बुधबार, वैशाख २६, २०८१

मधुमेही समाजलाई १० लाख सहयोग

मेरोन्यूज २०७८ मंसिर २ गते २१:५६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मधुमेह रोग पहिचान, रोकथाम र नियन्त्रणका लागि नेपाल मधुमेही समाजलाई १० लाख सहयोग गर्ने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भमा आज आयोजित कार्यक्रममा कामपा स्वास्थ्य विभाग र मधुमेही समाजबीच सम्झौता भएको हो ।

Advertisement

सम्झौताबमोजिम ज्येष्ठ नागरिकको परीक्षण निःशुल्क हुनेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण निःशुल्क हुनेछ । यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । यसरी हुने उपचारमा नाम दर्ता, परामर्श, इसिजी, इको, भिडियो एक्स–रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण निःशुल्क हुनेछन् । यसका लागि कामपाले समाजलाई आउँदो असार मसान्तसम्मका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउनेछ ।

सोही अवसरमा कामपा प्रमुख विद्यासुन्दर शाक्यले अहिले सबै घरघरमा मधुमेहका बिरामी हुनसक्ने भन्दै यसबाट हुनसक्ने जोखिम कम गर्नका लागि सबै सजग हुनुपर्ने बताए । राजधानी बाहिरका नागरिकले उपचारका लागि काठमाडौँ आउनु नपर्ने र देशका कसैले पनि विशेषज्ञ स्वास्थ्य सेवाका लागि विदेश जानु नपर्ने अवस्था ल्याउन कामपाले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको उनको भनाइ थियो ।

यसअघि पनि कामपाले निःशुल्क डायलायसिस सेवाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ । निकट भविष्यमा नै नेपाल प्रहरीसँग सहकार्य गरिने बताइएको छ । अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ । दोस्रो चरणको कोरोना महामारीका समयमा १२ वटा अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गरिएको प्रमुख शाक्यले जानकारी दिए । विश्वका हरेक १० मध्ये एक जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्यांकले देखाउँछ । हरेक वर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रूपमा मनाइन्छ ।

प्रतिक्रिया