ञवालीसम्म थापाथली पार्टी कार्यालयमै ब्यस्त थिए ।

महाधिवेशनको तयारी तथा कार्यकर्तासँग छलफलमा जुटेका थिए महासचिव पोखरेल । उनले महाधिवेशनको तयारी भइरहेको बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको काम लगभग सकिएको उनले जानकारी गराए ।

महाधिवेशनको अन्य तयारी मुल व्यवस्थापन समितिको मातहतमा रहेका समितिले गरिरहेको उनले बताए ।
यस्तै, महासचिव पोखरेलले माओवादी केन्द्र छोडेर एमालेमा आएका र दशबुँदे सहमति गररे एमालेमा रहेका नेताहरुको महाधिवेशनमा व्यवस्थापन गरिने बताए ।

उनले भने– ‘माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन हुन्छ । उहाँहरु प्रतिनिधिमा पनि निर्वाचित भएर आउनु भएको छ । उहाँहरुको प्रतिनिधित्व हुन्छ, छुट्नु हुन्न । दश बुँदेको आधारभुत कार्यान्वयन भएको छ । दशबुँदे पक्ष विपक्ष भनिरहनु पर्दैन । प्रतिनिधि बनेर आउनु भएकै छ । सबै साथीहरु समेटिनु हुन्छ ।’

यस्तै, महासचिव पोखरेलले आफ्नो उम्मेद्धावारीका विषयमा पार्टीमा सल्लाह हुने बताए । उनको दावी बरिष्ठ उपाध्यक्षमा स्वभाविक देखिन्थ्यो । आफू दुई पटक महासचिव भइसकेको भन्दै उनले अब के हुने भन्नेमा पार्टीमा सल्लाह हुने बताए । बरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारीमा पनि सल्लाह गरिने बताए ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पनि माओवादी छोडेका र दशबुँदे सहमति गरेर पार्टीमै रहेका नेताहरुको महाधिवेशनबाट व्यवस्थापन हुने बताए । उनले माओवादीबाट आएका नेताहरुको योग्यता र क्षताका आधारमा जिम्मेवारी दिइने बताए ।

योग्य र क्षमता भएका नेतालाई पदाधिकारी र अन्यलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा जिम्मेवारी दिइने उनले बताए । उनले दशबुँदे सहमति गरेर एमालेमा रहेका नेताहरुको पनि पदाधिकारी, स्थायी र केन्द्रीय कमिटीमा ब्यवस्थापन हुने बताए ।

उनले भने, ‘माओवादी र दशबुँदे सहमति गरेर आएका नेताहरुलाई उचित जिम्मेवारी दिइने छ ।’ एमालेमा तीनधार छन् –संस्थापन, माओवादीबाट आएको धार र दशबुँदे सहमति गरेर एमालेमा रहेको धार ।

यी तीन धारलाई मिलाउनु पर्ने बाध्यतामा यसपटक एमाले नेतृत्व् छ । जातीय, भौगोलीक र लैंगिक समानतालाई पदाधिकारीमा समेट्नु पर्नेछ ।

सचिव ज्ञवालीले भीम रावलले अध्यक्षमा दाबी गरे पनि नउठ्ने बताए । सबै नेपालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहेको भन्दै उनले उपाध्यक्ष रावलले पार्टी अध्यक्षमा उम्मेदवारी नदिने बताए ।

विधान महाधिवेशनले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गरेकाले पदाधिकारीमा महिलालाई समेटिने उनले बताए । पार्टीको विधानको धारा १६ र ६३ ले महिला सहभागिताको सुनिश्चितता गरेको उनले बताए । धारा १६ ले एकतिहाइ सुनिश्चित गरेको र ६३ ले माथिदेखि तल्लो तह सम्म एकतिहाइ सुनिश्चित गरेको उनले बताए ।

एमाले महाधिवेशनमा पाँच लाख कार्यकर्ता सहभागि हुनेछन् । उनीहरुलाई परिचालनको जिम्मेवारी तल्ला तहका कमिटीले लिएका छन् । प्रत्येक पार्टी सदस्यबाट एक सयका दरले सहयोग मागिएको छ । ज्ञवालीको अनुसार एमालेका ८ लाख ५५ हजार ४४ सय ५३ जना छन् । ती बाट एक सयका दरले पैसा उठाउँदा एमालेको ८ करोड ५५ लाखभन्दा बढी पैसा उठ्छ । उठेको पैसाबाट कार्यकर्ता परिचालन गरिने उनले बताए । महाधिवेशनमा एक हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुन्छन् ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया