बुधबार, वैशाख २६, २०८१

काठमाडौंमा देखियो ३२ जनालाई डेँगु संक्रमण

मेरोन्यूज २०७८ कार्तिक २५ गते २१:४७

काठमाडौं । तराईमा देखिने डेँगु काठमाडौंमा पनि तीब्र रुपमा फैलिएको पाइएको छ । काठमाडौंमा हालसम्म ३२ जनालाई डेंगु संक्रमण देखिएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयकी भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यले काठमाडौंमा डेँगुका बिरामी भेटिन थालेपछि बिरामीको तथ्याङ्क संकलन सुरु गरिएको बताइन् । उनका अनुसार काठमाडौंको सबैभन्दा बढी घट्टेकुलो क्षेत्रमा डेँगुका बिरामी भेटिएका छन् ।

‘हामी कहाँ काठमाडौंमा डेँगु संक्रमण देखियो भन्ने खबर आउने वित्तिकै बिरामीको तथ्याकं संकलन सुरु गरेको हो,’ उनले भनिन्, ‘घट्टेकुलोमा मात्र हालसम्म ६ जना डेँगुका बिरामी भेटिएका छन् ।’

त्यसैगरी, घट्टेकुलो बाहेकका अनामनगरमा १, बानेश्वरमा १, बागबजारमा २, डिल्लीबजारमा १, जैसीदेवल, कमलपोखरी, कान्तिपथ, कोटेश्वर, पुतलीसडक, सामाखुशी र शान्तिनगरमा १÷१, मैतीदेवीमा २ जना डेंगुका बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

११ जना बिरामीले काठमाडौं मात्र लेखेको हुदाँ उनीहरु कुन ठाउँमा बसोबास गर्ने भन्ने नाम नखुलेको पनि रहेको कार्यालयकी भेक्टर कन्ट्रोल निरिक्षक आचार्यले जानकारी दिईन् ।

बिहिबार घट्टेकुलोमा बढी बिरामी भेटिएका हुँदा त्यहाँ जनप्रतिनिधिसँग छलफल भएको आचार्यले बताइन् । उनका अनुसार अस्पतालमा उपचार गर्नका विभिन्न अस्पतालको तथ्याकबाट ३२ जना भेटिएका हुन् ।

त्यसैगरी, दशैं तिहारको समयमा मैतिदेवी र घट्टेकुलोमा डेँगुका बिरामी घरैपिच्छे रहेको खबर आएका थिए ।

उनका अनुसार पहिला कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि डेँगु परीक्षण गर्दा पोजेटिभ आएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिला जसरी अन्य रोगका बिरामी कम पुग्ने गरेका छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले काठमाडौंमा डेँगु संक्रमणका बिरामी आउँने गरेका बताए । उनले सबैभन्दा बढी डेँगुका बिरामी दशै र तिहार बीचमा आएका बताए ।

के हो डेँगु कसरी बच्ने ?

डा. पुनका उनका अनुसार एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ ।

ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, शरिरमा बिबिरा देखिनु आदि यसका लक्ष्णहरु रहेका पुनले बताए ।

डेंगु भएका बिरामीमा रगत जाँच गर्दा प्लेटेलेट्सको संख्या तिव्र गतिमा घट्ने गरेको पाईने गरेको उनले जानकारी दिए ।

उनका अनुसा मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, गाग्री, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने उनको सुझाब छ ।

डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।

Advertisement

प्रतिक्रिया