शुक्रबार, वैशाख १४, २०८१

एमाले महाधिवेशन प्रतिनिधि बन्न यस्ता छन् दायरा

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:०१
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र सहभागी हुन पाउने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको हो । ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउने छन् ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए । अहिले नौ लाख संगठित सदस्य पुगेको उनले जानकारी दिए । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुने छन् ।

एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार दुई सय पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि आठ सयसम्मले थप एक–एक जना प्रतिनिधि निर्वाचित गर्ने छ । जनवर्गीय संगठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुने छन् ।

एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया