बुधबार, वैशाख २६, २०८१

१८ वर्षमुनीका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्ध खोप दिने

कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज

सञ्जिता खनाल २०७८ कार्तिक २६ गते १७:४५

काठमाडौँ । सरकारले १२ देखि १८ वर्षका उमेर समूहका दीर्घ बिरामी बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फाइजर खोप दिने भएको छ । यो खोप कात्तिक २८ देखि मंसिर ४ गतेसम्मका दीर्घ विरामीलाई खोप दिइने भएको हो ।

Advertisement

कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार उक्त खोप दुई चरणमा दिने भएको हो ।

‘फाइजर खोप दुई मात्रा लगाइन्छ, यो खोप भायलमा उपलब्ध हुन्छ, जमेको अवस्थामा बाक्लो झोलका रुपमा हुन्छ, यो सामान्य अवस्थामा सेतो वा हक्ला धमिलो सेतो रंगको हुन्छ, यो खोपको भायलमा ६ मात्रा (प्रति मात्रा ०.३ मि.लि. उपलब्ध हुन्छ,’ उनले भने, ‘पहिलो मात्रा दिइएको २१ देखि २८ दिनमा दोस्रोमा दिइने छ ।’

उनका अनुसार काठमाडौँ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण गरी आठ वटा खोप केन्द्रमा कार्यक्रम सञ्चालन हुने छ ।

यसैगरी, कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको र १२ वर्षभन्दा कम उमेर व्यक्तिलाई फाइजर खोप नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार यो खोप मिर्गौलाको डाइलासिस गरेका, मुटुका रोग, क्यान्सर, रोग प्रतिरोधात्मक क्षमता कम भएका लगायत गरेर आठ प्रकारका दीर्घ रोगी बिरामीलाई दिन लागिएको छ । यस्ता दीर्घ रोगका बिरामीलाई चिकित्सकको परार्मशअनुसार मात्र खोप दिइने समेत पौडेले जानकारी दिए ।

यो खोप विश्वका एक सय ३२ देशमा प्रयोग भइरहेको छ । निकै सुरक्षित र प्रभावकारी देखिएको यो खोप लगाउने कार्यक्रम नेपालमा पनि हुने भएको हो । नेपाल औषधि व्यवस्था विभागले भदौं २३ गते खोप क्लिनिकल ट्रायल गर्न अनुमति दिएको थियो । यो खोप एक भायल ६ जनालाई दिइने प्रवक्ता पौडेलले जानकारी दिए । यो खोप माइनस ६० देखि ८० डिग्रीमा राखिन्छ ।

सरकारले यही खोप राख्नका लागि चार वटा सय लिटरको फ्रिजर खरिद गरेको छ । यो खोप घोलेको ६ घण्टासम्ममा प्रयोग गरिसक्नु पर्ने शाखाले जनाएको छ । नेपालमा हालसम्म कोभिशिल्ड, भेरो सेल–साइनोफार्म, एस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सन खोप प्रयोग भइरहेकोमा थप फाइजर खोप थपिने भएको छ । सरकारले यो खोप गत कार्तिक १७ गते एक लाख ६२० भायल फाइजर बायोटेक जर्मनले उपलब्ध गराएको थियो ।

यी २४ अस्पताललाई तोकियो खोप केन्द्र

स्वास्थ्य सेवा विभागको, परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख दाहालले उपत्यकाका ८ सरकारी अस्पताल रहेका जानकारी दिए । उनका अनुसार वीर, पाटन वीरेन्द्र सैनिक, सिभिल, भक्तपुर क्यान्सर, त्रिवि शिक्षण, शहीद गंगालाल, मानव अंग प्रत्यारोपण केन्द्र रहेका छन् ।

त्यसैगरी, प्रदेश १ मा मेची अस्पताल, वीपी कोइराला, कोशी अस्पताल रहेका छन् । भने प्रदेश २ मा गजेन्द्र नारायण, नारायणी र जनकपुर अस्पतल, बागमती अञ्चलमा बीपी कोइराला स्मृति क्यान्सर र धुलिखेल अस्पताल रहेका शाखाले जनाएको छ ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल रहेका छन् । लुम्बिनी प्रदेशमा लुम्बनी प्रादेशिक, राप्ती स्वास्थ्य विज्ञान र भेरी अस्पताल रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल र डडेल्धुरा अस्पताल र कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल रहेको शाखाले जनाएको छ ।

यी विरामीले लगाउनु हुँदैन फाइजर–बायोएनेट खोप

कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको १२ वर्षभन्दा कम उमेर व्यक्ति,

मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन । तर, यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउने,

यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै ः एनाफाइलेक्सिस्स) भएकाले खोप लगाउनु हुँदैन)

कोभिड–१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन, तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ,

कुनै प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ,

खोप लिएपछि यस्ता लक्षण देखिन सक्छ

सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने,

टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने,

मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने,

खान मन नलाग्ने र वाकवाकी लाग्ने,

थकाई लाग्ने,

सुई लगाएको हातको काखीको गन्थ्री सुनिने र दुख्ने,

पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोस हुने जस्ता लक्षण देखिन सक्छन्,

शाखा प्रमुख दाहालका अनुसार गम्भीर हुने एनाफाइलेक्सिसको सम्भावना कतिपयलाई देखिन सक्छ । यस्ता समस्या सामान्यतया खोप लगाएको ५ मिनेटदेखि आघा घण्टाभित्र हुन सक्छ । उनले खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा रहन आग्रह गरे ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया